गणेश लम्साल
मोरङ क्याम्पस विराटनगरबाट यसैवर्ष पत्रकारितामा स्नातक तह उतिर्ण गरेका एक दर्जन विद्यार्थीहरु अब पढाइ छाड्ने कि अर्को विषय फेरेर अगाडि पढ्ने भन्ने चिन्तामा छन् । पत्रकारिता पेशाको रुचिले गर्दा जेनतेन घरपायक क्याम्पसमा पत्रकारिता पढेका उनीहरुलाई आफ्नै प्रदेशमा पत्रकारितामा स्नातकोत्तर क्याम्पस नहुँदा अब पत्रकारिता पढ्न काठमाडांै धाउनुपर्ने बाध्यता आइलागेको छ । काठमाडौंको सरकारी क्याम्पसमा भर्ना पाउन सकिएन भने उनीहरुले निजी कलेजमा भर्ना भएर महँगो शुल्क तिर्नुपर्ने छ । पूर्णकालीन पत्रकारितामा सक्रिय भैसकेकोले महङ्गो काठमाडौंमा खानेबस्ने, पढ्ने र धाउने खर्च धान्न उनलाई धौ–धौ पर्नेछ ।
माथिको समस्या विराटनगरका विद्यार्थीहरु मात्र नभएर प्रदेश १ र मधेश प्रदेशभरीका पत्रकारिताका विद्यार्थीहरुको समस्या हो । पत्रकारिता विबषयमा स्नातकोत्तर (डिग्री) तहमा पढनपाठन हुने क्याम्पस नहुँदा प्रदेश १ का वर्षेनी ५० भन्दा बढी विद्यार्थीहरुले डिग्री लिनका लागि सास्ती पाउँदै आएका छन् । पत्रकारिता पेशाप्रति रुचि राखेर स्नातक तहमा भर्ना भएर पढेका विद्यार्थीहरुलाई बाध्य भएर पनि डिग्री लिन काठमाडौं धाउनुपरिरहेको छ । स्नातक तहसम्म कम खर्चमा घर पायक पत्रकारिता पढ्न पाएपनि स्नातकोत्तर पढ्न काठमाडौं धाउनुपर्दा उनीहरुले आफ्नो क्षमताभन्दा बढी आर्थिकभार सहनु पर्दछ ।
प्रदेश १ मा माध्यमिक र स्नातक तहमा पत्रकारिता बिषय पढ्ने सुविधा भएपनि डिग्री लिने क्याम्पस अझै उपलव्ध छैन । डिग्री लिन कलेज नहुँदा पत्रकारितामा स्नातक उतिर्ण गरेका धेरै विद्यार्थीहरुले पढाइलाई बिचैमा छाड्ने वा ‘डाइभर्ट’ गरेर अर्को विषयमा डिग्री लिने गरेका छन् । जसले दक्ष र अध्ययनशील पत्रकारहरुको वृतिमा मात्र नभएर सिँगो पत्रकारिताको विकासमा बाधा पुगिरहेको छ ।
प्रदेश १ मा डिग्री लिने क्याम्पस नहुँदा सक्रिय पत्रकारिता गरिरहेका धेरै पत्रकारहरुले काठमाडौंका निजी महँगा कलेजहरूबाट डिग्री लिँदै आइरहेका छन् । केहीले काठमाडौं बसेर पढ्ने गरेका छन् । केहीले आफ्नो कार्यक्षेत्रबाटै अनलाइन कक्षा पढिरहेका छन् । आफ्नै प्रदेशमा पत्ररितामा डिग्री पढाइ भैदिएको भए सक्रिय पत्रकारहरुलाई पढ्नकै लागि सास्ती हुने थिएन । कम खर्चमा उनीहरुले आफ्नो पेशा धानेर पत्रकारितामा डिग्री लिन पाउने थिए ।
हाल प्रदेश १ मा विराटनगरको महेन्द्र मोरङ क्याम्पस, इटहरीको जनता र, जनता नमूना क्याम्पस धरानको महेन्द्र क्याम्पस र झापा विर्तामोडको मनोकामनालगायतका क्याम्पसमा स्नातकतहको पढाइ हँुदै आएको छ । साथै मधेश प्रदेशको सप्तरी जिल्लाको नेशनल पिपल्स क्याम्पसमा पनि पत्रकारितामा स्नातकतहको पढाइ हुन्छ । माध्यममिक तह ११ र १२ मा पत्रकारिता पढाउने विद्यालय र पढ्न चाहने विद्यार्थीको संख्या पनि दिनदिनै बढ्दो ।
यति धेरै क्याम्पसमा पत्रकारिता विषयमा स्नातक पढाइ भएपनि स्नातकोत्तर पढ्नका लागि भने पूर्वमा अझै क्याम्पसमा सुविधा उपलव्ध नहुनु बिडम्बना हो । देशमा संघीयता कार्यान्वयन भएको चार वर्ष बितिसक्दा पनि पत्रकारिता जस्तो प्रभावकारी विषयको स्नातकोत्तर अझै संघीय राजधानी काठमाडौंमा मात्र सीमित हुनु ठिक होइन । पत्रकारितामा स्नातकोत्तर पढ्ने क्याम्पस अभावमा विद्यार्थीहरुले महँगो खर्चमा काठमाडौ धाएर सरकारी र नीजि क्याम्पसमा भर्ना हुनुपर्ने बाध्यता हटाउन पनि प्रदेश १ मा पत्रकारितामा स्नातकोत्तर पढाइ अति आवश्यक छ ।
हुन त महेन्द्र मोरङ क्याम्पस विराटनगरको मानविकी संकायले विद्यार्थीको समस्या बुझेर पत्रकारितामा स्नातकोत्तर कक्षा सञ्चालनका लागि त्रिभुवन विश्वविद्यालयको केन्द्रीय कार्यालयमा शुल्कसहित आवेदन दिइसकेको बुझिएको छ । तर, त्रिविविले चाँही अझै अझै नदिएकोले स्नातकोत्तर कक्षा सञ्चालन गर्न नपाएको प्रष्टीकरण क्याम्पस प्रमुखको छ । शुल्कसहित डिग्री कक्षा सञ्चालनका लागि आवेदन दिइसक्दा अझै त्रिविविले अनुमति नदिनु भनेको स्नातकोत्तर पढ्न चाहने दर्जनांै विद्यार्थीको भविष्यमा खेलवाड गर्नु हो ।
आजकल पत्रकारितालाई नै क्यारियर (पेशा) बनाउने रुचि राखेर कक्षा ११ र १२ देखिनै विद्यार्थीहरुले पत्रकारिता पढ्न थालेका छन् । अरु विषयमा माध्यामिक तह पास गरेर स्नातक तहमा पत्रकारितामा भर्ना हुने विद्यार्थीहरुको आर्कषणपनि बढ्न थालेको छ । तर स्नातकोत्तर पढ्न पूर्वमा सुविधा नहुँदा विद्यार्थीहरु स्नातक तहमै पत्रकारिता विषय पढ्नका लागि हच्किने गरेका छन् । पूर्वमै पत्रकारितामा स्नातकोत्तर कक्षा संचालन भएमा स्नातक तहमा पत्रकारिता पढ्ने विद्यार्थीहरु थप आर्कषित हुनेछन् । जसले प्रदेशको पत्रकारिताको विकासलाई अगाडि बढाउन सहयोग गर्नेछ । यहाँ प्रकाशन प्रसारण भइरहेका पत्रपत्रिका, रेडियो, टिभी र अनलाइनहरुले शिक्षित दक्ष जनशक्ति उपयोग गर्न पाउनेछन् । जसले प्रदेशको पत्रकारितालाई थप गुणस्तरीय बनाउन सघाउने छ ।
पत्रकारिता सैद्धान्तिक मात्र नभएर सीपमुलक पढाइ हो । यसले तत्काल रोजगार प्राप्त गराउँछ । यसैले निम्न र निम्न मध्यम वर्गीय विद्यार्थीहरुको पत्रकारिताको उच्च शिक्षाप्रति आर्कषण बढिरेहको छ । पहिले आंैलामा गन्नुपर्ने पत्रकारिता पढेका पत्रकारहरु अहिले वर्षेनी बढ्नथालेका छन् । जसले पत्रकारितालाई अझै खोज अनुसन्धानमुलक बनाइरहेको छ । तर डिग्री लिन अझै महँगो खर्च गरेर काठमाडौं नै धाउनु पर्ने बाध्यताले चाँही रुची भएका र पत्रकारिता पेशा गर्न र सिक्न बुभ्mन चाहने विद्यार्थीमा विकर्षण पनि पैदा गराइरहेको छ ।
यसैले हाल स्नातक तहमा पत्रकारिता पठनपाठन गराइरहेको विराटनगरस्थित मोरङ क्याम्पसमा पत्रकारिताको स्नातकोत्तर कक्षा संचालन गराउनु अति आवश्यक छ । जसले नियमित विद्यार्थीलाई मात्र नभएर सक्रिय पत्रकारिता गरिरहेका पत्रकारलाई पनि अगाडि बढ्न सहयोग पुग्नेछ । यसैले अब पत्रकारिता जस्तो सीपमुलक शिक्षालाई संघीय राजधानीमा मात्र खुम्च्याएर राख्नुहँुदैन सबै प्रदेशमा त्रिविविले पत्रकारितामा स्नातकोत्तर पढाउने अनुमति दिनुपर्छ । यसबारे प्रदेश सरकारले पनि चासो दिन आवश्यक छ ।