जीवन घिमिरे
नेकपा एमालेका नेता जीवन घिमिरेको नाम यतिबेला विराटनगर महानगरको मेयरको दाबेदार भनेर बहुप्रचारित छ । प्रदेशको सामाजिक विकास मन्त्रीको जिम्मेवारी निर्वाह गरिसकेका घिमिरेले आफ्नो दाबी मेयरमा नभएको प्रष्ट्याएका छन् । उनले अब आफ्नो दाबी प्रदेशको मुख्यमन्त्रीमा रहेको खुलासा गरेका छन् । आगामी राजनीतिक ‘मुभ’, एमालेको चुनावी अभियान र पार्टीभित्रको अन्तरविरोधबारे हाम्रोमतका लागि गोकुल पराजुलीले घिमिरेसँग गरेको कुराकानीको सम्पादित अंशः
स्थानीय तह निर्वाचन नजिकिँदै छ । यो चुनावमा तपाईको भूमिका के हुन्छ ?
पार्टीको केन्द्रीय सदस्य भएको नाताले आफ्नो पार्टीको पक्षपोषण गर्ने, पार्टीलाई जिताउने र चुनावमा अधिकसेअधिक सकारात्मक परिणाम ल्याउन लाग्नु मेरो नैतिक जिम्मेवारी हो । म त्यो जिम्मेवारीप्रति नै क्रियाशील छु । जहाँसम्म उम्मेदवार को हुने के हुने भन्ने विषय छ त्यो विषयमा केन्द्रीय समितिको बैठक बस्दैछ । त्यसले अरु थप विषयहरुको निरुपण गर्नेछ । वडा सदस्य र वडाहरुको निर्णय जिल्ला समितिले गर्ने, पालिकाका प्रमुख र उपप्रमुखहरुको निर्णय प्रदेश कमिटीले गर्ने र महानगर र उपमहानगरका प्रमुख–उपप्रमुखको निर्णय केन्द्रीय कमिटीले गर्ने भन्ने कुरा छ । यो विषय पनि कसरी गर्ने भन्ने कुरा बैठक पछि अझ प्रष्ट होला । त्यसपछि मात्र बहस उम्मेदवार केन्द्रित होला । अहिले नै उम्मेदवारको विषयमा बहस र छलफल सुरु भइसकेको छैन । बजारमा जे जति कुराहरु आएका छन केवल अनुमानमा आधारित आएका मात्र हुन्, औपचारिक रुपमा पार्टीमा यो विषय प्रवेश भएको छैन ।
एमालेको चुनावी अभियान कसरी अघि बढेको छ ?
लामो समयदेखि लगभग पार्टी कमिटीहरु सिथिल थिए । खासगरी दुई वटा पार्टी एकीकरण भइसकेपछि समायोजन गर्न केही ढिलाइ पनि भयो । त्यसपछि पार्टीभित्र आन्तरिक समस्याहरु उत्पन्न भए त्यसकारण पार्टी कमिटीहरु एक हिसाबले गतिहीन बने । त्यसलाई गतिशील बनाउने, सुदृढ बनाउने काम भएको छ । सबै पालिका र वडाका अधिवेशनहरु सम्पन्न भएका छन् । टोल कमिटीहरु बनाइएको छ । हरेक वडाले न्यूनतम ९ वटा टोल कमिटीहरु बनाउन निर्देशन गरिएको छ । सोही मुताबिक गठन भइरहेको छ । सँगसँगै अन्य पार्टीबाट एमालेमा प्रवेश गर्ने क्रम पनि बढेको छ । अब क्रमशः चुनाव नजिक आएको हुनाले चुनावमुखी कार्यक्रम तय गर्ने, उम्मेदवारको बारेमा बहस छलफल गर्ने, राय सुझाव लिने र निर्णय गर्ने काम हुनेछ । लगभग चैत मसान्तसम्म उम्मेदवारहरु टुंगो लगाउने र प्रचार प्रसारमा लाग्ने गरी तयारी भइरहेको छ ।
तपाईँ मेयरको सशक्त दाबेदार हो भनेर बजारमा जबरजस्त हल्ला छ । तपाईँले इच्छा गर्नुभएको हो ?
मेयरमा मेरो दाबी भन्ने कुरा होइन । मैले इच्छा जाहेर गरेको पनि छैन । म अहिले प्रदेशसभाको सदस्य बहाल छु । अझै मेरो कार्यकाल मंसिरसम्म बाँकी नै छ । त्यसैले अहिले नै स्थानीय तहको निर्वाचनमा जाने सोच मैले बनाएको छैन । तर, बजारमा मेरो नाम चर्चामा आएको सुनेको छु । साथीभाइहरुले पनि के हो भनेर चासो राखिरहनुभएको छ । त्यो चर्चा मप्रतिको सदासयताको रुपमा मैले ठानेको छु ।
तपाइँको व्यक्तिगत इच्छा चाहिँ के मा हो ?
मैले आफू महानगरमा उम्मेदवार बन्ने कुनै मनसाय व्यक्त गरेको छैन । मेरो प्राथमिकता प्रदेश नै हो । बरु, मेरो आकांक्षा प्रदेशको मुख्यमन्त्रीमा छ । हुन त पार्टी निर्णय नै हाम्रो लागि सर्वोपरी हुन्छ । पार्टी निर्णय मेरो पक्षमा हुन्छ कि हुन्न, प्रदेशसभाको टिकट पाउँछु कि पाउँदिन, भोलि दलको नेता म छानिन्छु कि छानिन्न, मेरो दलले प्रदेशसभामा बहुमत ल्याउँछ कि ल्याउँदैन यस्ता केही अनुत्तरित प्रश्नहरु मेरा सामुन्नेमा छन् । तर, मेरो स्वाभाविक इच्छा चाहिँ प्रदेशको मुख्यमन्त्रीमा छ । त्यहाँ बसेरै म योगदान गरौं भन्ने पक्षमा छु ।
तपाईँ प्रदेश १ को सिनियर नेता हुनुहुन्छ । विभिन्न जिम्मेवारीहरु हिजो पूरा गरेर आउनुभएको छ । अझै पनि पार्टीले जिम्मेवारी दिने कुरामा संशय बाँकी नै छ ?
हो, मैले अघि नै भनिसकें मेरो प्राथमिकता र चाहना प्रदेश सरकार नै हो । त्यसमध्ये पनि मुख्यमन्त्री नै हो । तर, निर्णय त पार्टीको हो । व्यक्तिको चाहनाले मात्र सबैकुरा पूरा हुँदैन । त्यतिबेलाको परिस्थिति के हुन्छ, मेरो पार्टीको बहुमत आउँछ कि आउँदैन, दलभित्र नेताका आकांक्षी को को हुन सक्लान्, दलभित्रै मेरो बहुमत पुग्छ कि पुग्दैन यस्ता केही अनुत्तरित प्रश्न त छन् तर पनि एकपटक मुख्यमन्त्री भएर काम गर्न पाए हुन्थ्यो भन्ने चाहिँ छ ।
स्थानीय चुनाव नजिकियो, एकथरीले केपी ओलीको नेतृत्वमा एमाले सफल भयो भन्ने दाबी गरिरहेका छन्, अर्कोथरी ओलीको नेतृत्वमा शक्तिको दुरुपयोग भयो भनेर आलोचना गरिरहेका छन् । यो दोधारको अवस्थामा के भनेर तपाईँहरु जनतामा जाँदै हुनुहुन्छ ?
अब पार्टीले चुनावी नारा तय गर्दैछ । यो केन्द्रीय कमिटीको बैठकले धेरै नीतिगत मुद्दाहरु निरुपण गर्दैछ । घोषणा पत्र कस्तो हुने, प्रतिवद्धतापत्र कस्तो बनाउने भन्ने विषयमा हामीले विषय विज्ञ र सरोकारवालाहरुसँग कुरा गर्दैछौं । छिट्टै हाम्रो पार्टीले यी विषयहरु सार्वजनिक गर्छ ।
स्थानीय तहको निर्वाचन परिणामबारे के अनुमान गर्नुभएको छ ?
स्थानीय तहको निर्वाचनका सवालमा प्रदेश नम्बर १ मा नेकपा एमालेको पोजिसन सन्तोषजनक छ । हिजो जितेका पालिकाहरु फेरि पनि एमालेले जित्ने बलियो आधार, कारण र प्रमाणहरु छन् । हिजो जित्न नसकेका धेरै पालिकाहरु पार्टी भित्रकै आन्तरिक अन्तरविरोध र व्यवस्थापकीय कमजोरीका कारणहरु थिए । त्यसको व्यवस्थापन मिलाएर यसपटक जित्ने गरी हामी लाग्छौं ।
बलियो नेकपा विभाजन भएको छ र त्यसपछि एमाले पनि विभाजित बन्न पुगेको छ । अब एमालेभित्र कुनै अन्तरविरोध छैन ?
खासगरी अदालतले नेकपा विभाजन गरिदियो । नेकपा विभाजन भएर एमाले र माओवादी बन्न पुग्यो । फेरि एमाले भित्रको एउटा हिस्सा पनि अहिले पार्टीबाट अलग भएको अवस्था छ । त्यसको अर्थ अब पार्टीभित्रको सम्पूर्ण अन्तरविरोध समाधान भए या अब कुनै पनि अन्तरविरोध उत्पन्न हुँदैन भन्ने कुरा होइन । हामी कम्युनिष्टहरु द्वन्द्ववादमा विश्वास गर्छौं । द्वन्द्ववादले जहिल्यै पनि अन्तरसंघर्षलाई स्वीकार गर्छ । कुनै पनि जीवित वस्तुको विकासका लागि अन्तरसंघर्ष अनिवार्य छ । पार्टीभित्र सबै कुरा समाधान भए, हिजो विमति राख्नेहरु जाने बित्तिकै सबै ठिकठाक भयो भन्ने होइन । नयाँ अन्तरविरोधहरु आउँछन्, नयाँ मुद्दा र परिवेशहरु आउँछन् । त्यसको समाधानका क्रममा जीवन्त पार्टीभित्र यस्तो प्रकृया जारी रहनु स्वभाविक हुन्छ ।
एमालेभित्र १० बुँदे समझदारी गरेर पार्टीमै रहेकाहरुलाई जिम्मेवारी दिने विषयमा पार्टी अनुदार देखिएको छ । यसले चुनावमा असर गर्ने सम्भावना कस्तो छ ?
हामीले हाम्रो पार्टी जीवनभित्र विभिन्न खालका आरोहअवरोह पार गरेका छौं । हामी आफैं पनि कहिले बहुमतमा कहिले अल्पमतमा, कहिले पुरस्कारमा कहिले दण्डमा सामेल हुँदै आएका छौं । हाम्रो जीवनभित्र यस्ता धेरै भोगाइहरु व्यहोरेका छौं । त्यसैले यस्ता कुराहरुको असर र प्रभाव पार्टीको आन्तरिक जीवनमा पर्दैन । हामी पार्टी निर्णयलाई आत्मसात गरेर जान्छौं । त्यो हाम्रो विधि, पद्धति र संस्कृति पनि हो । त्यसैले यस्ता विषयले चुनावमा प्रभाव राख्दैन ।
स्थायी समितिको बैठकमा घनश्याम भुषालहरुले वाम एकता गरेर जाउँ भन्ने प्रस्ताव गर्नुभएको छ । त्यस विषयमा तपाईँको धारणा के हो ?
त्यसलाई मैले कसरी बुझेको छु भने उहाँहरुले चुनावमा वाम एकता गरेर जाउँ भनेर प्रस्ताव राख्नुभएको छ । त्यसलाई अन्यथा लिनु हुँदैन । त्यसको प्रत्युत्तर दिने क्रममा पार्टी अध्यक्षले अहिले वाम एकता होइन स्थानीय आवश्यकता अनुसार चुनावी तालमेल गरेर जानुपर्छ भन्नुभएको छ । यसले कतिपय पालिकास्तरमा तालमेल भएर जान सकिन्छ भन्ने मलाई लाग्छ ।
प्रदेश १ मा पनि एमाले चुनावी तालमेलबाटै अगाडि बढ्छ ?
अहिले नै हामीले सबै गृहकार्य गरिसकेका छैनौं । कुन–कुन पालिकामा कुन शक्तिसँग तालमेल गरेर जानुपर्छ या पर्दैन भनेर गृहकार्य गरिसकेपछि बैठकले पनि एउटा मागदर्शन गर्ला । त्यसपछि तालमेलको विषय अगाडि बढ्छ भन्ने लाग्छ ।
माओवादी र एकीकृत समाजवादीसँग पनि तालमेल हुने सम्भावना छ ?
स्थानीय आवश्यकता अनुसार स्थानीय तहमा तालमेलको नीतिगत निर्णय हुनसक्छ । केन्द्रिकृतरुपमा यो यो पार्टीसँग तालमेल गर्ने भन्ने कुरा नहोला तर तल्ला तहहरुले तालमेल गर्न सक्ने गरी निर्णय गर्छ भन्ने मेरो विश्वास हो ।
कम्युनिष्ट पार्टीहरुबीच एकता भएपछि वामपंक्तिमा जुन उत्साह थियो अहिले फुट र विभाजनपछि ठूलो निराशा उत्पन्न गरेको छ । यसले कम्युनिष्ट आन्दोलनमा धक्का लागेको मान्नुहुन्छ ?
निश्चय नै । दुई तिहाईको बहुमत गुम्दै गुम्दै गएर खण्डित हुँदै गइरहेका छौं । । यो दुःखद् पक्ष हो । तर, दुःखद् घटनाले सँधै दुःखद् अवस्थामात्र उत्पन्न भइरहन्छ भन्ने छैन । सुखद् परिणाम पनि ल्याउन सक्छ । हामीले यसअर्थमा आशावादी हुनुपर्छ । नेपालको वाम आन्दोलनले धेरै लामो समय पार गरेको छ । लामो प्रयासपछि मूल पार्टीहरुबीच एकता भयो तर त्यो धेरै लामो समय टिक्न सकेन । त्यसबाट हामीले धेरै शिक्षा आर्जन गरेका छौं । विगतको समीक्षा गर्नुपर्ने दिन आउनेछ । के कारणले एकता टिक्न सकेन र अब कसरी एकता गर्ने र दिगो अनि विश्वासिलो बनाउन सकिन्छ भनेर ध्यान दिनुपर्छ ।
ढिलोचाँडो वाम एकता हुन्छ भन्ने हो तपाइँको कुरा ?
अहिले तत्काल वाम एकताको सम्भावना देख्दिनँ तर ढिलोचाँडो एकता अनिवार्य र अपरिहार्य छ ।
सरकारमा सहभागी गठबन्धनबीच तालमेल गरेर अगाडि बढेको खण्डमा एमालेको अवस्था कस्तो होला ?
पाँचदलीय गठबन्धनलाई प्रदेश र संघको निर्वाचनमा गठबन्धन गर्न सहज छ । त्यो व्यवहारिक पनि हुनसक्छ । तर, स्थानीय तहमा त्यो त्यति सजिलो छैन । त्यसका धेरै व्यवहारिक समस्याहरु हुन्छन् । हाम्रै पनि यस्तो भोगाइ छ । सुनसरीमा हामीले राप्रपालाई भोट हाल्ने गरी एउटा निर्णय ग¥यौं । पार्टीले गरेको त्यो निर्णय कार्यान्वयन गर्न सकिएन । हाम्रा साथीहरुले राप्रपालाई भोट हालेनन् । काँग्रेसले चुनाव जित्यो । पार्टीको बलमा मात्र स्थानीय चुनाव जितिँदैन । स्थानीय चुनाव बढी व्यक्ति केन्द्रित हुन्छ ।