गोकुल पराजुली
नेपालमा २०५२ देखि २०६३ सम्म चलेको सशस्त्र विद्रोह नभोग्नेहरु थोरै छन् । कुनै न कुनै रुपमा सबैले युद्धको भोगाइ व्यहोरेका छन् । स्वयं युद्धमा भाग लिएर भोग्नेहरु छन् । युद्धको प्रतिरोध गरेर भोग्नेहरु छन् । युद्धको असर र बाछिटाहरुबाट प्रभावित भएर भोग्नेहरु झन् धेरै छन् । नेपालमा त्यस्तो एउटा क्षेत्र छैन जहाँ जनयुद्ध र जनयुद्धको प्रभाव अनि असर नपरेको होस् ।
अहिले त्यही जनयुद्धसँग जोडेर एउटा गीतिनाटक ‘पीर’ चर्चामा छ । नाम भएपनि बदनाम भएपनि चर्चा चाहनेहरुका लागि यो एउटा फण्डा हो । उनीहरुका लागि सामान्य कुरा पनि हो यो । केवल चर्चा चाहनेहरु गुमनाम बन्न चाहदैनन् । बदनामनै सही उनीहरु चर्चाको भोका हुन्छन् । प्रकाश सपुतले पीर मार्फत त्यही भोक पूरा गरेका हुन् भन्न अप्ठ्यारो मान्नु पर्दैन ।
बजारमा ‘पीर’ आएपछि मानिसहरुले ठाने जनयुद्धले पो गरिबी ल्याएछ । तर, गरिबीले पो जनयुद्ध ल्याएको साँचो कुरा हैन र ! अभाव र विभेदको प्रतिक्रिया हैन र जनयुद्ध ? असमानता र असन्तुलनको विद्रोहात्मक अभिव्यक्ति हैन र जनयुद्ध ? हाम्रो देशको राज्य प्रणाली, असमान आर्थिक वितरण प्रणाली गरिबीको कारण हो वा गरिबी ?
व्यवस्था परिवर्तनका लागि योद्धाहरुले बगाएको रगतलाई रजश्वलासँग जोडेर गिज्याउनेहरु यतिबेला ती योद्धाप्रति सहानुभूतिको ढोंग गर्दैछन् । र, भन्दैछन् ‘बिचरा लडेर के नै पायौ र ? बरु जनताका लागि लडेको तिमीले गरिबी पायौ, अभाव पायौ, दुःख र तिरस्कार पायौ । तर, तिमीलाई लडाउने नेताहरु समृद्धिको यात्रामा छन, सुखसयलमा मस्त भएका छन् ।’
हो, लड्नेहरुको सपना पूरा भएको छैन । कसैले पूरा भएको ठान्छ भने ऊ गलत छ । तर, ती योद्धाहरुले लढेर सामन्ती शासन ढालेको कुरा सत्य हैन ? वंश परम्परा तोडेर जनताका छोराछोरी देशको राष्ट्र प्रमुख बन्ने गणतन्त्रको ढोका तिनैले खोलेका हैनन् ? के यो सानो उपलब्धी हो ? जनयुद्धमा तपाईँ हामी लड्यौं । हाम्रै चेतनाले लडेका हौं । हाम्रै खुसीले लडेका हौं । जबरजस्ती कसैले लडाएका हैनन् । बरु राज्यको विभेदकारी नीतिले दुनियाँलाई लड्न बाध्य बनायो । गरिबी र उत्पीडनले लड्नै पर्ने बनायो । जातीय विभेद, छुवाछुत, असमानता र शोषणको भयावह अवस्था अन्त्य गर्न राज्य तत्पर नभएपछि योद्धाहरु लड्न तयार भएका हुन् । त्यसैले जोड दिएर भन्नुपर्छ युद्धले गरिबी हैन गरिबीले युद्ध निम्त्याएको थियो ।
साँचो कुरा को हो भने युद्ध सकिएपछि पनि गरिबी अन्त्य हुन सकेन । विकास र समृद्धिको यात्रा बढ्न सकेन । जनताको जीवनस्तर उकास्ने काम अघि बढेन । नेताहरु थोरबहुत सुविधाभोगी बने । त्यसो भए अब लघुताभाष गरेर टाउकामा हात राखेर बस्ने समृद्धि र विकासका लागि फेरि एकपटक लड्ने ? व्यवस्था उल्ट्उन सफल योद्धाहरु विकास र समृद्धिको लडाइँमा बिजयी बन्दैनन् त ? अबस्य पनि बन्छन् । लघुताभाष गरेर बस्नु पर्ने केही छैन ।
‘पिर’को उठान ठिक ढंगले भएको छ । अधिकांश परिवेशहरु पनि यथार्थसम्मत छन् । तर त्यसको सन्देश ठिक भएन । युद्धले गरिबी ल्यायो, गरिबीले यौनकर्मी बनायो भन्ने दुबै सन्देश गलत छन् । पहिलेनै भनिसकियो कि गरिबीले युद्ध निम्त्याएको थियो युद्धले गरिबी होइन । विभेद र शोषण विरुद्ध बन्दुक बोक्ने बहादुर महिला योद्धाहरु किमार्थ दुई छाक खानकै लागि शरीर बेच्दैनन् बरु उनीहरु फेरिपनि बन्दुक बोक्न तयार हुन्छन् । दुःख कष्टका पहाड झेलेकाहरु गिटी कुट्न तयार हुन्छन् । विदेशमा पसिना बगाउन तयार हुन्छन् । आत्मस्वाभिमानका लागि राज्यसँग पौंठेजोरी खेलेका उनीहरु अभावकै कारण शरीर बेच्न तयार हुँदैनन् । तर, पिरले त्यो सन्देश प्रसार गरेर तमाम योद्धाहरुलाई निरास बनाउने असफल प्रयत्न भने गरेको छ । सपुतले निरासाको व्यापार गर्न त खोजे तर परिणाम भने उल्टो आयो । हिजो लडाईँ लडेकाहरु निरास भएनन् बरु आक्रोसित भए । उनीहरु एक प्रकारको उद्देलन पैदा भयो । र, लडाईँ सकिएको हैन अझै बाँकी रहेछ भन्ने सकारात्मक भावना पिरको नकारात्मक भिडियोबाट पैदा गरायो ।