फैलिँदो छाला रोगबाट मुक्ति खोज्दै कारागारका कैदिबन्दी

विराटनगर । शुद्ध पानी पिउन र प्रयोग गर्न नपाउँदा मोरङ कारागारका कैदिबन्दीहरुमा छालारोग प्रकोपकै रुपमा फैलिएको छ । शुद्ध पिउने पानी पिउन पाउनु नागरिकको हक भएपनि मोरङ कागारका कैदिबन्दीहरु त्यसबाट विमुख छन् । उनीहरुले शुद्ध पानी मात्र नपाएका होइनन् त्यही पानीका कारण रोगको संक्रमण बोक्न र प्रसार गर्न बाध्य बनेका छन् ।

कारागारको क्षमताभन्दा तीन गुणा बढी कैदिबन्दी राखिएको मोरङ कारागारमा उनीहरु लामो समयदेखि प्रदूषित पानी पिउन बाध्य छन् । पिउने पानीकै कारण अधिकांश कैदिबन्दीमा छालासम्बन्धी समस्या देखिने गरेको चौकीदार अभिषेक गिरीले बताए । उनले भने ‘३०० जनाको क्षमता रहेको कारागारमा ९६८ जना कैदिबन्दी छन् । साह्रै कष्टले बस्नुपरेको छ र कैदिबन्दीले स्वच्छ पानी पिउन नपाएर दूषित पानी पिउन बाध्य भएका छन् ।’

पानीकै कारण धेरै कैदिबन्दीहरुमा स्वास्थ्य समस्या देखिएको उनले बताए । ‘कारागारमा २०६ जना छालाका बिरामी छन्,’ उनले भने, ‘धाराको पानीले पुग्दैन, कैदीबन्दीले भूमिगत पानी प्रयोग गर्नुपर्छ ।’ कारागारभित्र तीन वटा ट्युवेल छन् । ट्युवेलको पानी स्वस्थकर छैन प्रदूषित छ । पानीकै कारणले गर्दा छालालगायत अन्य समस्या देखिएको चिकित्सकहरुले बताएका छन् । ट्युवेलको आइरनयुक्त पानीका कारण छालामा समस्या देखिएको उनले बताए । ‘कपडा धुँदा पहेंलो हुन्छ,’ उनले भने,‘ धेरै कैदिबन्दीमा छालाको समस्या छ ।’

काराागारमा तत्कालै सफा खानेपानी, बोरिङ गरेको पानी र फिल्टरको प्रबन्ध गर्न कैदिबन्दीहरुले माग गरेको उनले जानकारी दिएका छन् । तर, समयमा सरकारले सुनुवाई नगरेका कारण सबैले दूषित खानेपानी पिउन बाध्य हुनुपरिरहेको कारागारका कैदी राजेश धिमालले बताए । जबरजस्ती करणाी मुद्दामा कैद भुक्तान गर्दै आएका धिमालले दूषित खानेपानी पिउँदा र नुहाउँदा छालाको रोग लागेको डाक्टरहरुले बताउने गरेको जानकारी दिए । धिमालमा केही समयदेखि छालाको समस्या भएको छ । ‘अहिले शरीर चिलाउने गरेको छ । तिघ्रामा दाद पनि आएको छ । कारगारभित्र शुद्ध पानी नहुँदा विभिन्न खालका रोगहरु बढेको छ,’ उनले भने, ‘दूषित पानीकै कारण अनेकौं रोगहरुसँग लड्नुपरेको छ ।’

कारागारमा वर्षेनी छाला र पानीका कारण हुने बिरामीहरु संख्या बढिरहेको कैदिबन्दीहरु बताउँछन् । यसरी छाला सम्बन्धी समस्याबाट पीडित भएका धिमाल एक्ला होइनन् अरु २०५ जनामा छालाको बिमारी छ । ‘छालाको समस्या देखिएको कैदीबन्दीहरुमा लुतो र दादको समस्या बढी छ,’ चौकिदार गिरीले भने ।

छाला सम्बन्धी समस्या भएका बिरामी रातभरी सुत्न नसक्ने, छट्पटीने गरेको उनीहरुले बताए । कैदिबन्दीहरुमा छाला, मधुमेह र उच्च रक्तचापका जस्ता दीर्घरोगको समस्या पनि उतिकै रहेको कारागार प्रशासनले जनाएको छ ।

शुद्ध खानेपानीका लागि पटक–पटक कारागार प्रशासनसँग माग राख्दा पनि अहिलेसम्म सुनवाइ नभएको उनीहरुले बताएका छन् । चौकीदार गिरीले कारागार प्रशासनमार्फत शुद्ध खानेपानीको व्यवस्था गर्न माग गरिएको बताए । पानीका कारण स्वास्थ्यमा समस्या आएको गुनासो गरेपछि पानी जाँच गर्नका लागि सम्बन्धित निकायमा पत्रचार गरिएको जेलर महेन्द्र खड्काले जानकारी दिए ।

कोशी अस्पतालका छाला रोग विशेषज्ञ डा. असित घिमिरेले दुषित पानीको कारणले छालाको समस्या आउने गरेको बताए । ‘तीन वर्ष अगाडि पनि मोरङ कारागारमा कैदिबन्दीहरुको स्वास्थ्य जाँच गर्न पुगेको थियो । त्यसबेलामा धेरै कैदिबन्दीहरुमा छालाको समस्इा थियो । ‘यहाँ छालाका बिरामी बढी देखिनुमा क्षमताभन्दा बढी कैदीबन्दी हो,’ डा. घिमिरले भने, ‘फोहोर पानीका कारणले एक जना कैदी वा बन्दीलाई छालाको रोग लाग्यो भने सबैतिर फैलिनसक्ने अवस्था छ । फोहोर पानी प्रयोग, सफासुग्घर नहुनु र साँघुरो ठाउँमा धेरै जना कोचिएर बस्नु पर्ने भएकाले बिरामी हुने समस्या देखियो । ट्यांकीको पानी सफा छैन । यहाँका कैदिबन्दीहरुले प्रयोग गर्ने बाथरुम, कपडादेखि सुत्ने ठाउँ र शौचालयसमेत एउटै छ । त्यसैको कारणले छालाको समस्या आमरुपमा फैलिएको हो ।’ छाला रोगबाट बच्न सरसफाइमा ध्यान दिनुपर्ने र कारागारभित्रको हकमा मापदण्ड अनुसार केदिबन्दी राख्नुपर्ने डा. घिमिरेको सुझाव छ ।

मोरङ कारागारमा ९६८ कैदीबन्दी रहेका छन् । जसमा ६८ जना महिला र ८९७ जना पुरुष छन् । तीन जना आश्रित बालबालिका छन् । जसमा पुरुषतर्फ ४७५ जना कैदी र ४१९ जना पूर्पक्षको लागि थुनामा गएका बन्दीहरु रहेका छन् । ६८ जना महिलामा ३८ जना पूर्पक्षको लागि थुनामा रहेको र ३० जना कैदी रहेको कारागारले जनाएको छ ।

शनिबार, २१ फागुन, २०७८, बिहानको ११:५६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर