विपक्षी दलको नेता हराएको सूचना !

 लीलावल्लभ घिमिरे

प्रदेश १ को प्रदेशसभा बैठक नबसेको चार महिना पूरा भएको छ । संसद भनेको जनताका आवाज बुलन्द हुने थलो हो । चार महिनादेखि प्रदेश १ का जनताको आवाज बन्द गरिएको छ । अर्को अर्थमा संसद प्रतिपक्षीहरुको प्रमुख थलोपनि हो । तर, दुर्भाग्य प्रदेश १ मा प्रुमख प्रतिपक्षी दल हराएको चार महिना भइसकेको छ । तीन वर्षसम्म एकलौटी शासन चलाएर सत्ताको स्वाद लिनुभएका कामरेडहरु यतिबेला हराउनु भएको छ । प्रदेश १ को प्रमुख प्रतिपक्षी दलको नेता को हो भनेर अलिकतिपनि राजनीतिमा चाख राख्ने मान्छेलाई प्रश्न ग¥यो भने उत्तर सहि आउँदैन ।

प्रदेश १ मा नेकपा एमाले प्रमुख प्रतिपक्षी दल हो त्यसका नेता भीमप्रसाद आर्चाय हुनुहुन्छ । प्रदेश राजधानीका सार्बजनिक समारोहमा मुख्यमन्त्री छोडेको भोलिपल्टदेखि उहाँको अनुहार देख्न पाएका छैनन् । यहाँसम्म कि टिभीका पर्दामासमेत उहाँलाई देख्न पाइदैन । पत्रकारका फोन उठाउने फुर्सद उहाँलाई छैन वा आवश्यक ठान्नुहुन्न । हुन त नेकपा एमाले प्रदेश १ को संसदीय दलको नेतामा शेरधन राईसँग पराजीत भएपछि पनि उहाँलाई प्रदेशसभाले पाएको थिएन । प्रदेश संसदमा उहाँले बोलेको रेकर्ड पाउन नै मुस्किल हुन्थ्यो । तर, ६७ दिन मुख्यमन्त्री हुँदा भने उहाँ सबैतिर छाउनु भएको थियो । त्यसपछि हराउनु भएको देख्न पाइएको छैन ।

यता गठबन्धन सरकारका मन्त्रीले प्रदेश राजधानी ढपक्कै ढाकेका छन् । तरकारी किन्न जाँदापनि मन्त्रीसँगै ठोक्किने डर छ । फेरि थप मन्त्री थपीने कुरा छ अरे ! प्रदेशका धेरैजसो काम सोचेजस्तो अघि बढ्न सकेका छैनन् । प्रदेशसभा बैठक नबसेको महिनौं भइसक्यो । कोरोनाको तेस्रो लहर आयो । तरपनि प्रमुख प्रतिप्रक्षी दलका सांसदहरुको उपस्थिी सार्वजनिक स्थानमा हैन मिडियामा समेत देख्न पाइएको छैन । केहि समय अघि प्रदेश १ का प्रथम मुख्यमन्त्री एमालेका नेता शेरधन राई एउटा टिभीको ग्ल्यामर शो मा देखिनु भएको थियो । उहाँलाई पनि प्रदेशतिरको चासो छैन । बजारमा उहाँ संघतिर जाने हल्ला भने आइरहेका छन् । यदि त्यसै हो भने शुभयात्रा भन्नुभन्दा अर्को शव्द छैन । हुन त हिजो सरकार चलाउँदा त्यसबेलाका प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले लगाएको गुन यतिबेला एमालेले तिरेको पनि हुन सक्छ ।

कुनैपनि देशको सरकार प्रमुख प्रतिपक्षी दल कमजोर भयोभने स्वेच्छाचारी बन्छ । प्रदेश १ मा पनि त्यसो नहोला भन्न सक्ने अवस्था छैन । तीन वर्षसम्म सात वटा मन्त्रालयले चलेको प्रदेशमा एकाएक १३ वटा पु¥याए । प्रमुख प्रतिपक्षी दल त्यहाँ देखिएनन् । युवा संघका केही तन्नेरीहरुलाई राजमार्गमा केही घण्टा उफार्ने कामभन्दा अरु केही भएको सुनिएन । सत्तामा बस्दा सबै ठेक्का लिएजस्तो गर्ने उनी सत्ताबाट बाहिरिएपछि हारेको सिपाहीले बन्दुक फ्याँकेर लम्पसार परेजस्तै एमालेको अवस्था देखिएको छ । वास्तवमा एमाले प्रदेश १ मा साँचीकै कम्जोर भएको हो कि सत्ता छोड्नु परेको पीडा बिर्सन नसकेको हो ? यसको उत्तर जनताले चाहेका छन् ।

सघीय राजधानीमा एमसीसीको रडाको चर्कीरहेको छ । सत्ता परिर्वतनका छाल उर्लिरहेका छन् । अब कांग्रेस एमालेको सत्ता समीकरण हुने हल्ला आउन थालेका छन् । एमालेले प्रधानमन्त्री शेरबहादुरलाई नै मान्ने र ६ मा ४ वटा प्रदेश एमालेले पाउनु पर्ने सर्त अघि सारेको खवर सुनिन थालेका छन् । यो हल्ला बढ्न थालेपछि अब कामरेडहरुको चाप प्रदेश राजधानीतिर बढ्न थाल्ने छ । सत्तामा पुग्ने हतार सबैलाई छ । मन्त्री नै बन्नु त ठूलो कुरा रहेनछ । यहाँ दुईतिहाइको एउटा पार्टीको सरकार भएको बेला त एक÷दुई सिट जित्नेहरु मन्त्री बनेका छन् । कल्पना नै नगरेका शेरबहादुर देउवा अहिले यो देशको प्रधानमन्त्री छन् । एमाले त प्रदेशमा सबैभन्दा ठूलो पार्टी हो । उसको पालो नआउने कुरै भएन । तर, यो भोलिको कुरा हो । अहिलको खोजी सत्ताको एमाले हैन जिम्मेवार प्रतिपक्षमा बसेको एमालेको खोजेको तर नपाइएको हो ।

प्रदेश १ को सदन कहिले बस्छ र सरकारले के गरिरहेको छ भन्ने प्रश्नको उत्तर जनताले एमालेसँग खोजिरहेका छन् । यसको उत्तर दिने प्रमुख पात्रहरु छाँयामा हुनुहुन्छ । उहाँहरुको प्रदेशप्रतिको मोह कम हो कि ? सत्ता अहिले आउँछ भनेर कुरी बस्नु भएको हो त्यो चाँही थाहा भएन । हुन त स्थानीय तहको निर्वाचन घोषणा भइसकेको छ । धेरै जना प्रदेशका माननीय ज्यूहरु नगरपालिकाको मेयरमा टिकट लिन दलमा लबिइङ गरिरहनु भएको खवरपनि आउन थालेका छन् । सायद यहाँभन्दा उता नै फाइदा बढी देख्नुभएको हुनसक्छ । मन्त्रालय र मन्त्री बढाएर संघीयता बलियो बनाउँछु भन्ने सत्तापक्ष र मुखमा पानी हालेर बस्ने प्रमुख प्रतिपक्ष तिमीहरु दुवैका यस्ता क्रियाकलापले संघीयता बलियो हैन कमजोर र संघीयताप्रतिनै वितृष्णा पैदा गर्दैछ । सबैमा चेतना भया !

आइतबार, ०८ फागुन, २०७८

प्रतिक्रिया:

सम्बन्धित खवर