लीलावल्लभ घिमिरे
नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री भएपछि जननेता विपी कोइरालाले आज भन्दा झण्डै ५३ वर्षअघि राष्ट्रिय योजना आयोगलाई दिएको निर्देशन अहिले पनि उत्तिकै सान्दर्भिक छ । विपीले त्यसबेला राष्ट्रिय योजना आयोगका योजनाकारहरुलाई सिंहदरवारमा हलो जोत्दै गरेको किसानको तस्वीर हेरेर योजना वनाउन निर्देशन दिनुभएको थियो । नेपाली राजनीति र विकासको वहसमा निकै चर्चित र अर्थपूर्ण यो भनाइलाई सम्झने फुर्सद यतिबेलाका हाम्रा नेताहरुलाई छैन ।
मुलुक निकै लामो समयको राजनीतिक संर्घषपछि संघीयतामा गएको छ । काठमाडौंको खाल्डोमा फँसेको सिंहदरवारलाई निकै लामो सहादतपछि हामीहरुले हाम्रो घर दैलोमा ल्याएका छौं । आज मन्त्री भेट्न र झण्डा हल्लाउँदै गरेको गाडी देख्न खाल्डोमा नै पस्नु पर्ने वाध्यतावाट हामीले मुक्ति पाएका छौं । मन्त्रीहरुसँग टोलटोलमा जम्काभेट हुन्छ । यो पक्कै पनि राम्रो पक्ष हो ।
तर, मैले प्रदेश १ का मुख्यमन्त्री र अन्य मन्त्रीहरुको एउटा कुरा चाहिँ वुझ्न सकेको छैन । प्रदेश १ को पहिलो मुख्यमन्त्री शेरधन राई बन्नुभयो । राई मुख्यमन्त्रीको कुर्सीमा पदासिन भइराख्दा उहाँको कुर्सी पछाडि निकै आकर्षक र ठूलो सगरमाथाको तस्विर देखियो । पछि सवै मन्त्रीहरुका कुर्सी पछाडि हिमालका तस्विर देख्न थालियो । त्यसबेला मैले सोचँे प्रदेश १ को नाम सगरमाथा राख्नका लागि उहाँहरुले जनतामा मनोवैज्ञानिक रुपमा सन्देश दिन चाहनुभएको होला । दुई तिहाइको मुख्यमन्त्री बन्नु भएका शेरधनले प्रदेशको नाम नै राख्न चाहनु भएन । त्यति मात्र हैन चर्चा गर्दा पनि सगरमाथा भन्दा कोशीको बढी चर्चा कसैको निर्देशनमा गर्न भ्याउनुभयो ।
प्रदेशको पहिलो मुख्यमन्त्री शेरधन राईले प्रदेशको मुख्यमन्त्रीको कुर्सी पछाडि किन त्यो तस्विर राख्नु भएको हो ? त्यसको उत्तर नआउँदै उहाँ विदा हुनुभयो । सायद अरुले त्यहाँ आएर आफ्नो फोटो खिच्दा राम्रो देखियोस् भनेर मात्र त त्यो तस्विर राख्नु भएको हैन होला ! यदि हो भने उहाँको जय होस् ! त्यसपछि प्रदेश १ ले दुई जना मुख्यमन्त्री पायो । ६७ दिनका लागि भीमप्रसाद आचार्य मुख्यमन्त्री बन्नुभयो भने अहिले राजेन्द्र राई प्रदेश १ को मुख्यमन्त्री हुनुहुन्छ । मनोवैज्ञानिक रुपमा विश्लेषण गर्ने हो भने तीन जना मुख्यमन्त्रीको मनोविज्ञानमा कुनै फरक देखिएन । मुख्यमन्त्री हैन अन्य मन्त्रालयमा मन्त्री बनेकाहरुको मनोविज्ञान र सोचाई कुनै खासै भिन्नता छैन भन्दा हुन्छ । सरकार परिवर्तन भनको नाम प्लेट परिवर्तन मात्र हो भन्ने कुराको पहिलो पुष्टि कुर्सीपछिका तस्विर हुन् । किन राखिएका छन् मन्त्रीको पछि हिमालका सुन्दर तस्विरहरु ?
मैले सुरुमा विपी कोइरालाले ५३ बर्ष अघि योजना आयोगमा किसानले हलो जोत्दै गरेको तस्विरलाई हेरेर योजना वनाउन दिएको निर्देशनलाई यहाँ जोड्न खोजेको हो । प्रदेश १ का मुख्यमन्त्री तथा मन्त्रीज्युहरु तपाईहरु आफ्नो फोटो राम्रो देखियोस् भनेर हिमालका तस्विर हैन, प्रदेश १ का गरिव जनतकाा तस्विर आफ्नो अगाडि झुण्ड्यार योजना वनाउनुहोस् । मुख्यमन्त्रीको कोठामा दलितका, जनजातिका, पछाडी पारिएका मुसहर, झाँगडका तस्विर होउन्् । उहाँहरुले तिनैलाई हेरेर योजना वनाउनुहोस् । त्यसले उहाँहरुलाई योजना बनाउँदा वा कुनै निर्णय लिँदा ती जनताबारे सोच्न बाध्य पार्न सकोस् ! यस्तो लाग्थ्यो मलाई । तर, हाम्रा मुख्यमन्त्री र मन्त्रीहरु अहिले पनि अलमलमा हुनुहुन्छ । हिजोको शैलीमा कुनै फरक छैन ।
म सानो छँदा मेरा बुवाले राजाका सवारी हेर्न लगेका दिन होस् या पञ्चायलतका प्रधानमन्त्री सुर्यवहादुर थापालाई भेटेको क्षण होस् त्यसवेला र अहिलेका प्रदेशका मन्त्रीहरुको ढर्रामा कुनै परक छैन । फरक छ त त्यस बेला राजाले लादेको पञ्चायती व्यवस्था थियो । अहिले हामीले ल्याएको संघीय गणतन्त्र छ । आज पनि साधारण जनताले आफ्ना मुख्यमन्त्री र मन्त्रीहरुले भरसक भेटन पाउँदैनन् । भेटका लागि मन्त्रालय पुगी हाले पनि घण्टौ कुर्नुपर्छ । अनि मन्त्रीज्यूहरुका सुरक्षाकर्मी र सचिवालयको घेरा तोड्नु फलामको चिउरा चपाउनु जस्तै हुन्छ ।
लाग्छ हाम्रा मुख्यमन्त्री मन्त्रीहरु कुनै दोस्रो सामान्ती व्यवस्थाको अभ्यास गरिरहेका छन् । मेरो विचारमा जतताका लागि मुख्यमन्त्री र मन्त्रीहरु ढोकाहरु सधैँ खुला हुनुपर्छ । सचिवालयका नाममा राखिएका भरौटेहरुलाई विदा दिनुपर्छ । मैले मेरो मुख्यमन्त्री वा मन्त्री भेट्न किन कुर्नु पर्ने ? मेरा मुख्यमन्त्रीको ढोका किन वन्द ? मुख्यमन्त्रीज्यू एक पटक सोच्नुहोस् त होस त यदि तपाइँ भोट माग्न जादा जनताले तपाईले अहिले उनीहरु आउँदा जसरी ढोका बन्द गर्नु भएको छ, त्यसैगरी ढोका बन्द गरी दिए भने के गर्नु हुन्छ ? मन्त्रीज्यूहरु नेपालीमा एउटा उखान छ एक माघले जाडो जाँदैन ।
कमसे कम मेरो प्रदेशको मुख्यमन्त्रीको ढोका जनताका लागि हरेक दिन २ बजेदेखि ४ बजे सम्म खुल्ला रहने छ । मुख्यमन्त्री र मन्त्रीहरुलाई भेट्नका लागि कुनै आउरे वाउरेको चाकडी गर्नु पदैन् भन्ने त होस् ! यदि त्यसो पनि गर्न सक्नु भएन भने हरेक शुक्रवार जनताका लागि मन्त्रीका ढोका खुला त हुन् ! तर तपाईहरु त्यसो गर्ने पक्षमा हुनुहुन्न किनभने तपाईको सोच जनताको सेवक भन्दा मन्त्रीकै बढी छ । मैले फेरि विपीकै एउटा भनाइलाई उल्लेख गरेर आजलाई विट मार्नेछु । विपीले भन्नु भएको थियो ‘प्रजातन्त्र स्थापनापछि पार्टीमा सुकिला मुकिलाहरु हाबी हुनेछन् । त्य बेला वास्तविक कार्यकर्ताले संघर्ष गर्नु पर्नेछ ।’ आजको प्रमुख रोग सवै पार्टीमा यही हो । त्यति मात्रै हैैन, प्रदेशमा सरकार बनेको ४ बर्ष भयो । यो अवधिमा मैले मुख्यमन्त्रालयदेखि अन्य मन्त्रालयहरुमा सुकिलामुकिला भन्दा अरुलाई देख्न पाएको छैन । त्यसैले मन्त्रीज्यूहरु तपाईहरुलाई भेट्न त सुकिलामुकिलाहरुको मात्र पहुँच पुग्छ । कमसेकम आफ्नो कोठामा त तपाईको प्रदेशको यथार्थ झल्कने तस्विर त राख्नुहोस् !