विराटनगर । पाँच सय शैय्यासहितको सेवा सञ्चालन गर्न तथा अहिले भइरहेको जनशक्ति अभाव टार्न भन्दै कोशी अस्पतालले ६५ चिकित्सकसहित २ सय ५५ कर्मचारी थपिदिन सरकारसँग गरेको आग्रह स्वास्थ्य मन्त्रालयले वेवास्ता गरिरहेको छ ।
कोशी अस्पतालको यो प्रस्ताव स्वास्थ्य मन्त्रालय पुगेको छ । संघीय सरकार मातहतमा रहेको कोशी अस्पताल पाँच सय शैय्याको अस्पतालका रुपमा स्वीकृत गर्न माग राख्दै अस्पतालले भण्डै ६ महिनाअघि नयाँ संगठन, संरचना र दरबन्दी (ओएनएम) स्वीकृतिका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पठाएको थियो । यो विषयमा सरकारले अहिलेसम्म ध्यान दिएको छैन ।
अस्पतालको नयाँ ओएनएम अनुसार २ सय ५५ जनशक्ति तत्काल थप्नुपर्ने आवश्यकता देखिएको थियो । जसमा १ सय २ जना नर्स थप्न प्रस्ताव गरिएको छ २ जना सातौं र आठौं तहका नर्सिङ अधिकृत र १०० जना स्टाफ नर्स थप्ने प्रस्ताव छ । यसैगरी, ६५ जना चिकित्सक थप्न प्रस्ताव गरिएको दरबन्दी तेरिजमा १४ जना ११ औं तहका प्रमुख कन्सल्ट्यान्ट चिकित्सक थप्न प्रस्ताव गरिएको छ ।
यस्तै, नवौं दशौं तहका ३४ जना वरिष्ठ कन्सल्टयान्ट चिकित्सक र २० जना मेडिकल अधिकृत थप गर्न प्रस्ताव गरिएको छ । नयाँ संगठन संरचनामा २ जना नवौं र दशौंं तहका फिजियोथेरापिष्ट थप्न पनि प्रस्ताव छ भने तृतीय श्रेणीको कानुन अधिकृत पनि आवश्यक रहेको भनिएको छ ।
अन्य विभिन्न पदमा पनि अस्पतालले तत्काल आवश्यक पर्ने जनशक्ति ओएनएममा प्रस्ताव गरेर स्वास्थ्य मन्त्रालयलाई पठाएको छ । अस्पताल ५ सय शैय्यामा स्तरोन्नति गर्ने र अन्य सेवाहरु विस्तार गर्ने तयारी स्वरुप तत्काल जनशक्ति थप गर्नुपर्ने अस्पताल नेतृत्वको भनाइ छ । ‘हामीले नयाँ ओएनएम गरेर पठाएको झण्डै ६ महिना भइसकेको छ,’ हालै कोशीको मेडिकल सुपरिटेन्डेन्टबाट इडिसिडीको निर्देशकका सरुवा भएका कोशीका निवर्तमान मेसु डा. चुमनलाल दासले भने, ‘नयाँ सेवा प्रवाहका लागि हामीले २ सय ५५ जनाको दरबन्दी तत्काल थप गर्न माग गरेका हौं ।’ उनका अनुसार अहिले नै पनि अस्पतालका थुप्रै दरबन्दी रिक्त रहेकाले काम गर्नमा कठिनाई भइरहेको छ ।
कोशी अस्पतालमा नयाँ मेडिकल सुपरिटेन्डेन्ट डा. यज्ञ खरेलले आफूहरुले नयाँ ओएनएम स्वास्थ्य मन्त्रालयमा पठाएको बताउँदै यसबारेमा आफू अध्ययनकै क्रममा रहेको जानकारी दिए । अहिले कोशी अस्पतालमा ११ औं तहका १ मेडिकल सुपरिटेन्डेन्ट, १ जना प्रमुख अस्पताल नर्सिङ प्रशासकको दरबन्दी छ ।
यस्तै, ११ औं तहका १६ जना प्रमुख कन्सल्ट्यान्ट चिकित्सक र १ जना प्रमुख मेडिकल ल्याब टेक्नोलोजिष्टको दरबन्दी छ । यसैगरी २३ जना मेडिकल अधिकृत ३ जना, डेन्टल सर्जन ४ जना, नर्सिङ अधिकृत ६१ जना स्टाफ नर्ससहित विभिन्न पदमा गरी कुल २ सय ४९ जना कर्मचारीको दरबन्दी कोशीमा छ । तत्काल थप्नका लागि प्रस्ताव गरिएको नयाँ दरबन्दी पास भएर लागू भए कोशी अस्पतालमा कर्मचारी संख्या ५०३ पुग्नेछ । हाल कोशीमा ३ सय ५० शैय्याबाट उपचार सेवा प्रवाह भइरहेको छ ।