सम्पादकीय
कमिसनको लोभमा आफ्ना साझेदार साथीहरुको हत्या अनि त्यसबारे कसैलाई जानकारी नहोस् भन्ने ध्येयले खाल्डो खनेर शव पुरेको घटना सुन्दै कहालीलाग्दो अपराध हो । सिराहाका अनिलकुमार मण्डलले आफ्ना तीन साझेदारहरु शम्भुकुमार चौधरी, राजेन्द्रकुमार श्रेष्ठ र मोहन लिम्बुको हत्या गरेको घटना अपराधशास्त्रका लागि नयाँ ‘केस स्टडी’ हो । यतिमात्रै होइन, पछिल्लो समयमा बेपर्वाह रुपमा मौलाएको घरजग्गा कारोबार र अन्य कारोबारमा संलग्नहरुका लागि शिक्षा पनि हो यो घटना । परिवारको जानकारी बेगरै जथाभावी लगानी गर्ने, आफ्ना साझेदारहरुबारे परिवार नै बेखबर हुने अवस्था धेरैको छ । यस्तोमा जस्तोसुकै अपराध पनि हुन सक्नेरहेछ भन्ने पाठ यो घटनाले दिएको छ ।
यसपटक अकल्पनीय यो अपराधका मुख्य अभियुक्तसहितका दोषीहरुलाई पक्राउ गर्न सफलता प्राप्त गरेर मोरङ प्रहरीले उल्लेख्य काम गरेको छ । अनुसन्धानमा खटिएका सबै प्रहरी यसका लागि धन्यवादका हकदार छन् । त्यसो त प्रहरीले सुलझाउन नसकेका अपराधका कयौं घटना अझै बाँकी नै छन् । जघन्य अपराधकै अभियुक्तहरुलाई नियन्त्रणमा लिन प्रहरी सफल हुन सकिरहेको छैन । तर, यो घटनामा प्रहरी सक्रियता र अनुसन्धानले सफलता पाउँदा नेपाल प्रहरीको क्षमता फेरि एकपटक प्रमाणित भएको छ ।
निश्चय नै प्रहरी सफलता अपराध हुनै नदिनुमा बढी नापिने हुन्छ । तर, जस्तोसुकै कसिलो सुरक्षा व्यवस्था भएको समाजमा पनि अपराध त हुन्छ नै, त्यस्तो बेलामा अपराधीसम्म पुगेर घटनाको गुत्थी सुल्झाउने काममा प्रहरी सफल बन्नु पनि उपलब्धि हो । आफ्नै साथीबाट मारिएका तीन जना नागरिकको ज्यान जोगिन सकेको भए त्यो सबैभन्दा राम्रो हुनसक्थ्यो । यद्यपि घटना भइसकेपछि अपराधीहरुलाई नियन्त्रणमा लिने र घटनाको गहिराईसम्म पुग्नुलाई प्रहरी सफलता नै मान्नुपर्छ । पैसाको आडमा जस्तोसुकै अपराध गरेर सानले ज्यून खोज्ने अपराधीलाई ठेगान लगाउने प्रहरी कर्मले समाजलाई क्रमशः सुरक्षित पार्दै लैजान्छ । मोरङ प्रहरीले यसपटक चुस्त अनुसन्धान गरेर आफ्नो दायित्व निर्वाह गरेको छ । प्रहरीबाट सधैं यही शैलीको काम जनताले चाहेका छन् ।
एकपछि अर्को अपराधका घटना भइरहेको मोरङमा पछिल्लो समय एकैठाउँमा दुई जना व्यक्तिको शव भेटिएपछि आतंक झनै बढेको थियो । खासगरी उखुबारी भएको क्षेत्र धनपालथानमा त स्थानीयबासी अझै त्रस्त नै छन् । नहुन् पनि किन , एकै प्रकृतिले खाल्डो खनेर शव गाडिएको अवस्थामा फेला पर्दा सर्वसाधारणको सातो जानु अस्वाभाविक होइन । अझ पैसा दिएर स्थानीय अपराधीहरु परिचालन गरेर हत्या गरेको घटना त झनै खतरनाक हो । पैसाका लागि जे पनि गर्ने समूह समाजमा तयारी अवस्थामा देखिनु झनै चिन्ताको विषय हो । मोरङ काण्डले त्यस्ता अपराधीहरुको मनोबल गिराउन मात्रै सक्दा पनि समाज सुरक्षित बन्न सक्छ ।