हाम्रो कलम र पेशामाथि उठेको प्रश्न

 विमल लामिछाने

पछिल्लो समय झापालगायत देशभरका धेरैजसो जिल्लामा पत्रकारमाथि प्रश्न उठेका छन्, औंला ठडिएका छन् र ठाडो प्रहार हुन थालेको छ । हामीले अब यी उठेका आंैला र कलममाथि उठेका प्रश्नको जवाफ कलमले नै दिनुपर्छ । हाम्रो कलम र पेशामाथि प्रश्न उठ्नुको सोझो अर्थ हो । हामो कलम ढल्मलाएको छ । हामी कतै न कतै चुकेका छौं । अब कलमको ‘नीभ वास’ गर्न सक्नुपर्छ, हामीले पत्रकारितालाई शुद्धिकरण गर्न आवश्यक छ । झापाको सन्दर्भमा बी एण्ड सी प्रकरण होस् या जोरसिमलदेखि यादव पौडेल घटना किन नहोस् वा भन्सार, मालपोत र सीमानाकासँग जोडिएका विभिन्न घटनाक्रम नै किन नहुन् यी घटनाक्रमले सिंगो पत्रकारिताको इमान्दारिता र नैतिकतामाथि प्रश्न अवश्य उठाएको छ ।

वी एण्ड सीको सन्दर्भमा तथ्य के हो त्यो महासंघले अध्ययन र अनुसन्धान गरेर प्रतिवेदन ल्याउला, तर समय समयमा हाम्रो कलम र पेशामाथि लागेका आरोपले हामीलाई अपहेलित गर्नुका साथै मुख छोपेर हिड्नुपर्ने अवस्थामा पु¥याएको छ । मुख्य विषय पत्रकारलाई समाजले आज किन गाली गर्दैछ ? समाज परिवर्तनमा अनुयायीको एक हिस्सा मानिने पत्रकारिता दूषित छ । अहिलेसम्म यसलाई शुद्ध बनाउने प्रयास भएपनि त्यो आदर्शवादी नारामात्रै बन्नपुग्यो । गलत गर्नेलाई दण्डित गर्न नसक्दा एकातिर थप समस्या बढ्दै गएको छ भने अर्कोतिर हाम्रो कलमलाई उद्यमी, ब्यावसायी, ठेकेदार वा कुनै संस्थाले किनिदिएका छन् । हामी दिनानु दिन कोही तेस्रो पक्षमार्फत बेचिइरहेकै छौं । अनि अब हामीले यी आरोप र अपहेलनाबाट मुक्ति पाउन तथ्यको खोजी गर्न अत्यावश्यक भएको छ ।

पछिल्ला उदाहरणको रुपमा आएका घटनाक्रमहरुको सत्य तथ्यको खोजी गरेर यथार्थ बाहिर ल्याउने हो भने इमान्दार पत्रकार र सञ्चारमाध्यमका लागि अघि बढ्ने र भविश्यको योजना बनाउन त्यो नयाँ शिक्षा बन्न सक्छ । अन्यथा, पत्रकारिता बद्नाम र दुर्नाम पेशा बन्ने निश्चित छ । पत्रकारले राज्य र सरकारलाई जिम्मेवार बनाउन पारदर्शिताको प्रश्न गर्ने गर्छ । सरकार सञ्चालन गर्नेहरुलाई पारदर्शिताका लागि घच्घच्याउँछ । सार्वजनिक सरोकारका ओहदामा बस्नेमाथि प्रश्न वर्षाउँछ । यसले ती व्यक्तिलाई जिम्मेवार र पारदर्शी बनाउनमा मद्दत पुग्छ । तर पत्रकार स्वयम् कति पारदर्शी छन् भन्ने जिज्ञासा नागरिकबाट उठ्छ । त्यसको जवाफ पत्रकारले दिँदैन किन ? के पत्रकारले जे गर्दापनि हुन्छ त ? त्यसो होइन । पत्रकार आफू पनि जिम्मेवार र पारदर्शी हुनैपर्छ ।

एउटा बिराउने शाखा पिराउने भनेझंै झापाका पत्रकारले पटक पटक निन्दा, गाली, अपमान र बेइज्जतीका शिकार हुनुपरेको तथ्य छिपाउन सकिन्न । हुन त सबैलाई एउटै डालोमा राखेर हेर्नु पनि हुँदैन तर, पत्रकारितामा अराजकता र विकृती मौलाउँदै गएको अवश्य छ, विश्वसनीयतामा प्रश्न उठ्न थालेको छ, यसको पनि गुणस्तर मापन गर्नुपर्ने बेलाआएको छ ।

पत्रकारका मत र मन, धारणा विभाजित हुँदा समाजमा सही सूचना सम्प्रेषण हुन सकिरहेको छैन, हामी आरोपका भागिदार बन्नु परिरहेकै छ । अरुलाई बाटो देखाउने पक्ष नै विभाजित भइदिंदा समाजले सही बाटो पकड्न सकिरहेको छैन । पत्रकार पत्रकारिता बेलगाम घोडाजस्तो नहोस् भनेरै पत्रकार आचारसंहिता बनेको हो । तर, त्यसको पूर्ण कार्यान्वयन छैन । पेशा बचाउने र पत्रकारितामा बेला बेलामा देखिने गरेका कालादाग हटाउने हो भने सबैले आचारसंहिता र इमान्दारिताको हेक्का राख्नैपर्छ । पत्रकारिता क्षेत्रमा देखिएका समस्या समाधान गर्न महासंघ, सरकार र सम्बन्धित सरोकारवाला संघ संगठनहरु प्रतिवद्ध हुन जरुरी छ ।

अर्को तर्क पनि छ, राजनीतिक रंगबिनाका पत्रकार मुस्किलले मात्रै भेटिन्छ, पत्रकारले राजनीति गरेपछि पत्रकारिता बिग्रियो । तर त्यसो होइन, समाज नै वर्गीय भएपछि समाजमा वर्ग हुनु स्वाभाविक नै हो । त्यही वर्गीय समाजको राजनीतिबाट हामी पूर्ण मुक्त हुने कुरै भएन ।
प्राकृतिक विपत्ति, महामारी वा अन्य कुनै आर्थिक संकट आइपर्दा न्यून तलबमा काम गर्ने पत्रकारहरू नै मालिक, हाकिम वा व्यवस्थापकको कोपभाजनमा पर्ने गरेका छन् । अभैmपनि श्रमजीवि पत्रकारले रोजगारी, पारिश्रमिक, नियुक्ति पत्र, तोकिएको तलव–भत्ता पाएका छैनन् । यस्तो अवस्थामा कुनैपनि श्रमजीवि पत्रकार झट्ट पेशा छोडेर भागिहाल्न पनि सक्दैन, सामना गरेर नियम ऐन अनुसारको तलव लिनपनि सक्दैन, यो परिस्थितिमा कसै–कसैले बाटो बिराएर विज्ञापनलाई समाचार बनाइदिने र अरु कुनै विधिमा चाकडी गर्न बाध्य भएका घटनापनि हाम्रासामु समस्या बनेर छँदैछन् ।

अर्कोकुरा विभिन्न पेशा व्यवसायमा संलग्न तथा सल्लाहकार भएर कन्सल्टेन्ट भएर काम गर्नेहरू आफूलाई किन पत्रकार भनाउन चाहन्छन् ? आदर्शका कुरा एकातिर छ तर पत्रकार हुँ भन्दै हिँड्ने पनि पत्रकार के कति अन्य पेशा व्यवसायमा संलग्न छन्, कति समय पत्रकारिता गर्छन् र कति समय अन्य पेशा व्यवसाय गर्छन् । यीनले पत्रकारिता पेशालाई कति दुर्नाम गरेका छन् । समाजले भनेको पत्रकारिता र पत्रकारहरूले गरिरहेको पत्रकारिताबीच के अन्तर छ ? पत्रकार आफंै पनि कति व्यवसायिक छन् र कति पत्रकारिता मात्रै गर्छन् त्यो पनि खोजीको विषय बनाउनुपर्छ ।

पत्रकारिता जनउत्तरदायी हुनुपर्छ हामीले भन्दै आएका छौं । हाम्रो पत्रकारिताले पूर्ण रुपमा जनउत्तरदायी व्यवहार देखाउन पाएको छैन । पत्रकारले सम्पादन गरेका, छापेका वा प्रसारण गरेका समाचार वा विचार सामग्री तथ्यगत हुनुपर्छ, पक्षपातरहित हुनुपर्छ । त्यसो हुन, पत्रकार स्वयं र उसका संस्थाको हात सर्वोपरी हुन्छ भन्ने कुरालाई ध्यानमा राख्तापनि त्यतातिर लाग्ने प्रेरणा जीवित रहन्छ । विशुद्ध जागिरे वा व्यापारिक घरानाको पत्रकारितालाई स्वच्छ र जनउत्तरदायी बनाउनु फलामको च्युरा चपाउनुजस्तै हो, विशुद्ध स्वतन्त्र र बिनाजागिरे वा कसैको भरथेगबिनाको पत्रकारिता सम्भव देखिँदैन । तर, पत्रकार र लेखक स्वम् सचेत रहेर कलम चलाउने र कुनै व्यक्ति, विचौलीया वा संस्थासँग नबिक्ने हो भने पत्रकारितालाई स्वछ भने अवस्य बनाउन सकिन्छ ।

शुक्रबार, ०६ फागुन, २०७८

प्रतिक्रिया:

सम्बन्धित खवर