विराटनगर । नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ (NMSRA) विराटनगरको २५ औं अधिबेशनमा प्रमोद कुमार साह अध्यक्षको रूपमा निर्वाचित भएका छन् ।
होटेल एसियाटिक विराटनगरमा आयोजित कार्यक्रमबाट बरिष्ठ उपाध्यक्षमा रामानन्द यादव, उपाध्यक्षमा रोशन न्यौपाने, सचिवमा दिपेन्द्र कार्की, सह–सचिवमा अनुप लामा र देवदत चौधरी, कोषाध्यक्षमा तेजनारायण साह, सह–कोषाध्यक्षमा सन्जीव कर्ण निर्वाचित भएका हुन् । सदस्यहरुमा रिपेश भट्टराई, संजय साह, प्रतिक अधिकारी, अशोक मेहता र रोशन कुमार साह निर्वाचित भएका छन।
निर्वाचित कार्यसमितिको कार्यकाल दुइ वर्षको लागि रहनेछ। अधिवेशनमा संस्थाका वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष प्रमोद कुमार साह, उपाध्यक्ष राम लुइँटेल तथा सचिव उपेन्द्र पोखरेलबीच अध्यक्षको लागि प्रतिस्पर्धा थियो । लुइँटेल र पोख्रेल आ–आफ्नै प्यानलको साथ निर्वाचनमा होमिएका थिए भने साहले स्वतन्त्र उम्मेदवारी दिएका थिए।
३०६ जना मतदातामध्ये कूल २६५ मत खसेकोमा लुइँटेलले ७० मत पाए । पोखरेल र साहले भने बराबर ९५ मत प्राप्त गरेका थिए । संस्थाका केन्द्रिय अध्यक्ष अनिल दाहालको अध्यक्षतामा बनेको निर्वाचन कमिटीले गोला प्रथाबाट नतिजा निकालेका थियो । जसमा प्रमोद कुमार साह विजयी भएका हुन् ।
औषधि कम्पनीको प्रतिनिधिको रूपमा औषधिको प्रचारप्रसार तथा वितरण प्रक्रियालाई सहजीकरण गर्ने एमआर पेशाका कम्पनी प्रतिनिधि सदस्यहरुको पेशागत हकहितको लागि पहल गर्ने संघको उद्देश्य रहेको छ ।