धिक्कारका पात्रहरू

 अनन्तराज न्यौपाने

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाका छोराको विवाह यति बेला दुबईबाट भइरहेको छ । यसअघि अर्का सम्भ्रान्त उद्योगी पवन गोल्यानका छोराको बिहा पनि दुबईबाटै भएको थियो । केही समयअघि चौधरी ग्रुप र विशाल ग्रुप दुबै घरानाले समुद्र पारकै देशबाट आफ्ना सन्तानको बिहा सम्पन्न गरे । यसरी छिमेकी भारतसहित समुद्रपारका थाईल्यान्ड, खाडी राष्ट्र र अन्य मुलुकमा विवाह गर्न जाने नेपाली अभिजात्यको सङ्ख्या बढ्दो क्रममा छ ।

तर, उनीहरू यसरी विवाह गर्न विदेश जाँदा भारु र अमेरिकी डलर लगायतका अन्य परिवत्र्य विदेशी मुद्रा वैधानिक बाटाबाट लगिरहेका छैनन् । नेपालको कानुनले यस्तो कार्यलाई कठोरताका साथ बन्देज गरेको छ । विदेशमा विवाह गर्न जानेहरू अवैध हुन्डीबाट करोडौँ रकम पठाइरहेका छन् । शेखर गोल्छा, पवन गोल्यान, चौधरी ग्रुप र विशाल समूहजस्ता उच्च वर्गका सम्भ्रान्त वर्गका घरमा हुने एउटा विवाहमा न्यूनतम १० करोड रुपैयाँ खर्च हुन्छ भन्ने गरिन्छ । उनीहरूले यो रकम नेपालमै खर्च गरेको भए यहीँको व्यवसायलाई टेवा पुग्ने कुरामा शङ्का छैन ।

शेखरलगायतका सबै व्यवसायी स्वदेशी उद्योग व्यवसायलाई टेवा र प्रोत्साहन दिनुपर्ने कुरा गरेर थाक्तैनन् । हरेक औपचारिक समारोहमा अध्यक्ष गोल्छाको भाषण स्वदेशी उद्यम र व्यापारलाई प्रोत्साहन गर्नुपर्ने भन्ने उद्देश्यको हुनेगर्छ । तर, आफ्नै व्यवहार चाहिँ यसपटक उनले ठिक विपरीत देखाएका छन् । राज्यसित सिस्टमको माग गरेर नथाक्ने गोल्छाले अवैध हुन्डी व्यापारबाट करोडौँ रुपैयाँ खाडी राष्ट्रमा पु¥याएका छन् । उनको वचन र कर्ममा एकरूपता होइन, विरोधाभास देखिएको छ । शेखर मात्र होइन, पवन गोल्यान र विनोद चौधरी पनि आदर्शका गुड्डी हाँक्ने खर्बपतिमा पर्छन् । तर, तिनको आदर्श गफमै सीमित देखिएको छ ।

नेपालका विभिन्न मुख्य स्थानमा एक से एक होटल, रेस्टुरेन्ट, पार्टी प्यालेस र रिसोर्टको कमी छैन । तर, पनि यहाँका अभिजात्य वर्ग किन अवैध रुपमा मुद्राको स्थानान्तरण गरेर विदेशमा विवाह गर्न जान्छन् बुझिनसक्नु छ । नेपालको कानुनले विवाहमा हुने खर्च र जन्तीदेखि दाइजो र पेवाको लेनदेनमा समेत अङ्कुश लगाएको छ । यी सम्भ्रान्त घरानाका बिहामा यस्ता विषयमा ठूलो तडकभडकसहित विशाल धनराशिको व्यय हुने कुरामा कसैको शङ्का छैन । हुनसक्छ, उनीहरूको वैवाहिक समारोह कुनै समाचार माध्यमको सामग्री पनि बन्नसक्ला । उनीहरूको तडकभडक र खर्चबर्चका बारेमा राम्रै प्रचार वा नराम्रो दुष्प्रचार पनि हुन सक्ला । त्यसैले यसबाट बच्न उनीहरू विदेशमा विवाह आदिका लागि जाने गरेको हुनसक्छ ।

यसबाहेक यस्तै तडकभडक र फाल्तु खर्च गरेर आफ्नो हैसियत देखाउने वर्गको कमी पनि नेपालमा छैन । त्यसले दुबईमा आफ्नी छोरीको बिहा ग¥यो भने म पनि के कम, म बेलायतबाट गर्छु भन्ने धनाढ्यको यहाँ कमी छैन । यहाँ कुनै परिवार र समुदायलाई लक्षित गर्नु आवश्यक छैन । तर, नेपालमा यस्ता पनि छन्, उनीहरू कुनै दीनदुःखी वा असहायका लागि एक पैसा निकाल्दैनन् । सामाजिक सङ्घसंस्थामा सहयोग गर्नुप¥यो भने उनीहरूलाई मर्नुबराबर हुन्छ । तर, छोराछोरीका बिहेमा करोडौँ खर्च गरेर आफ्नो कथित हैसियत देखाउन भने अति लालायित हुन्छन् । वास्तवमा यो हैसियत उनीहरूको असामाजिकताको हैसियत हो, अमानवताको परिचायक हो र मानवीय हैन दानवीय गुणको लक्षण हो ।

एकातिर नेपालमा परिवत्र्य विदेशी मुद्राको सञ्चिति अत्यन्त कम छ । केही समययता नेपाल राष्ट्र बैङ्कले ६ महिनाको पैठारीलाई धान्नसक्ने मात्र परिवत्र्य विदेशी मुद्रा मौज्दात रहेको प्रक्षेपण गरिरहेको छ । कोभिडपछि नेपालमा होटल, हवाइ सेवालगायतको पर्यटन क्षेत्र उल्लेख्य रूपमा खस्किसकेको छ । यसबाहेक वैदेशिक रोजगारमा गएका नेपाली पनि पनि ठूलो सङ्ख्यामा स्वदेश फर्किसकेका छन् । वैदेशिक रोजगारमा भएकाले उतै बिट क्वाइन, हाइपर फन्ड र क्रिप्टोकरेन्सीजस्ता कारोबारमा हात हालिरहेका छन् । उनीहरूले उतैका राष्ट्रमा शेयरमा लगानी गरेका समाचार पनि आइरहेका छन् । यसरी बिट क्वाइन, हाइपर फन्ड र क्रिप्टोकरेन्सीजस्ता कारोबारलाई नेपालले अवैध घोषणा गरेको छ । एकातिर कोभिडपछि ठूलो सङ्ख्याका वैदेशिक रोजगार नेपाल फर्कनु, त्यहाँ रोजगार गरिरहेकाले वैध मार्ग छाडेर अवैध हुन्डीबाट रकम पठाउनु र कतिपयले त्यहीँ बिट क्वाइनलगायतका कारोबारमा लगानी गर्नुजस्ता कार्यले नेपालमा विदेशी मुद्राको सञ्चितिमा ५० प्रतिशतले ह्रास आएको हो ।

यसबाहेक नेपाल राष्ट्रबैङ्कले विदेश घुम्न जानेलाई उपलब्ध गराउने विदेशी मुद्रामा पनि कडाइ गरेको छ । पहिले प्रतिव्यक्ति २५ सय डलर उपलब्ध गराउने राष्ट्र बैङ्कले अहिले १५ सय डलरमात्र दिइरहेको छ । विभिन्न प्रकारका आयातमा अत्यन्त कडाइ गरिएको बेला छ । साँच्चै भन्ने हो भने परिवत्र्य विदेशी विनिमयका अभावमा मुलुक टाट पल्टेको अवस्थामा छ । यस्ता बेलामा समुद्रपारका मुलुकमा करोडौँ रकम अवैध हुन्डीबाट पठाएर आफ्ना सन्तानको बिहा गर्ने अभिजात्य उद्योगी वर्ग र उद्योग वाणिज्य सङ्घका नेताहरू धिक्कारका पात्र हुन् ।

मङ्गलबार, २५ माघ, २०७८

प्रतिक्रिया:

सम्बन्धित खवर