प्रदेश १ मा विशिष्टकृत बाल अस्पताल संचालनको तयारी

विराटनगर । प्रदेश १ मा विशिष्टकृत बाल अस्पताल वैशाख महिनाभित्रमा सञ्चालनमा आउने भएको छ ।काठमाडौं इन्स्टिच्यूट अफ चाइल्ड हेल्थले प्रदेश १ का बालबालिको स्वास्थ्य उपचारमा विशिष्टकृत सेवा प्रदान गर्ने उद्देश्यले झापाको दमक– ७ स्थित नेपाल रेडक्रसको भवनमा बाल अस्पताल सञ्चालननमा ल्याउने तयारी गरेको हो ।

अध्यक्ष प्रा.डा. भगवान कोइरालाले आगामी तीन महिना भित्रमा सेवा सञ्चालन सुरु गर्ने लक्ष्य अनुरूप काम भइरहेको बताए । बालस्वास्थ्य सेवाको विशिष्टकृत सुविधासहित अस्पताल सञ्चालनमा ल्याउने उनको भनाइ छ । चार तलाको भवनमा आकस्मिक सेवा, सघन उपचारलगायतको विभिन्न सेवाहरू रहनेछ ।

बाल अस्पताल सञ्चालनमा ल्याउने अभियानलाई इलामको सुर्योदय नगरपालिकाले १० लाख रुपैयाँ सहयोग गरेको छ । आफ्ना स्थानीय तहभित्रका गरिब तथा विपन्न परिवारका बालबालिकाको स्वास्थ्य उपचारमा निःशुल्क पु¥याउने उद्देश्यले काठमाडौं इन्स्टिच्यूट अफ चाइल्ड हेल्थसँग सोमबार सम्झौता गरेको हो ।

गैरनाफामुलक काठमाण्डौं इन्स्टिच्यूट अफ चाइल्ड हेल्थको अध्यक्ष कोइराला र सुर्योदयका मेयर रणबहादुर राईबीच मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मुख्यमन्त्रीको उपस्थितिमा सम्झौता गरिएको हो । दुईतर्फी सम्झौता अनुसार ५० शय्याको अस्पतालले सुर्योदय नगरपालिकाभित्रका अतिविपन्न तथा गरिब परिवारका बालबालिकालाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने बताए ।

नेपाल रेडक्रस सोसाइटी दमकसँग ३० वर्षको लागि निःशुल्क भवन प्रयोग गर्ने सम्झौता भएसँगै अस्पताल सञ्चालनको काम अगाडि बढेको हो ।
सुर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले गरिब तथा विपन्न परिवारका नागरिकले आफ्ना बालबालिका बिरामी परेर काठमाण्डौं पुग्नुपर्दा झन् गरिबी बढाएकोले घरपायक नै विशिष्टकृत सेवा सञ्चालन हुनु खुशीको कुरा भएको बताए ।

अस्पताललाई नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का वरिष्ठ उपाध्यक्ष एवं महासंघका केन्द्रीय सदस्य राजेन्द्र राउतले ११ लाख रुपैयाँ व्यक्तिगत सहयोग उपलब्ध गराएका छन् ।

इन्स्टिच्यूट अफ चाइल्ड हेल्थले ७ वटै प्रदेशमा बाल अस्पताल निर्माण गरि संचालनमा ल्याउने तयारी अननुसार अभियान सुरु गरेको जनाएको छ । काठमाडौंको बुढानिलकण्ठ–७ मा २०० शय्याको अस्पताल निर्माणको काम अगाडि बढाउने तयारी गरेको छ ।

मङ्गलबार, २४ फागुन, २०७८, बिहानको १०:०२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर