ऋचा मेमोरियल टी–२० क्रिकेट प्रतियोगिता सुरु, नरपथगञ्ज र एपीएफ विजयी

विराटनगर । प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगितामा भारत विहारको राहुल ११ नरपथगञ्जल र विभागीय टिम एपीएफले विजय सुरुवात गरेको छ ।

सोमबार भएको पहिलो खेलमा विभागीय टिम नेपाल आर्मीलाई ४ विकेटले निराश बनाउँदै नरपगगञ्ज विजयी भएको हो ।

पूर्वाञ्चल क्रिकेट एकेडेमीको आयोजनामा विराटनगर जुट मिलको खेल मैदानमा भएको उद्घाटन खेलमा १२५ रनको विजय लक्ष्य पछ्याएको नरपथगञ्जले १६ दशमलव ४ बलमा ६ विकेट गुमाई पुरो गर्‍यो । नरपथगञ्जका रवि रोयले ३० बलमा ४० रनको योगदान दिए । उनले ३ छक्का र ३ चौका प्रहार गरेका थिए । भानु आनन्दले ३३ रन बनाउँदा अमर चौधरीले २० रनको योगदान दिए ।

आर्मीका जितेन्द्र मुखिया र आकाश चन्दले समान २–२ विकेट लिए । सुशान्त विराजले १ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको आर्मीले १७ दशमलव ४ बलमा अलआउट भई १२४ रनमा समिति भयो । आर्मीका हरि चौहानले ४० बलमा ६३ रनको अर्धशतकीय ईनिङ खेले । उनले ४ छक्का र ६ चौका प्रहार गरे । राजेश पुलामीले २६ बलमा ३४ रनको योगदान गरे ।

नरपथगञ्जका श्रवन वर्माले ४ ओभरमा १९ रन खर्चिएर ४ विकेट लिए । रबडा कुमारले २ विकेट लिए । म्यान अफ द म्याच नरपथगञ्जका श्रवन घोषित भए ।

सोही दिन भएको दोस्रो खेलमा वाइआरसीसी क्रिकेट क्लब विराटनगरलाई ४ विकेटले हराउँदै विभागीय टिम एपीएफ विजयी भएको छ ।
११६ रनको विजय लक्ष्य पछ्याएको एसपीएफले १७ दशमलव ३ बलमा ६ विकेटको क्षतिमा पुरा गर्‍यो । जसमा एपीएफका पुरन विकले २७ रन, अरुणले २६ रनको योगदान दिए ।

बलिङमा वाइआरसीसीका कमल खत्री, हर्षले समान २–२ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको वाइआरसिसीले १८। ५ बलमा अलआउट भई १ सय १५ रनमा समेटियो । वाइआरसिसीका अलराउन्डर खेलाडी हर्षले ३० बलमा ४४ रन बनाए । उनले चार चौका र २ छक्का हाने ।

एपीएफका दुरन विकले ३।५ बलमा २६ रन खर्चेर ४ विकेट लिए । एपीएफका अमरसिंह सौटेलाले ३ विकेट लिए । २२ रन र ३ विकेट लिने अमरसिंह खेलको म्यान अफ द म्याच पनि घोषित भए ।

लिकको आधारमा भएको प्रतियोगितामा मङ्गलवार को पहिलो खेल वाइआरसिसी र आर्मीबिच हुनेछ । सोही दिन हुने दोस्रो खेल एपीएफ र नरपथञ्च बिच हुनेछ ।

चैत २७ देखि वैशाख ३ गतेसम्म संचालन हुने प्रतियोगिता तीन वटा विभागीय टिमसहित ८ वटा टिमको सहभागिता रहेको पूर्वाञ्चल क्रिकेट एकेडेमीका अध्यक्ष नरेश श्रेष्ठले जानकारी दिए ।

प्रतियोगिताका विजेताले १ लाख ५० हजार र उपविजेताले ७५ हजार नगद पुरस्कारसहित ट्रफी पाउनेछन् । त्यसै गरी म्यान अफ द सिरिजले ५० हजार मूल्य बराबरको क्रिकेट किड पाउनेछ ।

नेपाल क्रिकेट संघका वरिष्ठ सल्लाहकार एवं पूर्व उपाध्यक्ष नरेश श्रेष्ठले दिवंगत छोरीको नाममा आयोजना गरिएको प्रतियोगितामा मुलुकका तीन विभागीय टोली त्रिभुवन आर्मी, नेपाल प्रहरी र एपीएफसहित एनबीएससी विराटनगर, राहुल ११, सुदूरपश्चिम क्रिकेट क्लब, भारतको नरपथगन्ज र दिल्ली युनाईटेडको सहभागी छ ।

सोमबार, २७ चैत, २०७९, साँझको ०६:४० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर