सिमसार र पर्यावरणीय क्षेत्रको संरक्षणका लागि दण्डनीति आवश्यक

 गणेश लम्साल

— ३ माघ २०७८ मा महोत्वसको बहानामा हेभिसाउण्ड सिस्टमसहित भारतीय डिजे कलाकार बोलाएर मनोरञ्जन कार्यक्रम गराउन खोज्दा सुनसरीको बर्जुगाउँपलिका ६ चिमडी स्थित बर्जु सिमासार क्षेत्रमा हिंस्रक घटना भयो । चार भारतीय जीपमा आगजनी गरिए । साउण्ड सिस्टम र स्टेज तोडफोड हुँदा तीन करोड बढीको क्षति भयो ।

— हिउँद लागेसँगै हरेक वर्ष सुनसरी इटहरीको तालतलैया, तरहराको भवानीपुर, सुन्दरहरैंचाको हसिना सिमसार, बेलबारीको बेतना र उर्लाबारीको बेतिनी लगायतका अनेकौं सिमसारमा वनभोज खाँदै रमाउनेहरूको भीडभाड हुनेगर्दछ ।यो क्रम वर्सेनि दोब्बर तेब्बरले बढ्दो छ ।

— हरेक वर्ष प्रदेश १ को कोशी, कन्काईमाईदेखि, तमोरलगायतका विभिन्न नदी किनारमा तडकभडकसहित वनभोज खानेहरूको विना रोकटोक लर्को लाग्ने गर्छ । कसैले पनि पर्यावरणीय क्षेत्रमा फोहोर र होहल्ला गर्नुहुँदैन भन्ने हेक्का गदैनन् ।

माथिका केही घटना र उदाहरणले प्रष्ट पार्दछन् कि आजकल सिमसार र पर्यावरणीय क्षेत्रहरु ‘दिन दु गुना रात चौगुना’ ले मनोरन्जनस्थलका रुपमा प्रयोग हुनेक्रम बढिरहेको छ । संरक्षणको महत्वलाई बेवास्ता गर्दै स्थानीय पालिकाले सीमित आम्दानी र प्रचारप्रसारको लोभमा सिमसार क्षेत्रलाई तडकभडकसहित होहल्ला गरेर रमाइलो गर्ने ठाउँका रूपमा मात्रै प्रयोग गराउँदै आइरहेका छन् । यद्यपि स्थानीय जैविक विविधता र पर्यावरणको संरक्षणका लागि भनेर लाखौं, करोडौं खर्चेर स्थानीय सिमसार क्षेत्र संरक्षण गरिएको हुन्छ ।

राष्ट्रिय सिमसार संरक्षण नीति २०५९ अनुसार स्थानीय, राष्ट्रिय र अन्तराष्ट्रिय सिमसार क्षेत्रमा सिमसारको पर्यावरणीय महत्वलाई असर पु¥याउने गरि ध्वनी प्रदूषण गर्न, फोहोर फ्याँक्न, जमिन अतिक्रमण गर्न पाइँदैन । सिमसार क्षेत्रभित्र कंक्रिटका संरचनाहरू त झन् पटक्कै बनाउन पाइँदैन ।

तर आजकल पालिकाले संरक्षण गरेका सबै सिमसारहरू ठूला–ठूला साउण्ड बक्स (बाजा) बजाएर नाचगान गर्दै होहल्ला गरेर पिकनिक खाने स्थलका रुपमा प्रयोग भइरहेका छन् । अनि मनोरञ्जनस्थलको बाहानामा सिमसार क्षेत्रको जमिन पनि अतिक्रमण हुनेगरेका छन् । होटल र पसल र मनोरञ्जनस्थलका लागि भन्दै तँछाडमछाड गर्दै सिमासार क्षेत्रभित्र क्रंक्रिटका संरना पनि बनाउने गरिएको छ ।

यसोगर्दा पालिकाहरुलाई सिमित आम्दानी पनि हुने र मानिसहरूको आवतजावत बाक्लिँदा स्थानीयलाई व्यापारबाट केही फाइदा पनि हुनेगर्दछ । सँगै सिममारमा चहलपहल बढ्न थालेपछि जग्गा किनेबेच गर्नेहरुले ‘विकास’ आएको बहाना बनाउँदै आसपासका जमिनहरु ‘घडेरी प्लटिंङग’ गरेर बिक्री गर्ने गरेका छन् ।

विज्ञहरुका अनुसार पानी भएको दलदले, धापिलो वा ओसिलो ठाउँलाई सिमसार भनिन्छ । सिमसारको परिभाषाभित्र ताल–तलैया, नदी किनार र धानखेत आदि पर्दछन् । नेपालमा मानवको अव्यवस्थित बसोबास र विकासको गलत बुझाइले सिमसार क्षेत्र दिनप्रतिदिन नासिदै गइरहेका छन् । अर्कोतिर सिमसार भनेको एक रसिलो भूमि हो जहाँ जमिन लुक्दैन र पानी सुक्दैन । यसैले सिमसारको विशेषता भनेको पानी र जमिन नै हो । जसले पर्यावरण सन्तुलनका लागि महत्वपूर्ण भूमिका खेल्छ । विश्व संरक्षण संघ नेपालद्वारा प्रकाशित एक तथ्यांकअनुसार नेपालको तराईमा १ सय ६३ सिमसारस्थल छन् । ७९ वटा सिमसार हिमाली र पहाडी क्षेत्रमा छन् । यी सिमसारमा सयौं प्रकारका पंक्षीहरूसँगै ८० प्रजातिका घस्रने वन्यजन्तुहरू बसोवास गर्दछन् ।

अध्ययनअनुसार सिमसारलाई सबैभन्दा बढी उत्पादनशील परिस्थितिकीय प्रणाली मानिन्छ । यसले भू–क्षय न्यूनीकरण, पानी शुद्धीकरण एवम् भण्डारण, बाढीको पानी संकलन एवम् रोकथाम र खोलाको पानीको बहाब नियन्त्रण गर्ने काममा महत्वपूर्ण भूमिका खेल्दछ । सिमसारले वातावरण सन्तुलन गर्ने काममा पनि महत्वपूर्ण भूमिका खेल्छ । सिमसारको लोपसँगै वन्यजन्तुहरू संकटमा पर्दै गएका छन् । यसैले वन्यजन्तु संरक्षणमा सिमसार क्षेत्रको भूमिका महत्वपूर्ण रहन्छ । तर वातावरण विनाशको कारण तराईको सिमसार क्षेत्रको संख्या दिनप्रतिदिन घटिरहेको छ । यसैले सिमसार क्षेत्रको संरक्षण विशेष आवश्यक मानिन्छ ।

इतिहास अनुसार मानव सभ्यताको विकास नै पानीबाट भएको हो । अर्कोतर्फ, सिमसार जैविक विविधताको घर पनि हो । जहाँ चराचुरुङ्गीदेखि विभिन्न प्रजातिका जलचरको बासस्थान हुन्छ । सिमसार नासिँदा जैविक विविधताको घर पनि नष्ट हुन्छ । वातावरणमा खलल पुग्छ । र त्यसको प्रत्यक्ष असर मानव जीवनमा पर्दछ । सिमसारलाई सही ढंगले संरक्षण गर्न सके वातावरण संरक्षण मात्र नभई पर्या–पर्यटनको विकास गरेर आर्थिक फाइदा पनि लिन सकिन्छ ।

पर्यावरण सन्तुलन र जैविक विविधताको संरक्षणका लागि सिमसारको महत्व धेरै हुने भएपछि तराईमा संरक्षण गरिएका सिमसारहरु कुनै खेत, कतै घडेरी र कतै माछा पालनमा प्रयोग गर्ने गरिएको छ । अर्कोतिर सिमसारलाई वनभोज खाने र नाचगान गर्ने स्थानका रुपमा प्रयोग गर्ने गरिएको छ । दिन प्रतिदिन बढ्दै गएको प्रदूषणले यहाँका सिमसार क्षतिग्रस्त बनिरहेका छन् । नीति विपरीत प्रयोग गर्न थालिएकोले सिमसारको जैविक विविधतामा ह्रास आउन थालेको छ । मानव सिर्जित कोलाहालले गर्दा चराहरूको मनोरम आवाज र कोकिल कण्ठबोली सिमसारबाट हराउन थालेका छन् ।

वातावरण विज्ञहरुका अनुसार गाउँ र नगर पालिकाहरुले सिमसारलाई राजस्व संकलन र विकासको बहानामा पर्यावरणीय विनासको माध्यम मात्र बनाउनु हुँदैन । मनोरञ्जनस्थल पनि सिमसार बाहिरै बनाएर सिमसारलाई होहल्लारहित ढंगले अध्ययन र अवलोकन गर्दै घुमिफिर गर्ने स्थलका रुपमा मात्र विकास गरिनुपर्दछ । यसैले सिमसार र पर्यावरणीय क्षेत्रको दिगो संरक्षणका लागि संघ, प्रदेश र पालिका तीनै तहका सरकारले दण्ड व्यवस्था सहितको विशेष नीति नै बनाएर कार्यान्वयन गराउन आवश्यक छ । सिमसार र पर्यावरणीय क्षेत्रको संरक्षणमा लाखौं करोडौं खर्च गरेपनि उपयोगमा भने माल पाएर चाल नपाए जस्तो भैरहेको छ । सिमासार र पर्यावरणीय क्षेत्रको उचित संरक्षणका लागि सरकारले हस्ताक्षर गरेको अभिसन्धि पालना गर्न गराउन पनि चसो दिएको छैन ।

सोमबार, १७ माघ, २०७८

प्रतिक्रिया:

सम्बन्धित खवर