सम्पादकीय
कोभिड १९ संक्रमणको तेश्रो लहर विश्वभर तीव्रगतिले फैलिँदै छ । छिमेकी भारतमा दैनिक २ लाखभन्दा धेरै मानिसहरुमा कोरोनाको संक्रमण भइरहेको छ । यो क्रम दिनहुँ बढिरहेको छ । नेपालमा पनि पछिल्लो १० दिनदेखि संक्रमण ज्यामितीय ढंगले बढिरहेको छ । दैनिक दुई सय जनामा सीमित हुनथालेको संक्रमण पछिल्लो १० दिनमा बढेर दैनिक ५ हजार जनामा प्रसार भइरहेको छ । यहि गतिका साथ संक्रमण बढ्ने हो भने अबको १५ दिनमा दैनिक २० हजार जनाभन्दा बढी संक्रमित हुने सम्भावना छ ।
तेश्रो चरणको संक्रमणले महामारीको रुप लिएपनि यसबाट हुने मानवीय क्षति भने त्यति डरलाग्दो पाइएको छैन । धेरै मानिसहरुले कोरोना भाइरस विरुद्धको खोप लगाएका कारणले गर्दा अस्पताल भर्ना हुने र ज्यान नै जाने जस्ता केसहरु अघिल्ला दुई भेरियन्टको तुलनामा कम पाइएको छ । त्यस अर्थमा खोप प्रभावकारी भएको मान्न सकिन्छ ।
विश्वमा कोरोना महामारी फैलिएपछि केही महिना त्यसविरुद्ध खोपको विकास होला वा नहोला भन्नेमा ठूलो चिन्ता छायो । संसारका वैज्ञानिकहरु त्यसमा केन्द्रित भए । खोपको प्रतीक्षामा संसारभरका मानिसहरु व्यग्र रहे । भाइरसले क्षति गर्न थालेको करिव एक वर्षपछि संसारमा खोपको विकास भयो । विभिन्न मुलुकले विभिन्न प्रकारका खोपहरु विकास गरे र परीक्षणका लागि मानिसहरुमा प्रयोग गर्न थालियो । त्यसले मृत्युको भयमा रहेका मानिसहरुलाई निकै ठूलो राहत दियो । खोपको सकारात्मक प्रभावसँगै खोपको माग बढ्यो । विश्वका धनी गरिब सबै देशहरुले आफ्नो विकास खर्च कटौति गरेर भएपनि नागरिकको जीवन रक्षाका खातिर खोप किन्न थाले । खोप पाउन लामो लाइनमा मुलुकहरु बसे । नेपालले पनि त्यसै प्रकृया र दातृ राष्ट्र र संस्थाहरुको सहयोगमा खोप ल्याएर जनतालाई लगाउन थाल्यो ।
प्रारम्भमा खोपप्रतिको विश्वास नभएकाले लक्षित समूहले खोप लगाएन । दोश्रो भेरियन्टको सुरुवात भएपछि मानिसमा फेरि मृत्युको त्रास बढ्यो र खोप लगाउन तँछाडमछाड गर्न थाले । खोपको सीमितता र ब्यापक मागका बीच सरकारले आपूर्ति गर्दै गयो । अहिलेसम्म ७५ लाख व्यक्तिले पहिलो मात्रा र करिव ५० लाख व्यक्तिले नेपालमा पूर्ण खोप लगाइसकेका छन् । तेस्रो भेरियन्टको सुरुवातसँगै सरकारले खोप अभियानलाई तीब्र बनाउने निर्णय गरेको छ । अहिले देशभरका हरेक पालिकामा खोप अभियान नियमित चलिरहेको छ । तर, १८ वर्षभन्दा माथिका नागरिकहरुका लागि चलाइएको खोप अभियानमा नागरिकहरुको उत्साहजनक सहभागिता नभइरहेको भन्दै सरकारले चिन्ता गर्न थालेको छ । सरकारले दैनिक ७ लाख जनासम्मलाई खोप लगाउने तयारी गरेर अभियान चलाउँदा खोप केन्द्रमा पुग्ने नागरिकको संख्या न्यून हुनथालेपछि केही दिन अघि प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले सार्वजनिकरुपमा चिन्ता गर्नुभयो । सर्वपक्षीय बैठक बोलाएर नागरिकहरुलाई खोपकेन्द्रसम्म ल्याउन र खोपप्रतिको सकारात्मक धारणा प्रसार गर्न सहयोग पनि उहाँले माग्नुभयो ।
लाखौं मानिसले खोप लगाइसकेको अवस्थामा खोपप्रतिको अविश्वासका कारणले मानिसहरु खोप लगाउन मानिरहेका छैनन् भनेर मान्न सकिदैन । बरु कतिपय ठाउँ र समुदायमा खोपप्रतिको नकारात्मक दृष्टिकोण विगतदेखिनै भएको हुनसक्छ । हात्तिपाइले रोग विरुद्धको औषधि सेवन अभियानमा शिक्षित र पढेलेखेकै मानिसहरुको सहयोग सरकारले पाएन । अहिले पनि खोपले असर गर्छ भन्ने जनमानसमा एक प्रकारको भ्रम छ । त्यस कारणले गर्दा पनि खोप अभियानमा मानिसहरु भनेजति सहभागी नभएको हुनसक्छ । अहिले खोप प्रयाप्त छ तर लगाइदिने मानिसको अभाव छ । त्यसैले सबैले खोपको आवश्यकता र महत्वको बारेमा जनतालाई बुझाउने काममा भूमिका खेल्नु पर्ने देखिन्छ । समाजसेवा र जनसेवामा खटिने राजनीतिक दल र नागरिक समाजको अहिलेको काम मानिसलाई खोप केन्द्रसम्म पु¥याउने विषय आजको प्राथमिकतामा राखेर काम गर्न सके संक्रमणको जोखिमबाट हामी अरुलाई बचाउन सक्छौं र आफूपनि बच्न सक्छौं ।