गोकुल पराजुली
केही समय यता संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले चर्चामा छन् । चर्चा त उनको पहिलो पटक मन्त्री भएको बेला पनि थियो नै । अहिले पनि चर्चाको शिखरमा छन् । पहिले उनको सकारात्मक भन्दा नकारात्मक टिप्पणी बढी सुनियो । अहिले सकारात्मक चर्चा छ । त्यसबेला हरेक काम र कुराको उल्टो अर्थ लाग्ने गरेको आलेको अहिलेको काम र कुराको अर्थ सुल्टो लाग्न थालेको छ ।
मन्त्री आलेले अक्सिजनको चरम अभाव हुँदा जोहो गरेरै गाउँठाउँमा अक्सिजनका सिलिण्डर पु¥याए । ती सिलिण्डरमा आफ्नै फोटो टाँसेर सहयोग जुटाउने व्यक्तिको परिचय खुलाए । त्यसको अर्थ उल्टो लाग्यो र विपद्मा पनि प्रचार खोजेको भनेर आलोचना भयो । मन्त्री भएपछि उत्तेजित भएर भाषण गर्दा उले रुखले कार्वनडाइअक्साइड दिन्छ भनेर बोली चिप्ल्याए त्यो सामान्य त्रुटि भएपनि ठूलो ट्रोल बन्न पुग्यो । त्यस्ता थुप्रै काम र बोलीहरु उनका बाहिरिए अधिकांशको आलोचना नै भयो । यद्यपी उनी केपी ओली नेतृत्वको सरकारमा मन्त्री हुँदा राम्रै चर्चामा रहे ।
अहिले समय र सन्दर्भ फेरिएको छ । प्रेम आलेको राजनीतिक दल र दृष्टिकोण पनि फेरियो । समान के छ भने उनी अहिले पनि मन्त्री छन् र चर्चामै छन् । यसपटक उनको सकारात्मक चर्चा छ । उनले नारायणहिटी दरबार क्षेत्रको ऐतिहासिकता नष्ट हुनेगरी जग्गा अतिक्रमण गरेको विषय सतहमा ल्याइदिए । त्यो कुरालाई जनताले सकारात्मक लिएका छन् । उनले त्यतिमात्र गरेनन् पशुपति नाथ मन्दिर परिसरमा स्थापना गरिएको धर्मशालालाई स्टार होटलको रुपमा अमुक व्यापारिले चलाइरहेको विषय पनि सार्वजनिक गरिदिए । विदेशमा अलपत्र बनेका नेपाली उद्धार गर्न विमान चार्टर गर्दा भएको अनियमितताको विषय पनि उनैले उजागार गरे । जसले आज प्रेम आलेको चर्चा चुलिएको छ । अहिलेको चर्चा सकारात्मक छ ।
भन्नेहरुले भनिरहेका छन् कि ‘संगत गुनाको फल भनेको यही हो’। हिजो ओलीसँग हुँदा उनका हरेक काम र बोलीहरुको नकारात्मक अर्थ लाग्थ्यो । आज उनको संगत ओलीसँग छैन र उनको काम र बोलीको अर्थपनि नकारात्मक लागेको छैन । सायद यसलाई एउटा संयोगनै मान्न सकिएला । चर्चा प्रेम आलेको मात्र होइन केही समय अघिसम्म विराटनगरमा प्रेम नाम गरेकै एकजना प्रशासक थिए, प्रेम सञ्जेल । आफ्नो कर्यकालको अन्तिमतिर सञ्जेलको चर्चा राष्ट्रिय रुपमै रह्यो । जनताको काम गर्ने तर शासकमाथि कटु बचन बोल्ने उनको शैली जनताले मन पराउँथे । जनताप्रति उत्तरदायी भएपछि उनले गर्ने एकदुई कमजोरी जनताले भुलिदिन्थे । हरेक समस्यामा परेका व्यक्तिको साथी र सहयोगी बन्ने उनको कार्यशैलीले सकारात्मक चर्चा बटुल्थ्यो । उनको बोल्ने शैली र भाष राम्रो थिएन तरपनि सेवाग्राही वा जनताले त्यो कमजोरीलाई छुट दिन्थे ।
यी दुई पात्रको कुरा गर्दा कतै नामको संयोग पनि मिलेको भान हुन्छ । दुवैको काम गर्ने र बोल्ने शैली मिल्दोजुल्दो । काममा इमान्दारिता, आक्रमकता र बोलीमा कटुता दुवैको समान छ । केही दिन अघि मन्त्री आलेले आफ्नै कर्मचारीलाई साँढे भनेर सम्बोधन गरे । सञ्जेल पनि आचरणमा कमजोर आफ्ना कर्मचारीलाई तँ भ्रष्टे भनेरै सम्बोधन गर्थे । तर, उनीहरु दुवैजना जनताप्रति उत्तरदायी र आफ्नो काममा लगनशील नै देखिए । यो पनि प्रेम नामको एउटा संयोग हो ।