होल्डिङ सेन्टर भद्रगोल : भारतदेखि आएका संक्रमित सिधै घरमा

विराटनगर । सम्भावित संक्रमितलाई राख्न भनी विराटनगर–१६ जुट मिल्सभित्र बनाउन सुरु गरेको १ हजार शैय्याको होल्डिङ सेन्टर समयमै नबन्दा भारतदेखि आएका संक्रमित सोझै घर जाने गरेको पाइएको छ ।

निर्माणको प्रक्रियामा रहेको होल्डिङ सेन्टर तयारी अवस्थामा नरहँदा भारतको जोगवनी हुँदै विरानगर रानी नाकादेखि आएका संक्रमित सोझै घर जाने गरेका हुन् । रानी नाकामा रहेको हेल्थ डेक्सले संक्रमितहरुलाई उनीहरुको स्थायी ठेगाना रहेको स्थानीय तहसँग समन्वय गरेर घर पठाउने गरेको छ ।

रानी नाकाबाट पुस महिनामा दुई हजार ३९ जनाको परीक्षण गर्दा ५९ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । ‘तर संक्रमितहरुलाई राख्ने विराटनगर १६ मा बनेको होल्डिङ सेन्टर तयार भएको थिएन,’ सीमा नाका रानीमा रहेको हेल्थ डेक्सका एक कर्मचारीले भने, ‘केही उपाय नभएपछि घरै पठाइदियौं ।’ यसरी संक्रमित भएको पुष्टि हुँदा पनि समयमै संक्रमितलाई राख्ने आइसोलेन र होल्डिङ सेन्टर तयार भइनसक्दा संक्रमित सिधै घर जाने गरेका छन् । यसरी संक्रमित सिधै घर जाँदा संक्रमण फैलिने खतरा बढेर जाने चिकित्सकहरुले बताएका छन् ।

होल्डिङ सेन्टर निर्माणको काम अधुरै रहेका कारण नाकामा पोजेटिभ पुष्टि भएकाहरुलाई सिधै घर पठाउने गरिएको विराटनगर महानगरपालिकाका स्वास्थ्य संयोजक रमेश कार्कीले बताए । उनले भने, ‘एन्टिजेन पोजेटिभ देखिएकाहरुलाई आफन्तसँग सम्पर्क गरेर होम आइसोलेसनका लागि पठाउँछौं, होल्डिङ सेन्टर तयार भएको छैन ।’

सरकारले ५ वैशाखमै नेपाल भारत सीमा नजिक विराटनगरसहित ८ ठाउँमा एक हजार जना क्षमताको होल्डिङ सेन्टर बनाउने निर्णय गरेको थियो । १३ वैशाखमा होल्डिङ सेन्टर बनाउने जिम्मा नेपाली सेनालाई दिइएको थियो । तर अहिलेसम्म कुनै पनि होल्डिङ सेन्टर बनेर प्रयोग गर्न मिल्ने अवस्थामा छैन । अधिकांश स्थानमा होल्डिङ सेन्टर निर्माणकै चरणमा छ ।

विराटनगरमा सीमा क्षेत्रबाट प्रवेश गर्नेलाई लक्षित गरेर एक हजार बेड क्षमताको होल्डिङ सेन्टर निर्माणाधिन अवस्थामा छ । गत असार ३ गतेबाट निर्माण सुरु भएको होल्डिङ सेन्टरको एक महिना भित्र निर्माण सम्पन्न गर्ने नेपाली सेनाले लक्ष्य लिएको छ । सीमा क्षेत्रबाट प्रवेश गरेका संक्रमितहरुलाई नाकामै रोकेर परीक्षण गर्ने र पोजेटिभ पुष्टि भए उनीहरुलाई तत्कालै होल्डिङ सेन्टरमा पठाउनु पर्ने हो । तर, अहिले सीमा नाकाबाट प्रवेश गरेकाहरुमा संक्रमण देखा पर्दा पनि होल्डिङ सेन्टरहरुको निर्माण नै सकिएको छैन । अपेक्षाकृत रुपमा ढिलो गरी होल्डिङ सेन्टरको निर्माण हुँदा सम्भावित संक्रमितहरुको पहिचान र संक्रमणको रोकथाममा चुनौती थपिएको छ ।

प्रदेश १ मा विराटनगरको रानीसहित झापाको हडिया नेपाली सेनाले होल्डिङ सेन्टर निर्माणको व्यवस्थापन जिम्मा लिएर ठेकेदार कम्पनी हनुमान कन्ट्रक्सनलाई ठेक्का लगाएर निर्माणको काम अघि बढाएको छ । तर संक्रमणको जोखिम वृद्धि भइसकेका कारण होल्डिङ सेन्टरको औचित्यमाथि नै प्रश्न उठ्ने देखिएको छ ।

विराटनगरमा बन्ने होल्डिङ सेन्टरमा मूल क्वारेन्टाइन ब्लक, किचेन डाइनिङ र शौचालय गरी ५९ वटा ब्लकहरु बनिरहेका छन् । जसमध्ये किचेन डाइनिङ १५ वटा, चर्पी २२ वटा, सीमा नाकाबाट प्रवेश गर्ने नागरिकहरुलाई राख्ने क्वारेन्टाइन ब्लक २० वटा र प्रशासनिक ब्लक दुईवटा रहेका छन् ।

नेपाली सेनाका गणपति प्रशान्त बज्राचार्यका अनुसार होल्डिङ सेन्टर निर्माणको कुल लागत २८ करोड ९१ लाख ३३ हजार ६ सय ९३ रुपैयाँ ९३ पैसा रहेको छ । बज्राचार्यले पानी र बिजुलीको प्रबन्ध गरिदिएमा चार दिनमै सय बेड क्षमताको होल्डिङ सेन्टर तयार गर्ने बताए ।

बिहिबार, २९ पुष, २०७८, साँझको ०७:३० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर