गगनको चार पाटा नमुडियोस् !

 कुमार लुइँटेल

‘…त्यस्तो भयो भने म काठमाडौंको सांसद हुँ । थानकोट कटाइयोस्, नागरिकता खोसियोस्, चारपाटा मुडियोस् । सम्पत्ति विवरण बुझाएको छु सम्पत्ति खोसियोस् । माननीयज्यूहरु तयार हो ?’

यसपटक कांग्रेस महामन्त्री गगन थापाले बडो स्पष्ट ढंगले संघीय संसदको रोस्ट्रमबाट एमाले सांसद भीम रावलाई जवाफ दिए । समर्थनमा सदनभित्र तालीको पर्रा छुट्यो । गगन जहिल्यै ओजपूर्ण ढंगले प्रस्तुत हुन्छन् । विषयको महत्व तौलिएर मात्र बोल्छन् । उस्तै गहन तयारी गर्छन् ।

डिजिटल मिडियामा गगन अभिव्यक्तिको समाचार फोर केसम्म शेयर भएका छन । शेयर हुने क्रम अझै जारी छ । टिभीमा भिडियोको भ्युज पनि खुब बढेका छन । युट्यूब च्यानलहरुमा समर्थनमा कमेन्टको वर्षात नै भएको छ । रोष्ट्रममा उनी बोलिरहँदा रावलको पनि आक्रोशपूर्ण प्रतिक्रिया स्क्रिनमा झल्याक्क देखियो । तर, आवाज सुनिएन ।

जे होस् संसदमा एमसीसीको विरोध र समर्थनमा रस्साकस्सी नै देखियो । कामना गरौं एमसीसीमा तलमाथि भई गगनलाई चारपाटा नमुडियोस् । नागरिकता नखोसियोस् । सम्पत्ति जफत नहोस् । थानकोट पनि कटाउन नपरोस् । दुई दशकअघिसम्म मुलुकमा राजाको जेठो छोरो नै राजा हुने चलन थियो । राणाजीका छोरानातिलाई गर्भमै जर्नेल र कर्नेलको पदवी दिइन्थ्यो । जन्म अनि जातले ठूलो र सानोको लक्ष्मणरेखा कोरिएको हुन्थ्यो । विषादपूर्ण त्यस्तो राजनीतिक व्यवस्थालाई त हामीले ढाल्यौं । नीतिगत रुपमै यस्ता चलनमा बदलाव पनि आइसकेका छन् । अहिले जातैका आधारमा कोही ठूलो वा सानो भन्ने पनि छैन । यस्ता परिवर्तनलाई चानचुने मान्नु हुँदैन ।

पछिल्लो परिवर्तनमा गगन र उनीजस्ता विचारवान युवा नेतृत्वको त झन् ठूलो योगदान छ । हिजो माओवादीहरु जंगलबाट गणतन्त्रको नारा लगाइरहँदा गगन अनि रामकुमारी झाँक्रीहरु सडकबाटै त्यही नारा उराल्दै थिए । खराब राजनीतिक प्रणाली परिवर्तनको समय लामो होला तर इतिहासले नै देखाएको छ, आन्दोलनका बलमा तिनले घुँडा टेकेका छन् । नेपालमा पनि भएको त्यही हो ।

सांस्कृतिक असमानता र स्थापित विभेद हट्न त्यति सजिलो छैन । निकै समय लाग्नेरहेछ । तर, परिवर्तित कुरीतिप्रति आम मानिस अथवा नेतृत्वले पनि कस्तो धारणा राख्दोरहेछ भन्ने गगनले सम्मानित सदनको रोष्ट्रमबाट दिएको अभिव्यक्तिबाट बुझ्न सकिन्छ । उनले मुखरित गरेको भनाइले त्यो प्रमाण दिन्छ । हिजो सुवर्णशम्शेर, विपी कोइराला अनि गणेशमानहरुको सर्वस्वहरण भयो । उनीहरुलाई थानकोट कटाएर निर्वासित बनाइयो । यही पीडाबोधबाट त हो कांग्रेस पार्टीको जन्म भएको । त्यसो भए समाजवाद र समानताको मूल सिद्धान्त बोकेको त्यही पार्टीका अहिलेका आशलाग्दा युवा नेताबाट सांस्कृतिक कुरीतिलाई पुनरावृत्ति गर्ने गरी अभिव्यक्ति दिन सुहाउने विषय हो ?

‘बाहुनले अपराध गरे चारपाटा मुडेर डाँडा कटाउने तर त्यही अपराध अर्को जातिले गरे अर्को जातको टाउकै कटाउने’ चलन त गयो नै । तर, त्यस्ता मान्यताप्रति हाम्रो मानसिकता वा सोच हट्यो त ? गगनले संसदबाट आफू अपराधी भए चारपटा मुड्न भन्दै हराएको कुचलन पुनःप्रयोग गर्दा पनि हुने भन्दै दिएको सन्देश सामान्य विषय हो ? जहाँसम्म असमान राजनीतिक प्रणालीको कुरो छ, त्यो त हट्यो नै । तर के सामाजिक र सांस्कृतिक विभेदप्रति हामी र हाम्रा गगनहरुको सोच अनि चेतनाको स्तरमा साँच्चै नै परिवर्तन भएको छ त ? प्रश्न अब स्वाभाविक भएको छ ।

‘एमसीसीलाई राष्ट्रघाती भनिएको छ । यो सम्झौताका कारण स्वाधीनता तलमाथि हुन्छ भनिएको छ । कहिँकतै तलमाथि भयो भने नेपालले जे व्यहोर्छ म हस्ताक्षर गर्ने सांसद भएर सरी भनेर मात्र पाउँदिन,’ गगनले संसद बैठकमा भन्दै थिए, ‘यदि आज जनतालाई भनेको कुरा सेना आउँछ, स्वाधीनता लुटिन्छ, सम्पत्ति अरुले लिएर जान्छ अमेरिकी कानुन लागू हुन्छ भनेको कुरा पाँच वर्षमा सम्झौता सकिँदै गर्दा भएन भने त्यो कुरा गर्न तयार हो । तयार हो भने यो पनि चुनौती हो । राष्ट्रवाद र देशभक्तिको फरक भनेको नक्कली राष्ट्रवादी आफ्नो नारामा मान्छेलाई मर्नका लागि उचाल्छ, मार्न तयार हुन्छ । म देशभक्त हुँ मर्न तयार हुन्छु । नक्कली राष्ट्रवादी र देशभक्तको फरक नेपाली जनताले थाहा पाउँछन्, थाहा पाउनुपर्छ संसदबाट पनि थाहा पाउनुपर्छ । सडकबाट पनि थाहा पाउनुपर्छ ।’ एमसीसीको समर्थन वा विरोध, अनुमोदन वा खारेज यो विषयमा अब विवादै रहेन । यो विषयले अब संसदबाटै पार पाइसकेको छ । तर, गगन जत्तिका नेताले संसदबाट सांस्कृतिक कुप्रथालाई पुनरावृत्ति र मलजल गर्ने गरी दिएको अभिव्यक्तिको हिसाबकिताब भने हुनैपर्दछ ।

बुधबार, १८ फागुन, २०७८

प्रतिक्रिया:

सम्बन्धित खवर