एलिना दियाली
प्रविधिको तीब्र विकाससँगै आजभोलि प्रायः सबैको हातमा स्मार्ट फोन देख्न सकिन्छ । सामाजिक सञ्जालको प्रयोगले विश्व नै एउटा गाउँ झै भएको छ । फोनको प्रयोगसँगै विगतमा जस्तो चिठीपत्रहरु लेखिन छोडिए । माया नै मायाले भरिएका सायरी मिश्रित पे्रमिल प्रेम पत्रहरु सामाजिक संजालले विस्थापित भए ।
मेरो घर नजिकैकी बहिनी सामाजिक संजाल फेसबुकमा करिब चार वर्ष अघि साथी भइन् । कहिलेकाँही कुरा पनि हुन्थ्यो । मभन्दा ५ वर्ष कान्छी उनी मलाई दिदी भनेर सम्बोधन गर्थिन् । म पनि आफ्नै बहिनी झैँ नानी भनेर बोलाउँथे ।
समय बित्दै गयो । उनी प्रेममा रहेको कुरा फेसबुकमा ‘तिमी मेरो राजा, म तिम्रो रानी यसरी नै बितोस्, हाम्रो जिन्दगानी’ भन्ने स्टाटसबाट थाहा भो । केहि समयपछि आफ्ना प्रेमिसँगको युगल तस्विर र टिकटक पोस्ट गर्न थालिन् ।
बहिनीसँग एकताका म्यासेन्जरमा कुरा हुँदा उनलाई नानी आजभोलि जोकोहिको भर हुन्न, कसैको त्यति धैरे विश्वास नगर्नु है भनेर म्यासेज गरेको थिँए । बहिनीले प्रतिउत्तरमा भनेको अहिले नि सम्झिन्छु, ‘मेरो प्रेमी शिशिर त्यस्तो हुनुहुन्न ।’
मैले तिम्रो प्रेमी खराब भन्न खोजको हैन । तर, कसैको विश्वास त्यति धैरै नगर्नु ताकि भोलि पछुताउनु परोस् भन्ने मेरो सुझाब थियो । तर, मेरो कुरा मन परेन क्यार, बहिनी निकै लामो समयसम्म बोलिनन्न् ।
पछि मैले नै म्यासेज गरे नानी तिमी रिसाएकी हो ? भनेर सोध्दा, हैन ब्वाईफ्रेन्डलाई टायम दिनप¥यो, अलि बिजी हुन्छु भन्ने जवाफ दिइन् । मैले आफ्नो ख्याल राख्नु, केटा कस्तो छ अलिक बुझेर सम्बन्ध अगाडि बढाउनु है नानी भनेको थिएँ । हुन्छ, भन्ने छोटो प्रतिक्रिया दिँदै उनी अफलाईन भइन् । त्यति धेरै कुरा नभएपनि मेरा हरेक पोष्टमा कमेन्ट, लाईक गरिरहन्थिन् ।
उनको पनि कहिले प्रमिसँगका तस्विर त कहिले प्रेमिसँगका टिकटक पोष्टहरु आईरहन्थे । लाग्थ्यो दुबै जना एकअर्कालाई औधी प्रेम गर्छन् । उनीहरु जति खुसि सायद अरु कोहि छैन दुनियाँमा ।
एकले अर्कालाई मज्जाले बुझ्छन् जस्तै देखिन्थे । चखेवाको जस्तै देखिने सुन्दर जोडी । सामाजिक संजालतिर पोष्ट भएका स्टाटससहितका तस्विर र टिकटक भिडियो हेर्दा लाग्थ्यो जिन्दगीभर एकले अर्कालाई जीवनको उतराद्र्धसम्म साथ दिनेछन् । प्रेम गर्नेछन् । बहिनीले करिब चार महिनापछि म्यासेन्जरमा म्यासेज पठाईन्, ‘दिदी म एकदम तनावमा छु ।’
मैले सोधे, ‘के भयो र ?’
‘मैलै दिदीलाई आफ्नै दिदी सम्झेर हजुरलाई सेयर गरेको, कसैलाई सेयर गर्न सकिन । म के गरुँ ? हजुरले त पहिले नै भन्नुभएको थियो, अतिविश्वास नगर्नु भनेर । तर, मैले तपाईको कुरा सुनिन । आज आएर पश्चाताप लाग्यो ।’ यस्तै यस्तै १०÷१२ वटा म्यासेज गरिछन् । मैले केहि बुझिन । खास तिमीलाई भएको समस्या के हो भनेर सोधें ।
‘खास कुरा नि दिदी, म शिशिरसँग प्रेम सम्बन्ध रहेको कुरा त सारा मेरा फेसबुकका साथी र टिकटक युजरहरुलाई थाहा छ । जब उसँग टिकटकमा भेट भयो । लगत्तै फेसबुकमा साथी भयौँ । नम्बर साटासाट भयो । टिकटकबाट सुरु भएको सम्बन्ध इन्स्ट्राग्राम, भाईबर, म्यासेन्जर, वाटस् एप, ईमो सबै संजालमा जोडियो । एक न एक माध्यममा कुरा भैरहन्थ्यो । लाग्थ्यो उ नै मेरो संसार हो । उसँग केहि कुरा लुकाईन । मेरो सबै सामाजिक संजालको पासवर्ड दिए । उसले भनेको समयमा भेट्न गए । बाआमालाई साथीसँग बस्या छु भन्दै उसँग शारिरीक सम्बन्धमा रहें’ उनले भनिन् ।
उनको कुरा सकिएको थिएन । ‘उसले मलाई यसरी ब्ल्याकमेल गर्ला । मलाई यस्तो अवस्थामा ल्याएर छोड्ला कहिल्यै कल्पना गरिनँ । मेरा नग्न तस्विरहरु उसले मैले थाहा नपाई लिएछ । तस्विर सामाजिक संजालमा पोष्ट गर्ने धम्की दिँदै जस्तोसुकै अवस्थामा पनि उसलाई भेट्न पर्ने स्थिती बन्न थाल्यो । उसँग शारिरीक सम्बन्ध नचाहेर पनि राख्नपर्ने भयो । मलाई ब्ल्याकमेल गर्न थाल्यो । तर, पनि मसँग जिस्केको सोचेर, उसमा परिर्वन आउला सोचेर सम्बन्धमा रहिरहेँ’ उनले भनिन्, ‘अहिले पेटमा चार महिनाको बच्चा छ । सबै कुरामा मलाई ब्लक गर्या छ । कहिलेकाँही अपरिचित नम्बरबाट कल गरेर बच्चा फाल्न धम्की दिन्छ । नफाले मेरा नग्न तस्विर सामाजिक संजालमा पोष्ट गर्ने धम्की दिन्छ । हिजो को शिशिर र आजको शिशिरमा आकाशपाताल फरक छ ।’
उनको पीडा सकिएको थिएन, ‘उ शिशिर हैन, अरु कोहि जस्तै भाछ । समाजले थाहा पाए बा आमाको इज्जत जान्छ । साराले थुक्छन् मलाई । म के गरुँ ?’
बहिनीको म्यासेजले एकदम नराम्रो लाग्यो । मैले तत्काल उनलाई रिप्लाई गरे, ‘नानी पिर नगर । जे नुहुनु थियो, त्यहि भयो । अब उसलाई कानुनी कारबाही गर्नुपर्छ । अहिले रात धैरे बित्यो सुत ल ।’ रात्रीकालीन प्रहर भएकोले कसैलाई कल गर्ने हिम्मत गरिनँ । निदाउन गरिएका कैयौँ प्रयासहरु असफल भए ।
बहिनीको कुराले यति दिमाग हल्लायो की मान्छे किन मायाको नाम लिएर यतिसम्म निच बन्छ ? यहि सोच्दासोच्दै उज्यालो भयो । फेरि म्यासेन्जरमा गएर बहिनीसँगको च्याट हेरे । साँझको म्यासेज पनि सिन छैन ।
हतारहतार कल गरे । म्यासेन्जरमा अफलाईन रहिछन् । उनका अन्य साथी कोहीसँग नम्बर होला भनेर म्युचल साथी हेर्न उनको फेसबुक वाल हेरे । स्नेहा नाम की एक साथीले लेखेकी रहिछन्, ‘प्रीय साथी, किन यस्तो निर्णय गरेउ ?’ म झसंग भएँ । जे नहोस् भन्ने थियो, त्यहि भइसकेछ ।
‘तिम्रो भ्यालेन्टाइन डे बाट सुरु भएको सम्बन्धले ५ महिना नबित्दै तिम्रो ज्यान लियो ।
यो के भयो ? तिमीसँग बिताएका पलहरु सधैँ स्मृतिका पानामा रहिरहने छौं । तिम्रो आत्माले शान्ति पाओस् । अलविदा !’ स्टाटससहित आँशु भएको स्टिकर पोष्ट गरेर ट्याग गरेकी रहिछन् । मेरा हातहरु काँपे श्रद्धाञ्जली लेख्न सकिनँ । जिउ पुरै चिसो भयो । अहिले सम्झिँदा पनि होस उडे झैँ हुन्छ ।
उनका अभिभावकलाई प्राण प्रिय छोरीलाई गुमाउनु पर्दा कस्तो भयो होला ? त्यो त कल्पना पनि गर्न सकिनँ । औधी माया गर्लान् एकअर्कालाई जस्तै देखिने ति तस्विर र टिकटक भिडियो सब मिथ्या थिएछन् । हाँसोमिश्रित युगल तस्विरहरु भ्रम साबित भए ।
बहिनीको जस्तै अन्य लाखौँ बहिनीले ज्यान गुमाउन नपरोस् । तपाईको प्रेम तपाई स्वयम्लाई घातक नबनोस् । कसैलाई यति धेरै पनि विश्वास नगर्नुस ताकी पछि पछुताउनु नपरोस् । सोचेर निर्णय गर्नुस् र अघि बढ्नुस् । तपाईका लागि एक दिनको भ्यालेन्टाइन डेले मानसिक तनावसँगै मृत्युतर्फ नडोहोर्याओस् । शुभकामना !