विराटनगर । लागू तथा मनोद्धिपक औषधि चिकित्सकको प्रेसक्रिप्सन लिएर मात्र औषधी व्यवसायीहरुले विक्री वितरण गरिनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।
चिकित्सकको प्रेसक्रिप्सन विना लागू तथा मनोद्धिपक औषधि बिक्री वितरण गर्दा यसको दुरूपयोग बढेको कारणले सरोकारवालाहरूले बताएका हुन् ।नेपाल औषधी व्यवसायी संघ मोरङले रंगेलीमा सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै नेपाल औषधी व्यवस्था विभाग विराटनगरका फार्मेशी अधिकृत अनिल परियारले औषधीको समूचित प्रयोग बढाउने र अनुचित प्रयोग घटाएर लैजान सबैको साथ सहयोग आवश्यक रहेको बताए । ‘डिडिए एक्लैले पनि केही गर्न सक्दैन । औषधीको दुरूपयोग रोक्न सबैको साथ सहयोगको खाँचो रहेको छ,’ औषधी व्यवसायीहरुलाई सचेत गराउँदै उनले भने, ‘विरामीले सेवन गर्ने लागू तथा मनोद्धिपक औषधि चिकित्सकको प्रेसक्रिप्सन लिएर त्यो पनि रेकर्ड गरेर मात्र विक्री वितरण गर्न अनुरोध गर्दछु ।
यति आफुखुसी बिक्री वितरण गरेको पाइए औषधी ऐन २०३५ अनुसार कारवाहीको भागिदार हुुनुपर्दछ ।’ पछिल्लो समय लागू तथा मनोद्धिपक औषधि चरम दुरूपयोग बढेको उल्लेख गर्दै उनले औषधी व्यवसायीहरू सचेत हुन जरुरी रहेको उनले बताए । ‘ लागू तथा मनोद्धिपक औषधि अनुचित प्रयोग रोक्न व्यवसायीहरू जिम्मेवार बन्नुपर्दछ,’ उनले भने, ‘त्यसको लागि लागु तथा मनोद्धिपक औषधि चिकित्सकको प्रिक्रिप्सन लिएर मात्र बिक्री वितरण हुनुपर्दछ ।’ यस्तो औषधी कसलाई बिक्री वितरण गरिनुपर्ने त्यसको पनि ख्याल व्यवसायीले गर्नुपर्ने उनले बताए । ‘चिकित्सकको सिफारिस गरे अनुसार लागू तथा मनोद्धिपक औषधिको सेवनले विरामी ठिक हुने गर्दछ,’ उनले भने, ‘तर, यही औषधी गलत तरिकाले अनुचित रुपमा विक्री वितरण गर्दा दुव्र्यसनीले सेवन गर्दछ । त्यसैले व्यवसायी सचेत हुन जरुरी छ ।’
कार्यक्रममा रंगेली नगरपालिकाकी उपप्रमुख भुमा पराजुलीले लागू तथा मनोद्धिपक औषधि सुरक्षित भण्डार गरी विक्री वितरण गरिनुपर्नेमा जोड दिइन् । कार्यक्रममा इलाका प्रहरी कार्यालय रंगेलीका प्रमुख प्रहरी निरीक्षक चन्द्र बहादुर खड्का, इप्रका सिजुवाका प्रमुख प्रहरी निरीक्षक डुण्डी गिरी, नेपाल औषधी व्यवसायी संघ मोरङका अध्यक्ष लक्ष्मी तिम्सिनाले स्वच्छ, मर्यादित रुपमा औषधीको विक्री वितरण गरिनुपर्नेमा जोड दिए ।
लागु तथा मनोद्धिपक औषधि र कर सम्बन्धित एक दिने अभिमुखिकरण तालिममा तीन दर्जन बढी व्यवसायीहरुको उपस्थिति रहेको नेपाल औषधी व्यवसायी संघ मोरङ शाखाका उपाध्यक्ष देशबन्धु ढकालले बताए । व्यवसायीहरुलाई लागु तथा मनोद्धिपक औषधि कसरी विक्री वितरण गर्ने ऐन नियमको बारेमा जानकारी गराउँदै कर सम्बन्धितको पनि जानकारी दिन व्यवसायीहरुलाई अभिमुखीकरण गराएको उनले बताए । यसअघि पनि संघले उर्लाबारी र सलकपुरमा यस्तो कार्यक्रम गरेको उनले बताए । कर सम्बन्धीको जानकारी भने आन्तरिक राजस्व कार्यालय विराटनगरका कर अधिकृत प्रेम प्रसाद मण्डलले अभिमुखीकरण गराएका थिए ।