सर्पको टोकाइमा किन धेरै महिला पर्छन् ?

हरेक वर्ष ४० हजार हाराहारीका तराईका मानिसलाई सर्पले डस्ने गरेको छ

विराटनगर । राजनीतिक, आर्थिक, सामाजिक हरेक हिसाबले पछाडि पारिएका महिला नै नेपालमा सर्पको आक्रमणमा पनि सबैभन्दा धेरै पर्ने गरेको एक तथ्यांकले देखाएको छ ।

सर्पको डसाइसँग महिलाको आर्थिक, सामाजिक र राजनीतिक अवस्थाको साइनो पनि हुनेरहेछ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्राध्यापक डा.सन्जीवकुमार शर्मा नेतृत्वको एउटा अनुसन्धान टिमले निकालेको निश्कर्ष हो, यो ।

स्वास्थ्य सम्बन्धि विश्वप्रसिद्ध जर्नल ‘द लेन्सेट ग्लोबल हेल्थ’ को यसपटकको अंकमा नेपालको सर्पदंश समस्याबारे विस्तृत रिपोर्ट सार्वजनिक भएको छ । नेपालमा प्रमुख अनुसन्धानकर्ताका रुपमा रहेका शर्माको समेत संलग्नतामा लेखिएको उक्त रिपोर्टसहितको जर्नल मंगलबार लण्डन र जेनेभाबाट एकैसाथ सार्वजनिक भएको छ ।

सन् २०१८ देखि स्विस नेपाल फाउन्डेसनको सहयोगमा विश्वभरका विभिन्न सर्पदंश विषेशज्ञ एवम् अन्य चिकित्सकको सहकार्यमा नेपालको तराईका जिल्लाहरुमा अध्ययन भएको थियो । जर्नलमा प्रकाशित तथ्यांक अनुसार सन् २०१८ यता नेपालमा हरेक वर्ष तराईमा मात्रै करिब ४० हजार व्यक्तिलाई सर्पले टोक्ने गरेको छ । ‘हरेक वर्ष ४० हजार हाराहारीका तराईका मानिसलाई हरेक वर्ष सर्पले डस्ने गरेको छ,’ उक्त रिपोर्टका समेटिएको तथ्यांकबारे जानकारी दिँदै डा.शर्माले भने ‘त्यसमध्ये हरेक वर्ष २ हजार ३ सय ८६ देखि ३ हजार २ सय २५ जनाको मृत्यु हुने गरेको छ ।’ त्यसमा सबैभन्दा धेरै संख्या महिलाको हुने गरेको छ ।

‘नेपालमा घरभन्दा गर्ने, घाँस दाउरा गर्नेदेखि खेतबारीमा धेरै हेलमेल हुने संख्या महिलाकै रहेछ,’ शर्माले भने ‘त्यसैले उनीहरु नै बढी सर्पको डसाईमा पर्दा रहेछन् । त्यसमध्ये धेरैले उपचार नपाएका कारण ज्यान गुमाउनु परिरहेको भेटिएको छ ।’

विपी प्रतिष्ठानको मेडिसिन विभागका प्राध्यापक डा.शर्मा मधुमेह र मुटुरोग विशेषज्ञ पनि हुन् । नेपालको सर्पदंश क्षेत्रमा लामो समयदेखि अध्ययन–अनुसन्धान पनि गरिरहेका उनको नेतृत्वको टिमले चार वर्षमा तराईका जिल्लाहरुमा मात्रै अध्ययन गरेको थियो । यो तथ्यांकमा पहाडी जिल्लाको संख्या समावेश छैन ।

अनुसन्धानमा संलग्न टिमले निकालेको निष्कर्ष अनुसार तराईमा गर्मी सुरु भएपछि सर्पको सक्रियता सुरु हुने गर्छ । ‘जाडोमा सर्पले तापक्रम मेन्टेन गर्न सक्दैन, त्यही भएर गर्मी लागेपछि बढी बाहिर निस्कन्छ,’ शर्माले भने ‘उसको सक्रियता मनसुनमा सबैभन्दा धेरै हुन्छ ।’

लगातारको झरीले सर्प लुक्ने प्वालहरुमा पानी भरिन्छ । पानी भरिने भएपछि सर्प सुरक्षित बासस्थलको खोजीमा मान्छेको घरआँगनतिर बढी पुग्छन् । त्यहीबेला सबैभन्दा धेरै मानिस सर्पको आक्रमणमा पर्छन् ।

‘तराईका ग्रामीण भेगमा सर्पदंश बढी हुन्छ । गाउँका मानिस, जो खेती किसानी गर्नुहुन्छ, जंगल जानुहुन्छ, घाँस दाउरा गर्नुहुन्छ,गाईवस्तु चराउनुहुन्छ, उहाँहरूको जीवनमा सर्पसँग जम्काभेट हुने अवस्था धेरै आउँछ । सर्पले डस्ने खतरा हुन्छ,’ डा. शर्मा भन्छन्, ‘अर्कोतिर राति सुतिराखेको ठाउँमा पनि करेतजस्ता सर्पले टोक्छन् । निदाएको बेला हातखुट्टा चलाउँदा छोइएर सर्पलाई चोट लाग्यो भने सर्पको डस्ने सम्भावना बढी हुन्छ ।’

जर्नलमा प्रकाशित रिपोर्ट अनुसार नेपालको तराई भूभागमा पाइनेमध्ये मुख्यतः गोमन र करेत सर्प बढी विषालु छन् । त्यसमध्ये गोमनको सक्रियता साँझ र बिहान अनि करेतले राति बढी टोक्ने गरेको छ । करेत सर्प दिउँसो निष्क्रिय रहन्छ । जब राति हुन्छ, करेत आहाराको खोजीमा मान्छेको घरतिर पस्ने गर्छ । मुसा करेतको मुख्य आहारा हो । ‘जतिसुकै विषालु सर्पले पनि भोक लागेर डस्न आउने होइन, ’ डा. शर्मा भन्छन् ‘आफूलाई सुरक्षा खतरा देख्यो भने मात्रै डस्ने हो ।’

नेपालमा सर्पदंश पीडितले समयमा सही उपचार नपाएकै कारण मृत्यु् दर बढेको निष्कर्ष उक्त अध्ययनको छ । धेरैलाई राति सुतेकै ठाउँमा सर्पले डस्छ । कतिलाई घरको काम गर्दागर्दै डस्छ । घाँस दाउरा, भकारोको काम गर्दागर्दै, धान रोप्दै गर्दा वा खेतीमा अर्को कुनै काम गर्दा गर्दै डस्छ, जुन कुरा पीडितले बेलैमा थाहै पाउँदैनन् । ‘यसरी थाहा नपाएपछि उपचार हुने कुरै भएन,’ डा. शर्माले भने ‘फेरि जहाँ सर्पदंशको उपचार हुन्छ, त्यहाँ पर्याप्त उपकरणहरु पनि उपलब्ध छैनन् ।’

उनका अनुसार सर्पले डस्दा स्नायु प्रणालीमा असर हुन्छ । त्यसपछि श्वासप्रश्वासमा असर पर्छ । ‘अहिले हाम्रोमा धेरै ठाउँमा कि आर्मीकोमा , कि रेडक्रसमा र कि ठूला अस्पतालमा मात्रै सर्पदंशको उपचार हुन्छ,’ डा. शर्माले थपे ‘रेडक्रसको र आर्मीको उपचारस्थलमा कृत्रिम श्वासप्रश्वासको प्रबन्ध हुँदैन । त्यसले पनि धेरैको ज्यान गइरहेको छ ।’

यसबाहेक सर्पदंशका विरामीको उपचार गर्न चिकित्सकहरु हच्किँदा पनि मानवीय क्षति बढी भइरहेको छ । विषालु सर्पको टोकाइबाट स्नायु प्रणालीमा असर गर्ने र त्यसले गर्दा आँखाको लोतीमा प्यारालाइसिस भएर नचल्ने हुन्छ । मुख, जीब्रो, घाँटी, गर्दन र फोक्सो चलाउने मांसपेशी प्यारालाइसिस हुँदै गएपछि श्वास फेर्नै नसकेर बिरामीको मृत्यु हुने र त्यस्तो बेलामा कृत्रिम श्वासप्रश्वास जरुरी पर्ने उनको भनाइ छ ।

हिउँदमा तिखो जाडो, निरन्तरको शीतलहर अनि गर्मीमा अचाक्ली तातो नेपालको तराईको मौसमी विशेषता हो । अहिले जाडो बिस्तारै घट्दै र गर्मी पनि त्यही रफ्तारमा उकालो लाग्नेक्रममा छ । जब गर्मी चढ्दै जान्छ, तराईलाई तातोले मात्रै होइन सर्पको बिगबिगीले पनि सताउने गर्छ । नेपालको तराई क्षेत्रमा सर्पले सताउने र त्यसले निम्त्याउने क्षति लगातार बढ्दै गएको डा. शर्मा नेतृत्वको टिमको निष्कर्ष छ । यसबाहेक पशुपंक्षीको पनि सर्पदंशकै कारण हरेक वर्ष ठूलो क्षति हुने गरेको अध्ययनको निष्कर्ष छ ।

जोगिने उपाय

डा. शर्माका अनुसार सर्पदंशबाट जोगिन सतर्कता अपनाउन सकिन्छ । खासगरी विषालु सर्पको डसाईबाट जोगिन तिनको आक्रमणबाट जोगिने उपाय अवलम्बन गर्न सकिन्छ । ‘गोमन र करेतको दाँत छोटो र सानो हुन्छ । त्यसैले सकिन्छ भने लुगा अनि जुत्ता लगाएर हिँड्ने गर्नु पर्छ,’, शर्माको सुझाव छ ‘ खेती किसानी गर्दा यो व्यवहारिक हुँदैन होला तर पनि सकेसम्म ख्याल गर्नुपर्छ । राति हिँड्दा बत्ती बालेर,टर्च लाइट लिएर हिँड्नु पर्छ । जंगलतिर जाँदा लट्ठीले ठ्याकठुक पारेर हिँड्नपर्छ । त्यसरी हिँड्यो भने जोगिन सकिन्छ । मुसा बस्ने प्वालहरूमा हात छिराउनु हुँदैन । ढुंगाहरू पल्टाउँदा ख्याल गर्नुपर्छ । गाउँघरमा त कोही बेला सिरानीमूनि, जुत्ताभित्र पनि सर्प बसेको हुन्छ । राति सुतेको बेला झुल लगाउनु पर्छ ।’

शंकास्पद अवस्थामा वेवास्ता नगर्न पनि उनको सुझाव छ । ‘उपचारस्थलमा जतिसक्दो चाँडो पुग्नु सर्पदंशबाट जोगिने एक मात्र विकल्प हो,’ उनले भने ‘यसका लागि सदैव सचेत रहन सकियो भने मानवीय क्षति घटाउन सकिन्छ ।’

बुधबार, ०४ फागुन, २०७८, बिहानको १०:५७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर