कोशीमा हाइड्रोसिलको निःशुल्क शल्यक्रिया

विराटनगर ।विराटनगरस्थित कोशी अस्पतालमा हाइड्रोसिल (अण्डकोष वरिपरि पानी भरिएर ठूलो हुने रोग) को निःशुल्क शल्यक्रिया सेवाबाट लाभान्वित हुनेको संख्या बढिरहेको छ ।

अस्पतालमा चालु आर्थिक वर्षमा एक सय जना हाइड्रोसिल भएका विरामीको शल्यक्रिया गर्ने लक्ष्य रहेको अस्पतालका मेसु प्रा.डा रविनराज सिंहले जानकारी दिए । चालु आर्थिक वर्षको चैत २३ गतेसम्म हाइड्रोसिल भएका ७४ जना विरामीको शल्यक्रिया गरिएको कोशी अस्पतालका मेडिकल अधिकृत गोविन्द कटुवालले बताए । चालु आर्थिक वर्षमा हाइड्रोसिलका एक सय जना विरामीको शल्यक्रिया गरिने लक्ष्य रहेको उनले बताए ।

नेपालमा हाइड्रोसिलका बिरामी करिब एक लाख रहेको अनुमान छ । नेपालमा हात्तीपाइले रोगका कारण हाइड्रोसिलका बिरामी बढेपछि सरकारले निःशुल्क शल्यक्रियाको व्यवस्था गरेको हो ।

उक्त कार्यक्रम अन्तर्गत नै कोशीले विगत १४ वर्षदेखि निःशुल्क सेवा सुरु गरेको हो । सरकारले प्रत्येक अस्पताललाई एक जना बिरामीको शल्यक्रिया गरेबापत ५ हजार ५ सय उपलब्ध गराएको छ । उक्त रकम बिरामीको शल्यक्रिया र औषधिका लागि पुग्नेछ । तीन वर्षमा कोशीमा १५२ जना हाइड्रोसिलका विरामीको शल्यक्रिया भएको कटुवालले जानकारी दिए ।

आर्थिक वर्ष २०७७/०७८ मा १६ जनाको गरिएको छ । यस्तै २०७८/०७९ मा ६२ जनाको हाइड्रोसिलको शल्यक्रिया गरिएको छ । चालु आर्थिक वर्षको चैतसम्म ७४ जनाको गरिएको अस्पतालको अभिलेखमा देखिन्छ ।कोशीमा हाइड्रोसिलको उपचार गर्ने फोकल पर्सन सर्जन डा. क्षितीज गिरी रहेका छन् । हाइड्रोसिल भनेको पुरुषको अण्डकोषको बाहिरी भागमा पानी जम्मा हुनु हो । हाइड्रोसिल एक वा दुवै अण्डकोषमा हुन सक्छ । जम्मा भएको पानीले गर्दा अण्डकोष सुन्निएको वा ठूलो भएको जस्तो देखिन्छ । हाइड्रोसिलले कहिले दुखाइ पैदा गराउँदैन तर अण्डकोषको आकार भने ठूलो बनाउँछ । यसको उपचार सामान्य शल्यक्रिया नै हो ।

आइतबार, २६ चैत, २०७९, बिहानको ०८:१७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर