अर्जुन आचार्य
नेपाली कांग्रेसले विराटनगरमा शनिबार एक कार्यक्रम गर्यो । कांर्यक्रम विराटनगरलाई केन्द्रविन्दुमा राखेको भएपनि जिल्लाभरका अगुवा कार्यकर्ता त्यहाँ जम्मा भएका थिए । कार्यक्रममा कांग्रेस नेता शेखर कोइरालालाई प्रमुख अतिथि बनाइएको थियो । उनलाई कार्यक्रममा कांग्रेसका ‘बरिष्ठ नेता’ भनेर सम्बोधन पनि गरियो । त्यसपछिका अतिथिहरुमा क्रमशः पार्टीका उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, नेता मिनेन्द्र रिजाल, केन्द्रीय सदस्य चन्द्र भण्डारीलगायतका नेताहरु थिए । नेताहरू मञ्चमा थुप्रै भएपनि क्रेज भने गगन थापाकै थियो । सामान्य कार्यकर्ताको मात्रै होइन मञ्चमा बोल्ने प्रमुख अतिथिदेखि अन्य अतिथिसम्मले गगनको प्रसंसा गरे ।
‘एमसिसी पास गराउने कुरामा गगनजीले जे भूमिका खेल्नु भयो, यो अत्याधिक प्रशंसनीय छ,’ भाषणकै क्रममा डाक्टर मिनेन्द्र रिजालले भने । रिजालले थापाको एक पटक होइन पटकपटक प्रशंसा गरेका थिए । एमसिसीको ब्याख्या गर्ने विषयमा होस् वा समसामयीक विषयमा बोलेका अन्य नेताको जतिसुकै महत्वपूर्ण मन्तव्य भएपनि ‘गगन सुनिए तर अरु नेता देखिए’ । प्रमुख अतिथि रहेका शेखर कोइरालाले पनि गगनको भूमिका र मन्तव्यको प्रशंसा गरे । थापाले पनि शेखर कोइरालाको अगुवाइमा भएको कार्यक्रमले एकताको सन्देश दिन खोजेको बताएका थिए । थापाले सभापति शेरबहादुर देउवाको प्रशंसा गरे । हेलिकप्टरबाट आएका थापाले मन्तव्यकै क्रममा भनेका थिए, ‘मैले बिहान काठमाडौंको एउटा कार्यक्रममा सहभागीता जनाएँ, अहिले यहाँ छु, एकैछिन्मा अर्को कार्यक्रममा जानुछ, त्यसकारण समयको मलाई चाप छ ।’
वास्तवमै गगन थापालाई अबको निर्वाचनको माहोलमा समयको व्यवस्थापन चुनौतिपूर्ण बन्ने देखिन्छ । त्यतिमात्रै होइन कार्यक्रममा मन्तव्य राखेर बाहिरिने क्रममा थापालाई धेरै समर्थकले झण्डै २० मिनेट सेल्फी खिचेरै समय खेर फालिदिए । गगनलाई कार्यक्रमस्थलबाट बाहिरिन निक्कै सकस पर्यो । स्वयंसेवकहरुले बाटो खाली गर्न पनि निक्कै समस्या परेको थियो । तर, जब थापा कार्यक्रमस्थलबाट बाहिरिए कार्यक्रममा सहभागी भएका आधाभन्दा धेरै कार्यकर्ता पनि बाहिरिए । यसले के स्पष्ट पार्दछ भने कार्यक्रममा शेखर, धनराज वा अन्य नेतालाई सुन्न भन्दा पनि गगनलाई सुन्न आएका थिए ।
गगन थापा नेपाली राजनीतिका उदयीमान नेता हुन् । उनी कांग्रेसका नेता भएपनि अधिकांश अन्य राजनीतिक पार्टीका कार्यकर्ताले पनि रुचाउने पात्र हुन् । कांग्रेसभित्र त अत्यन्तै लोकप्रिय मत ल्याएर जितेका गगनको छवि दिन दिनै उँचो हुँदै गएको छ । उनले लिने राजनीतिक स्टेप हुन् या स्पष्ट बोल्ने निडर शैलीलाई धेरैले मन पराउँछन् । उनी विषयवस्तुको राम्रो ज्ञान राखेर बोल्ने गर्छन् । आफ्नो विचार राख्दा विपक्षीले गरेको खण्डनलाई यथार्थपरक र विश्वसनीय ढंगले अझै खरो ढंगले कुरा राख्न सक्छन् । उनलाई संचारमाध्यामले सुन्छन्, जनताले सुन्छन्, समर्थकले सुन्छन् र कार्यकर्ताले पनि सुन्छन् । गगनले राजतन्त्रकालमा गणतन्त्रको नारा लगाउँदा उनलाई सुने । नेपाली राजनीतिमा ०६२/०६३ सालको जनआन्दोलनबाट जबर्जस्त स्थापित भएका उनलाई कांग्रेसको उपल्लो तहको राजनीतिक उपचाईमा पुग्न निक्कै ठूलो कसरत गर्नुपर्यो । तर, त्यसबीचमा उनी आम संचारमाध्याममा छाइरहे । कांग्रेसको १४ औं महाधिवेशनबाट महामन्त्रीमा अत्याधिक मत ल्याएर विजयी भएपछि उनको उचाई अझै बढिरहेको छ । अधिकांश नेपालीले उनलाई नेपालको कार्यकारी प्रमुखको रुपमा हेर्न रुचाएका छन् । आगामि दिनमा उनले लिने राजनीतिक कदम र उनको पार्टीले लिने उचाईले पनि त्यो कुराको निर्धारण गर्नेछ । एउटा कुरा सत्य के हो भने गणतन्त्र होस् वा कार्यकारी प्रमुख जनताबाट निर्वाचित हुनुपर्छ भन्ने उनको मान्यता सँधैभरी रहिरहयो भने उनको या उनलाई देशको कार्यकारी प्रमुख होस् भन्ने चाहना राख्नेको सपना पुरा हुन अबको एक दशकसम्म पर्खनुपर्दैन ।