सम्पादकीय
मोरङ सबै हिसाबले सुरक्षित जिल्लामा पर्छ । प्रदेश १ का अन्य जिल्लाको दाँजोमा यो बढी सुरक्षित मानिनुका पछि अनेकौं कारण छन् । प्रदेश राजधानी भएको जिल्ला मात्रै होइन, नेपाल प्रहरीको सबैभन्दा ठूलो उपस्थिति रहेको, शैक्षिक रुपले पनि बलियो र चेतनास्तरका दृष्टिले पनि माथि रहेको जिल्ला हो मोरङ । यद्यपि, यहाँ मौलाएको अपराधको ग्राफले यी कुनै पनि तथ्यलाई पुष्टि गर्दैन । खासगरी पछिल्लो समयमा बढेका बलात्कारका घटनाले यहाँको कमजोर सुरक्षा अवस्था मात्रै दर्शाउँदैन, महिला असुरक्षाको भयावह चित्र पनि देखाउँछ । महिलाका लागि यो जिल्लाको वातावरण यति डरलाग्दो देखिनु निश्चय नै ठूलो चिन्ताको विषय हो ।
पछिल्ला तथ्यांकहरुले भन्छन्, मोरङमा श्रृङ्खलाबद्ध रूपमा बलात्कारको घटना बढेको छ । एक पछि अर्को गर्दै जिल्लामा बलात्कारको घटना बढेर गएको हो । गएको शनिबार मात्रै मोरङको सुनवर्षी नगरपालिका–७ मा शारीरिक रूपमा अपाङ्गता भएकी १७ वर्षीय किशोरी बलात्कारको शिकार बनिन् । यी किशोरी बलात्कृत भएको यो पहिलो घटना होइन, न यो अन्तिम बन्ने कुनै सम्भावना नै छ । यस्ता घटनालाई कसरी न्यूनीकरण गर्ने ? के प्रहरीको एकल प्रयासमा जघन्य अपराधको यो श्रृङ्खला रोकिएला ? यसमा समुदायको उपस्थिति कसरी निश्चित गर्ने ? यस्ता विषयमा गम्भीर विमर्श गरेर तत्कालै हिंसा विरोधी अभियान नचलाउने हो भने महिलामाथि हुने पाशविक अपराध रोकिने छैन । बरु बढेर जानेछ ।
यस्ता घटना बढेको प्रमाण मोरङ प्रहरीको तथ्यांकले नै दिन्छ । चालु आर्थिक वर्षको मंसिरसम्ममा मोरङमा ३३ वटा बलात्कारका मुद्दा अदालतमा दर्ता भएको छ । अधिकांश घटनामा नाबालिका तथा किशोरी बलात्कारको शिकारमा परेका छन् । यी सबै घटनामा देखिने समानता अर्को पनि छ, त्यो के भने बलात्कारका अधिकांश घटनामा नातेदारहरु नै संलग्न छन् । यसले हाम्रा चेलीबेटीहरू घरपरिवारभित्रै असुरक्षित रहेको देखाउँछ । महिला सुरक्षाका बारे ठूलो बहस चलेका बेला उनीहरुलाई परिवार र समाजमा कसरी सुरक्षित तुल्याउने र अपराधीलाई हतोत्साही बनाउने भन्ने उपायको खोजी गरिनुपर्छ ।
दण्डहीनताकै अभावमा हरेक वर्ष यस्ता घटना बढेर गएका छन् । पछिल्लो तीन वर्षमा मोरङमा ३ सय २७ वटा बलात्कारको घटना भएको छ । आर्थिक वर्ष २०७५÷०७६ मा १ सय ७ वटा जवरजस्ती करणी मुद्दा दर्ता भएको मोरङ प्रहरीको तथ्याङकमा देखिन्छ । आर्थिक वर्ष ०७६÷०७७ मा ९२ वटा बलात्कारको मुद्दा दर्ता भएकोमा ०७७÷०७८ मा जिल्लामा जवरजस्ती करणीको घटना ह्वातै बढेको तथ्यांकले देखाउँछ । ०७७÷०७८ मा १ सय २८ वटा जवरजस्ती करणाीको मुद्दा अदालतमा दर्ता भएको घटनाले यो अपराधको भयावहपन दर्शाउँछ । कुनै एउटा घटनामा संवेदीत बन्ने अनि त्यसपछि बिर्सने शैलीले बलात्कार जस्तो गम्भीर अपराधमा हामी जागरुक बन्न चुकिरहेका छौं । राज्य, अधिकारवादी संस्थाहरू मात्रै तातेर यस्ता अपराध रोकिन्न । नागरिक पंक्ति, घरघरैबाट जागरुक बन्नुपर्ने आवश्यकता टड्कारो छ । यसका लागि राज्यले सबैभन्दा पहिले तदारुकता प्रदर्शन गर्न आवश्यक छ ।