प्रविण पोखरेल
बि.सं.२०५२ साल फागुन १ गते तत्कालीन नेकपा (माओवादी) ले ‘राजनीतिक शक्ति बन्दुकको नालबाट निस्किन्छ’ भन्ने मान्यताका साथ सशस्त्र जनयुद्ध सुरु गरेको थियो । १९ दिने जनआन्दोलनको समापनसँगै जनयुद्धका गतिविधिहरु मत्थर भएपनि विधिवत् रुपमा सशस्त्र जनयुद्ध २०६३ साल मंसिर ५ गतेको विस्तृत शान्ति सम्झौताबाट अन्त्य भयो । नेपालमा २००७ साल र २०४६ सालको आंशिक लोकतान्त्रिक क्रान्तिपछि पनि राजतन्त्र, सामन्तवाद, एकात्मक राज्यसत्ता, पितृसत्तावाद लगायत जबर्जस्त रूपमा कायमै छन् । मध्ययुगीन सामन्तवादका यी अवशेषलाई समूल नष्ट गरेर देशमा संघीयता र समावेशी लोकतन्त्रसहितको पुँजीवादी लोकतान्त्रिक क्रान्ति सम्पन्न नगरेसम्म देशको आर्थिक विकास र राष्ट्रिय स्वाधीनताको रक्षा सम्भव छैन भन्ने तत्कालिन ने.क.पा. (माओवादी)को निश्कर्ष थियो ।
पार्टीका तत्कालिन झापा जिल्ला इञ्चार्ज क.चतुरमान सिंह राजवंशीले २०५६ साल ताका मेरो आफ्नै घर दमकमा राति ९ बजेदेखि शुरु भएको प्रशिक्षणमा त्यहि उल्लेख गरेका थिए । त्यसताका मेरो घरमा जनादेश नाम गरेको पत्रिका बोकेर क.पिके (पृथ्वी कार्की) सर आउनुहुन्थ्यो । उहाँ दमकमा रहेको ग्लोबल एजुकेशन फाउण्डेशनको शिक्षक हुनुहुन्थ्यो । राति घण्टौंसम्म मान्छे जम्मा गरेर देश, जनता, आन्दोलन, क्रान्तिको कुरा हुन्थ्यो ।
माओवादलाई पथप्रदर्शक सिद्धान्त मान्दै तत्कालिन नेकपा (माओवादी) को पहल र नेतृत्वमा भएको महान् जनयुद्धमा सहभागी भई नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने र त्यसलाई समाजवाद हँुदै वैज्ञानिक साम्यवादसम्म पुर्याएर सम्पूर्ण मानव समुदायलाई नै सबै प्रकारका शोषण, दमन र उत्पीडनबाट मुक्त गराउने रहर ममा पनि जाग्यो । क्रमश कमरेडहरुसँगको संगत बढ्दै गयो । कोणसभा, र्याली, मशाल जुलुश लगायतका कार्यक्रमहरुमा सहभागी हुँदै गईयो । समय प्रतिकुल बन्दैगयो । अन्ततः २०५८ साल वैशाख २ गतेबाट पूर्णकालिन कार्यकर्ता भईयो । पूर्णकालिन कार्यकर्ता भएसँगै क.लखन (तारा रिजाल, जो भारतको सिलिगुडीबाट गिरफ्तार भई हालसम्म बेपत्त) को कमाण्डमा शिव एरियाको स्क्वाड सदस्य भएर जिम्मेवारी पुरा गरियो । पछि अस्थाई प्लाटुनमा रहेर क.कुमार (धिरेन चेम्जोङ, जो कानेपोखरीको जंगलमा शहिद हुनुभयो) को कमाण्डमा रहेर काम गरियो ।
२०५७ भाद्र १४ गते झापाको कुञ्जीबारी प्रहरी चौकी कब्जा, २०५८ मा मोरङको मझारे प्रहरी चौकी कब्जालगायत झापाभित्र भएका अन्य दर्जन बढी सेबोटेजहरुमा मेरो सहभागिता रह्यो । २०५८ श्रावणमा युद्धविराम घोषणा भई २०५८ मंसिरमा संकटकाल लागिसकेपछि सिंगो झापा जिल्ला पार्टी कमिटी भारतको सिलिगुडीबाट पक्राउ, बाँकी केही साथीहरु सम्बन्धित सेल्टरबाट पक्राउ, क.डि.कौडिन्य सेतिपानीमा शहिद, क.अणु (तत्कालिन झापा र ईलाम जिल्ला सेक्रेटरी) सेतीपानीबाट गिरफ्तार हुनुभयो । क.रमेश सुवेदी र म दुश्मनको घेरा तोड्न सफल भयौं । क.मिलन र क.रन्जित तामाङ छुट्टाछुट्टै सेल्टरबाट नै गिरफ्तार पर्नुभयो । विद्यार्थी साथीहरु रमेश सुवेदी र बिष्णु प्रधान गौरादहमा शहिद हुनुभयो । जिल्लामा पार्टी नेतृत्व नभईसकेपछि हामी पार्टी सम्पर्क स्थापित गर्न लाग्यौं । सोही क्रममा म काठमाडौको पार्टी सम्पर्कमा पुगें र त्यहीबाट भक्तपुर जिल्ला पार्टीको मातहत रहेर काम गर्ने गरें । कौशलटार, बालकोट, शिरुटार र दधिकोट मेरो कार्यक्षेत्र थियो ।
भ्याली स्पेसल टास्क फोर्सको सदस्यको समेत जिम्मेवारी बहन गरें । क.काज्र्याङ्ग (हाल सोलुखुम्बु) र म भक्तपुरको सानोठिमीमा रहेको ओखलढुङ्गातिरका विद्यार्थी साथीको कोठामा बस्थ्यौं । २०५९ मा पुनः युद्धबिराम भयो र हामी काठमाडौंबाट फेरि झापा आयौं । म गृह जिल्ला फर्किएपपछि क.सरोज (टिका दंगाल)सँग भेट भयो र पार्टी सम्पर्कमा पुगियो । क.सन्देश (झलकसिं दर्लामी) मार्फत ७ औं बटालियनमा जोडिएँ । केही समयपछि ७औ बटालियन कमिसार क.अनुकुल (मणि थापा) र कमाण्डर क.संजिबसँगै ब्रिगेड कार्यालयमा स्वास्थ्य विभाग अन्तर्गत रहें । बिरामी तथा घाईते योद्धाहरुलाई जस्तोसुकै परिस्थितिमा, जुनसुकै ठाउँमा लगेर उपचार गराई सकुशल युद्ध मोर्चामा फर्काउनु मेरो प्रमुख जिम्मेवारी थियो । तराईका जिल्लाहरुमा गर्न सकिने फौजी कार्वाहीको दायित्व पनि थियो । उत्तरी मोरङको मधुमल्ला, टाँडी, रमिते, जाँते, लेटाङ, याङ्शिलालगायतका ठाँउहरुलाई आधार बनाई आफ्नो जिम्मेवारी पुरा गर्ने गरेको थिँए । आभार व्यक्त गर्न चाहन्छु, बिरामी तथा घाईते योद्धाहरुलाई सफल उपचार गर्न सहयोग गर्ने डा.परवेज कुमार, डा.ज्ञानेन्द्र गिरी, डा.मदन कोईराला, डा.आरके साबु, डा.आरएम प्रधान, डा.गणेश गुरुङ, डा.सुधिर सिंह, डा.अभिनारायण घिमिरे, डा.एके झालगायतलाई ।
२०६० फागुनमा खोटाङको ऐसेलुखर्कमा नेपाली सेनासँगको मुठभेड, २०६० फागुन १९ गते भोजपुर रिपिटर टावरमा नेपाली सेनासँग भिडन्त, २०६० चैत २५ गते ईलामको पशुपतिनगर ईलाका प्रहरी कार्यालय कब्जा, २०६१ पौष १७ गते धनकुटा सेउती खोला एम्बुस, इलामको पुवा खोला भिडन्त, उर्लाबारीको नेपाल बैंक लिमिटेड कब्जा, २०६१ माघमा मोरङको जाँतेमा नेपाली सेनासँगको भिडन्त, २०६२ वैशाख २६ गते सिरहाको बन्दिपुरमा नेपाली सेनासँग भिडन्त र उदयपुरको चिसापानीमा भएको भिडन्तपछि धेरै साथीहरु घाईते हुनुभयो । उहाँहरुको उपचार गर्ने क्रममा म अलिक धेरै एक्सपोज हुन थालेपछि पार्टीले मलाई ७ औं ब्रिगेड एचक्यूबाट क.मौसम कमिसार र क.संग्राम कमाण्डर रहेको १९ औं बटालियनमा पठायो ।
भोजपुरको घोडेटारमा नेपाली सेनासँग भिडन्त, इलाम सदरमुकाममा भिडन्त, मोरङको रमितेमा दोहोरो भिडन्त, झापाको सुरुङ्गामा भिडन्त,लगायत अन्य थुप्रै फौजी आक्रमणमा सहभागी भईयो । यी फौजी आक्रमणमा मेरो भूमिका भनेको घाईते योद्धाहरुको प्राथमिक उपचार गर्नु नै हुन्थ्यो भने सुरुङ्गाको भिडन्तमा कमाण्डर क.पावेलले उक्त लडाईको भिडियो छायांकन गर्ने थप जिम्मेवारी पनि दिनुभएको थियो । यतिन्जेलसम्म आइपुग्दा हाम्रो सैन्य संरचना ब्रिगेडबाट डिभिजनसम्म पुगिसकेको थियो । पुर्वी कमाण्ड अन्तर्गत क.बलदेबको कमाण्डमा रहनेगरि क.परवानाको कमाण्डमा पहिलो डिभिजन र क.राजेशको कमाण्डमा दोस्रो डिभिजन थियो । म चाँही सोलु सल्लेरी ब्रिगेड अन्तर्गत थिएँ । जसको कमाण्डर क.संग्राम र सहायक कमाण्डर क.निशान हुनुहुन्थ्यो भने कमिशार क. पासाङ (रामकुमार राई) हुनुहुन्थ्यो ।
जनयुद्धकै नाममा विद्रोहकालमै लुटपाट मच्चाएका गैरमाओवादीहरु, आज पार्टीभित्र र सत्तामा मसिहा बनेका छन् । सशस्त्र विद्रोहको औपचारिक समाप्तिपछि अवसरको खोजी गर्दै पार्टीभित्र छिरेकाहरु अहिले सच्चा क्रान्तिकारी, जनयुद्धका हिमायती भएका छन् । उनीहरु नै अहिले नेतृत्वका भित्रिया भएका छन् । सत्ता र शक्तिको वरिपरि घुमेर अकूत सम्पत्ति आर्जन गरेकाहरु नै नेतृत्वका हनुमान छन् ।
क्रान्ति भनेको एउटा निरन्तर प्रक्रिया हो र विकासको खास चरणमा विद्यमान शक्ति सन्तुलनलाई ख्याल गर्न सकिएन भने प्राप्त उपलब्धि पनि गुम्ने खतरा हुन्छ । पछिल्लो चरणका विश्वका प्रायः सबै माओवादी आन्दोलन कि त पूरै पराजित भएका छन् कि लामो गतिहीनतामा फसेर विसर्जन भएका घटनाहरुले त्यसको पुष्टि गर्दछन् । सहमति र सम्झौता गर्दा भुल्न नहुने मुख्य विषय निरन्तर अग्रगमनको ढोकालाई बन्द नगर्नु हो । अहिले जे जति उपलब्धि भएका छन्, त्यसमा माओवादी जनयुद्धको कुनै भूमिका छैन र पुरानै कांग्रेस, एमालेको नेतृत्वमा परिवर्तन आएको हो भन्ने जुन प्रचार गर्न खोजिँदैछ, त्यो सरासर झुट र बेइमानी हो । हो, पछिल्लो चरणमा कांग्रेस र एमाले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशिताको पक्षमा आउनु सकारात्मक कुरा हो, त्यसको स्वागत गरिनुपर्छ । तर, उनीहरूले नै यी सबै परिवर्तन ल्याएका हुन् भन्नु चाँही ‘काम गर्ने कालु, मकै खाने भालु’ भनेजस्तै हो । जनयुद्धबारे जुन कपोलकल्पित र अतिरञ्जित कथा बुनि सुनाईन्छन्, तिनलाई ठाडै खारेज गर्नुबाहेक कुनै विकल्प छैन । मधेस आन्दोलन, थारू आन्दोलन, जनजाति आन्दोलनलगायतका अन्य आन्दोलनहरु पनि जनयुद्धले सल्काएको सामाजिक डढेलोकै विकसित रूपहरु हुन् । त्यसैले नेपालको राजनीतिक र सामाजिक रूपान्तरणमा जनयुद्धको भूमिका ऐतिहासिक रहेको तथ्यलाई सबैले स्वीकार्नैपर्छ ।
अन्ततः जनयुद्ध शान्ति सम्झौतासम्म आईपुग्यो । मुलुकले जे जति उपलब्धि प्राप्त गरेको छ, ती महान् शहिदहरूको संघर्ष र बलिदानीबाट मात्र सम्भव भएको हो । संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न तथा संविधानको कार्यान्वयनमार्फत देशलाई समृद्ध बनाउन शहिदहरूको सपना तथा योगदान सधैं प्रेरणादायी बनोस् ।
गज्जब सहि कुरा।