विचार कार्यान्वयन गर्न माओवादीले नेतृत्व पाउनुपर्छ

 जीवन आचार्य

नेकपा माओवादी केन्द्रका १ नं. प्रदेश कमिटी सदस्य (प्रस्तावित केन्द्रीय सदस्य) जीवन आचार्य स्थानीय तह निर्वाचनका लागि मोरङको क्षेत्र नम्बर ६ अन्तरगत बुढीगंगा गाउँपालिकामा निर्वाचन केन्द्रीत अभियानमा सक्रिय छन् । २०७४ सालको आम निर्वाचनमा मोरङ क्षेत्र नम्बर ६ (१) बाट थोरै मत अन्तरले प्रदेशसभा सदस्य निर्वाचित हुनबाट रोकिएपनि पनि निर्वाचन क्षेत्रका काममा भने निरन्तर सक्रिय छन् । विद्युत, खानेपानी, सडक आदि पूर्वाधार निर्माणमा जनताको साथमा रहेर योजना ल्याउने, बजेटका लागि लबिइङ गर्ने आदि कार्यमा निरन्तर लागिपरेका उनीसँग हाम्रोमत दैनिकका गोकुल पराजुलीसले गरेको कुराकानी:

केही समयदेखि तपाईँ गाउँमा क्रियाशील देखिनुभएको छ । गाउँका जनताको भावना कस्तो पाउनुभयो ?

जनताको रेस्पोन्स राम्रै पाएको छु । जनमत पनि सकारात्मक नै छ । माओवादीका नेता, कार्यकर्ता, समर्थक र शुभचिन्तकहरु पनि अहिले सक्रिय भएका छन् । हाम्रा शुभचिन्तक र गाउँघरका जनताहरुले अहिले पनि माओवादीसँगै आशा गरेर बसिरहेका छन् । पछिल्लो समय म जति पनि वार्ड र टोलहरुमा पुगँे, जनताले हामीबाटै परिवर्तनको आशा गरेको मैले पाएको छु । बरु हाम्रा नेता र कार्यकर्ताहरु नै जनताको बीचमा कम पुगेका हुन् कि भन्ने एउटा अनुभूति मैले गरेँ । माओवादीले गत निर्वाचनमा पराजित हुँदा क्षेत्रको विकासमा नोक्सानी भयो भन्ने जनताको बुझाई पाएको छु । यद्यपि चुनाव नजितेपनि हामीले त्यस क्षेत्रमा गर्नुपर्ने र गर्न सकिने विकास निर्माणको काममा सहयोग र सक्रियता कायम राखेको कुरामा उहाँहरु जानकार हुनुहुन्छ ।

नेकपा विभाजनपछि चुनाब नजिक आउँदा कार्यकर्ताको मनोविज्ञान र मानसिकता कस्तो पाउनुभयो ?

नेकपा बनेपछि जुन स्तरको उत्साह थियो, त्यो अवस्था त आज छैन र हुनेकुरा पनि भएन । तर, कार्यकर्ताहरु पटक्कै निराश भने छैनन् । माओवादी केन्द्रको विचार र राजनीतिक मुद्दाहरुलाई अगाडि बढाउने दायित्व हाम्रै हो र त्यसको विकल्प छैन भन्ने कुरामा कार्यकर्तापङ्ति स्पष्ट छ । यसबीचमा हाम्रो पार्टीले व्यापक रुपमा सदस्यता विस्तार र नवीकरण गरेको छ । करिव ८ लाख सदस्य अनलाइनमार्फत दर्ता र २ लाख सदस्यहरुको हार्डकपी विवरण संकलन भएको छ । यसले पनि कार्यकर्ताहरुमा एउटा उर्जा थपेको छ भने आगामी चुनौतीको सामना गर्नुपर्छ भन्ने भावना पैदा भएको मैले पाएको छु ।

तपाईँको निर्वाचन क्षेत्रको अवस्था कस्तो पाउनुभएको छ ?

मोरङको क्षेत्र नम्बर ६ को अवस्था अहिले पनि राम्रो छ । २०७४ सालको निर्वाचनमा हाम्रो क्षेत्रमा ७ सय पार्टी सदस्य थिए, अहिले १३ सय बढी छन् । केही कार्यकर्ताहरु यताउता भएपनि चार वर्षअघिको भन्दा अहिले पार्टीको अवस्था मजबुत भएको मैले पाएको छु । त्यहाँका जनताहरुले हामीलाई सकारात्मक र आशावादी भएरै हेरिरहेका छन् । कार्यकर्ताहरुमा उत्साह नै देखिएको छ ।

अबको निर्वाचनमा तपाईंको तयारी के हो ?

मलाई मेरा क्षेत्रका जनताहरुले एउटा उम्मेदवारको रुपमै लिने गरेको पाएको छु । मेरो भूमिकाको बारेमा पार्टीले निर्णय गर्छ, मैले भन्ने कुरा भएन । म प्रत्यक्ष रुपमा निर्वाचनमा भाग लिएर कुनै न कुनै भूमिका गरौं भन्नेमा चाँही छु ।

चुनाव नजिक आइकसको बेला कार्यकर्ताहरुमा कस्तो उर्जा छ, त्यसले परिणाम निकाल्ने संभावना छ त ?

अहिलेको सरकार हाम्रो हो कि होइन भन्ने बुझाई छ । जनता पनि अलिअली कन्फ्युजमा छन् । यसले केही मनोवैज्ञानिक असर गर्ला की भन्ने छ । माओवादी शान्ति प्रक्रियामा आएपछि विभिन्न सरकारमा सहभागी भएपनि हाम्रै नेतृत्वमा २ वर्ष पनि सरकार चलेको छैन । प्रचण्डले २ पटक गरेर करिव १८ महिना सरकार चलाउनुभयो । खासगरि दोस्रो पटक करिव १० महिने कार्यकाल अत्यन्तै सफल भएको थियो । ८ महिनामा के नै योजना बनाएर कार्यान्वयन गर्न सकिन्छ र ? त्यो कुरा जनतालाई बुझाउन जरुरी छ । जनताले कमसेकम ५ वर्ष सरकार चलाउने अवसर दिनुपर्छ भन्ने हो । त्यो अवसर केपी ओलीले पाएको भएपनि उनले सदुपयोग गर्न सकेनन् ।

बारम्बार सरकारमा गएर पनि जनताको आवाज सम्बोधन गर्न नसकेको नैतिक जिम्मेवारी माओवादीले लिनुपदैन ?

अवश्य पनि लिनुपर्छ । यसपटक माओवादी केन्द्रले जनतालाई स्पष्ट भन्नुपर्छ । हामीले कहाँ कमजोरी ग¥यौं, के कमजोरी ग¥र्यौं, किन सरकारको नेतृत्व गर्न सकिएन र अरुलाई पटक–पटक नेतृत्वमा किन पु¥याउने अवस्था बन्यो भनेर सबै कुरा जनतालाई स्पष्ट भन्नुपर्छ । माओवादीको नेतृत्व चाँही अरुलाई प्रधानमन्त्री बनाउनकै लागि भएजस्तो देखिएको छ । चाबी माओवादीसँग हुने तर, अरुलाई गृहप्रवेश गराइरहनु पर्ने बाध्यतामा माओवादी रह्यो । कोभिडका कारण नाकाहरु बन्द भएर यातायात बन्द हुँदा जनताहरु भोकभोकै हिडेर गाउँ गइरहेको बेला प्रचण्डले प्रधानमन्त्रीलाई भेटेर सरकारले आफ्नै स्रोत साधन खर्चेर मानिसहरुलाई गन्तव्यमा पु¥याइदिनुपर्छ भन्ने प्रस्ताव गर्दा प्रधानमन्त्रीले नमानेको तथ्य सार्वजनिक भएकै छ । त्यसैले सरकार बनाउन भूमिका खेलेपनि प्रधानमन्त्री बनिसकेपछि काम उसैले गर्ने हो । माओवादीले पहल गरेर पटक–पटक सरकार बनायो, नेताहरु मन्त्री भए तर चाहेजस्तो काम भएन । त्यसैले जसको नीति उसको नेतृत्व जरुरी रहेछ । एक पटक फुलफेजमा काम गर्ने गरी सरकारको नेतृत्व माओवादीले गर्न पाउनुपर्छ । जनताले त्यो अवसर दिएर हेर्नुपर्छ । त्यसपछि पनि माओवादीले काम गर्न सकेन भने सर्लक्कै छोड्नु पर्छ । हो यो कुरा बुझाउन हामी जनताको बिचमा गइरहेका छौं ।

माओवादीले आफ्नो मुद्दा छोड्यो, वर्ग छोड्यो, त्यसकारण माओवादी कमजोर बन्दै गयो भन्ने आलोचना गलत हो र ?

माओवादीले एजेण्डा छोडेको छैन । माओवादीलाई चुनावी प्रक्रियाबाट जनताले जुन साइजमा राखेको छ, त्योभन्दा धेरै गर्नसक्ने अवस्था कहाँ हुन्छ त ? एमसीसीकै कुरा गरौं न, माओवादीको जे हैसियत हो, त्योभन्दा धेरै गर्न सक्यो । १२ बुँदें व्याख्यात्मक घोषणा माओवादीको साइजभन्दा बढी उपलब्धि हो । यदि माओवादी बलियो हुन्थ्यो भने त्यहि अनुसार निर्णय हुन्थ्यो । एमाले र काँग्रेस जस्ताको त्यस्तै पास गर्न चाहन्थे । माओवादी संशोधन गराउन चाहन्थ्यो । तर, हाम्रो साइजले सहज संशोधन गराउन सकेनौं । माओवादीले कुनैपनि एजेण्डा छोडेको छैन भन्ने उदाहरण यो पनि हो । हामीले एजेण्डा छोडेकोभन्दा पनि हाम्रा एजेण्डा कार्यान्वयन गर्न आवश्यक शक्ति आर्जन नभएको हो ।

अध्यक्ष प्रचण्डका पनि केही सीमा र कमजोरी त रहे नि हैन ?

प्रचण्ड समय अनुसार चल्ने क्षमता भएको नेता हुनुहुन्छ । समयसँगै अपडेट हुने, चलायमान हुने उहाँको स्वभाव छ । जनताले कमसेकम चुनाव आउँदै गर्दा सहि र गलत छुट्याउनु पर्छ । कमजोरी नै भएनन् भन्ने कुरा होइन । तर, जति कमजोरी भयो, त्योभन्दा धेरै आरोपहरु लगाइयो । एक हिसाबले प्रचण्डमाथि अन्याय नै भयो भन्ने लाग्छ । विदेशी बैंकमा अरबौं पैसा राखेको छ भनेर आरोप लगाइयो । जुन घरमा भाडामा बस्यो, त्यही घर प्रचण्डको हो भनिदिएका छन् । हुँदाहुँदा झापाको दुर्गा प्रसाईँको अस्पताल पनि प्रचण्डकै हो भनेर एक बेलामा आरोप लगाए । आज प्रसाईँ एमालेमा छन् । अब त्यो अस्पताल एमालेको भयो कि प्रचण्डकै छ ? त्यसको जवाफ आरोप लगाउनेहरुले दिनुपर्छ कि पर्दैन ? यस्ता विषय हामीले बुझ्नु र बुझाउनु पर्नेछ ।

झापा आउँदा प्रसाईकैमा बस्ने, मार्सी चामलको भात खाने काम नगरेको भए त्यस्तो आरोपबाट बच्न सकिन्थ्यो होला नि ?

प्रसाईँले ‘म ६ महिना प्रहरी हिसासतमा बसेको माओवादी हुँ । म माओवादीका लागि, अध्यक्ष प्रचण्डका लागि मर्न तयार छु’ भनेर भन्थे । हिजो आन्दोलनमा लागेको, प्रहरी हिरासत व्यहोरोको आफ्नै कार्यकर्तालाई रेस्पोन्स नगर्ने कुरा भएन । आफ्नै कार्यकर्ताको घरमा बस्नु नाजायज हो र ? उनी फरार अपराधी त थिएनन् नि । सम्पर्क र सम्बन्ध भएपनि हिजो प्रसाईँ माओवादीको जिल्ला सदस्यसमेत थिएनन् । प्रचण्डसँग निकट भएको भए जिल्ला सदस्य त बनाइदिन्थे होलान् नि । उनी अहिले एमालेको केन्द्रीय सदस्य छन् । प्रचण्डमाथि हिजो गरिएको प्रश्नहरु आज के भए त ? प्रचण्डको सबैसँग मिल्ने, सबैलाई सम्मान गर्ने, भेटघाट हुँदा सबैलाई रेस्पोन्स गर्ने स्वभाव छ । त्यसले पनि प्रचण्डलाई समस्या भयो कि जस्तो लाग्छ ।

अब पनि जनताले माओवादीलाई अवसर दिन्छन् भन्नेमा तपाईहरु र प्रचण्ड कतिको विश्वस्त हुनुहुन्छ ?

अध्यक्ष प्रचण्ड अत्यन्तै विश्वस्त हुनुहुन्छ । देशलाई विकसित बनाउन भूमिका खेलेका विदेशी नेताहरुसँग अध्यक्ष प्रचण्ड निकट सम्पर्कमा रहेर छलफल गरिरहनुभएको छ । योजनाहरुको बारेमा अध्ययन गरिरहनुभएको छ र हाम्रो देशको अनुकुलतामा के गर्न सकिन्छ भनेर लागि पर्नुभएको छ । त्यसैले अवसर आएपछि फरक तरिकाले मुलुक निर्माणको योजना कार्यान्वयन गर्छु भनेर उहाँ तयारी अवस्थामा बस्नुभएको छ ।

प्रचण्डसँग नजिक रहेर हेर्दा आगामी चुनाबमा चुनावी गठबन्धन वा एकताको सम्भावना कतिको देख्नुहुन्छ ?

साना वाम पार्टीहरुसँग अध्यक्ष छलफलमै हुनुहुन्छ । विशेष गरेर माओवादी पार्टीबाट विभाजित भएका घटकहरुसँग बढी छलफल गरिरहनुभएको छ । माओवादी आन्दोलन अन्य कारणले भन्दा पनि विभाजन र फुटका कारण कमजोर बनेको हो । त्यसैले पूर्वमाओवादी घटकहरुबीचमै तालमेल र एकताको प्रकृया बढाउनुपर्छ भन्नेमा उहाँले मिहेनत गरिरहनुभएको छ । त्यसकै प्रतिफल होला, विप्लबले निर्वाचनमा जाने तयारी गर्नुभएको छ । सत्ता गठबन्धन चुनावसम्मै मिलेर जाने अवस्था छ । काँग्रेसभित्रको आन्तरिक अन्तरविरोधका कारण केही नेताहरुले गठबन्धनको विरोध गरिरहेका छन् । तर, त्यो आन्तरिक दवावका लागि मात्र हो भन्ने हाम्रो बुझाइ छ । प्रधानमन्त्री पनि अहिलेसम्म गठबन्धन बनाउन सकारात्मक नै हुनुहुन्छ । तर, हामी गठबन्धन बन्छ भनेर मात्र पर्खेर बसेका छैनौं । एकल रुपमै लड्ने तयारी गरेर सबै नेताहरु पालिका र वार्डहरुमा झरेर काम गरिरहेका छौं ।

तर, विप्लवलाई यो प्रक्रियामा ल्याउन केपी ओलीले भूमिका खेलेका थिए । तालमेल वा एकता एमालेसँग होला नि ?

विप्लबको एमालेसँग चुनावी तालमेल हुने सम्भावना म देख्दिन । या त उहाँहरु चुनावमै जानुहुन्न या माओवादीसँगै तालमेल गर्नुहुन्छ । एमालेसँग तालमेल गरेर जनाधार रक्षा गर्ने, चुनाव जित्ने वातावरण बन्छ भन्ने मलाई लाग्दैन । हिजोको आन्दोलन विरासत, साथीभाइ, विचार र दृष्टिकोणको निकटता आदिले उहाँहरु माओवादीभन्दा धेरै पर पुग्नुहोला भन्ने मलाई लाग्दैन ।

चुनाबी गठबन्धन गर्न हुँदैन भन्ने काँग्रेसभित्र नेता डा.शेखर कोइराला र तपाईँ एउटै क्षेत्रको हुनुहुन्छ । उहाँसँग तपाईँको छलफल कतिको हुने गर्छ ?

केही दिनअघि प्रचण्ड, माधवकुमार लगायतका नेताहरुलाई हामी जिताइदिउँला भनेर डा. शेखरले बोल्नुभएको मैले सुँने । उहाँले त्यसो नभन्नुभएको भए हुन्थ्यो । किनभने कुनै न कुनै रुपमा उहाँलाई जिताइदिने ठाउँमा त हामी पनि छौं नि । हामीले पनि भोलि डाक्टरसाव्लाई जिताइदिनु पर्छ होला नि । त्यसैले यो गठबन्धन कुन परिवेशमा किन बन्यो भनेर उहाँलाई राम्रो जानकारी छ । यद्यपि उहाँको पार्टी भित्रको अन्तरविरोधलाई यस ढंगले सार्वजनिक नगर्नु बुद्धिमानी हुन्छ जस्तो मलाई लाग्छ । हामीबीच त्यतिधेरै भेटघाट र छलफल नभएपनि एउटै निर्वाचन क्षेत्र भएकोले विभिन्न सन्दर्भमा कुराकानी त भइ नै रहेको छ ।

शुक्रबार, ११ चैत, २०७८

प्रतिक्रिया:

सम्बन्धित खवर