विराटनगर । विराटनगर – ७ मा रहेको मेरिल्यान्ड कलेजमा अध्ययनरत विद्यार्थीहरूका लागि योग कक्षा सञ्चालनमा ल्याएको छ ।कलेजका कक्षा – ११ मा अध्ययनरत विद्यार्थीहरूको लागि दुई दिने योग कक्षा बिहीबारदेखि सञ्चालन गरिएको हो ।
नेपाल सरकार पाठ्यक्रम विकास केन्द्रले नै कक्षा – ११ को सामाजिक अध्ययन तथा जीवन उपयोगी शिक्षा विषयको पाठ – ५ मा योग तथा ध्यान नामक शीर्षक राखिएको छ । उक्त २ दिने योग प्रशिक्षण कार्यक्रममा राष्ट्रिय पतञ्जलि योग केन्द्र काठमाडौँका संयोजक लोकनाथ खनालले विद्यार्थीहरूलाई पाठ्यक्रमअनुसारकै विभिन्न योगा सन त्यस्तै दैनिक जीवनको अत्यावश्यक योग अनुलोम विलोम, कपाल भाती, भ्रामरी आदि योग प्रशिक्षण दिनुका साथै विद्यार्थीहरूलाई दैनिक जीवनमा काम लाग्ने टिप्स र मेमोरी पावर बढाउने टिप्सहरू दिएको कलेजले जनाएको छ । यस्तै लाइफ स्किल शिक्षा पनि दिएको थियो ।
पतञ्जलि योग समिति मोरङकी संयोजक शिल्पा प्याकुरेल तथा योग प्रशिक्षक इश्वरी गौतमले पनि विद्यार्थीहरूलाई परीक्षामा कसरी राम्रो गर्ने भन्ने बारे प्रशिक्षण दिए ।
समापन कार्यक्रममा कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले विद्यार्थीहरूलाई आफूले सिकेको योग घरका परिवारलाई पनि सिकाएमा यसको अझ महत्त्व बढेर जाने बताए । कार्यक्रममा हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल र प्रा।डा। पी।के। झाले योगको महत्त्वबारे विद्यार्थीहरूलाई जानकारी गराए ।