ऋचा मेमोरियल क्रिकेट आजदेखि

विराटनगर । प्रथम ऋचा मेमोरियल टी–२० क्रिकेट प्रतियोगिता सोमबारदेखि विराटनगरमा सुरु हुँदैछ । पूर्वाञ्चल क्रिकेट एकेडेमीको आयोजनामा विराटनगर जुट मिलको खेलमैदानमा चैत २७ देखि वैशाख ३ गतेसम्म प्रतियोगिता हुने भएको हो ।
आयोजकका अनुसार उद्घाटन खेल विभागीय टिम नेपाल आर्मी र भारत विहारको नरपथगन्ज क्रिकेट क्लबबीच हुनेछ । प्रतियोगितामा मुलुकका तीन विभागीय टोली त्रिभुवन आर्मी, नेपाल प्रहरी र एपीएफसहित एनबीएससी विराटनगर, राहुल ११, सुदुरपश्चिम क्रिकेट क्लबको सहभागिता रहनेछ । यस्तै भारतको नरपथगन्ज र दिल्ली युनाईटेडको सहभागी हुने पूर्वाञ्चल क्रिकेट एकेडेमीका अध्यक्ष नरेश श्रेष्ठले जानकारी दिए ।

प्रतियोगिताका विजेताले १ लाख ५० हजार र उपविजेताले ७५ हजार नगद पुरस्कारसहित ट्रफी पाउने आयोजकले बताएको छ । त्यसैगरी म्यान अफ द सिरिजले ५० हजार मूल्य बराबरको क्रिकेट किड पाउनेछ । नेपाल क्रिकेट संघका वरिष्ठ सल्लाहकार एवं पूर्वउपाध्यक्ष नरेश श्रेष्ठले दिवंगत छोरीको नाममा नेपाली क्रिकेटका अग्रज श्रेष्ठको परिवार नै क्रिकेटमा समर्पित रहँदै आएको छ ।

नरेश नेपाल क्रिकेट संघ (क्यान) को तीन दशकसम्म केन्द्रीय सदस्य रहेका थिए । साथै उपाध्यक्ष रहँदै हाल उनी वरिष्ठ सल्लाहकार हुन् । त्यसैगरी उनका दुई छोरा यूनिल श्रेष्ठ र मन्जित श्रेष्ठ नेपाली राष्ट्रिय क्रिकेट टिमका भरपर्दा खेलाडी थिए । यूनिल अहिले राष्ट्रिय टिम छनोटकर्तामध्येका एक सदस्य हुन् भने मन्जित नेपाल प्रहरी टिमबाट व्यवसायिक क्रिकेट खेल्दैछन् ।

श्रेष्ठ परिवारकी एक मात्र छोरी ऋचाको ब्लड क्यान्सरका कारण दुई वर्षअघि अष्ट्रेलियामा मृत्यु भएको थियो । उनकै नाममा परिवारले करिब ३० लाखको लागतमा प्रतियोगिता आयोजना गर्न लागेको हो ।प्रतियोगिता सञ्चालनका लागि नेपाल क्रिकेट संघ (क्यान) र निजी क्षेत्रको आर्थिक सहयोग रहने बताइएको छ । यो प्रतियोगितालाई हरेक वर्ष निरन्तरता दिइने श्रेष्ठले बताएका छन् ।

आइतबार, २६ चैत, २०७९, बिहानको ०८:२४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर