गणेश लम्साल
विश्वमा आतंक फैलाइरुहेको मानिसबाट मानिसमा सर्ने कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ ले थप आतंक श्रृजना गरिरहेको छ । पश्चिमा देशहरुमा ‘ओमिक्रोन’ रोक्न उच्च सतर्कता अपनाउन थालिएको छ । कतै लकडाउन त कतै कफर्यु जारी हुन थालेको छ । छिमेकी भारतमा पनि ‘ओमिक्रोन’ तीब्र रुपमा फैलिरहेको छ । यसैले रोकथाम र नियन्त्रण गर्न भारत सरकार ठूला शहरहरुमा फेरि लकडाउन गर्न र ‘कफ्र्यु’ लगाउन बाध्य भएको छ । भारतमा ‘ओमिक्रोन’ भेरियन्टबाट संक्रमण हुनेहरु मात्र नभएर मृत्यु हुनेहरुको संख्या पनि बढ्दो छ ।
नेपालको पूर्व, दक्षिण र पश्चिम सीमा भारतसँग जोडिएको छ । र, ती खुल्ला सीमा नाकाहरुमा भइरहेको ‘एन्टिजेन’ परीक्षणले पनि कोरोना संक्रमण भारतबाट नेपाल भित्रिरहेको प्रष्ट्याएको छ । तर, नाकाहरुमा अझै आवश्यक सर्तकता अपनाइएको छैन । मानिसहरु हुरुरु आइरहेका छन् । नाकामा राखिएका हेल्थडेस्कमा केही शंकास्पदहरुलाई सोधपुछ गर्ने र एन्टिजेन परीक्षण गर्ने गरिएको भएपनि त्यो पर्याप्त छैन । जोगबनी नाकाकै कुरा गर्ने हो भने दैनिक ५ देखि ७ सय मानिसको ओहोरदोहोर छ । नाकामा किनमेल गर्न जोगबनी बजार जाने आउनेको संख्या त हजारौं हुन्छ ।
नाकामा एउटा मात्र हेल्थडेस्क छ । त्यहाँ बढीमा ८ देखि १० जना मात्र स्वास्थ्यकर्मी छन् । यसैले उनीहरुले मात्र आउनेहरु सबैलाई चेकजाँच गर्न संभव पनि छैन । तर, यो सबै जान्दाजान्दै पनि नत प्रदेश सरकार न त विराटनगर महानगरपालिकाले नाकामा चेकका लागि हेल्थडेस्क र आवयश्क जनशक्ति बढाएको छ । प्रदेश सरकार अझै तयारी बैठकमै सीमित छ । प्रदेश सरकारको हाम्रो मास्क खोई ? अभियान पनि नाकामा हुरुरु आइरहेका मानिसहरु हेरेर मज्जाले हाँसिरहेको छ ।
खुल्ला सीमाना भएकोले सबैतिर आवतजावतमा रोक छैन । साना नाकाहरुमा चेकजाँच र परीक्षण छैन । पहिले राखिएका हेल्थडेस्कहरु पनि हटाइएका छन् । भारतबाट आउनेहरुलाई होल्डिङ सेन्टरमा राख्न थालिएको छैन । भदौमै निर्माण सम्पन्न हुनुपर्ने होल्डिङ सेन्टहरुको निर्माण अझै अधुरै छ ।
भोग्नुसम्म सास्ती भोगेर पनि बिर्सन खप्पिस हामीले पनि आफ्नो हेलचेक्र्याई पारालाई सच्याउन चाहेकै छैनांै । आफ्नो जीवनशैलीमा कुनै परिवर्तन नै ल्याउन चाहेनौं । यसैले पटक–पटक हामी नयाँ भेरियन्टबाट संक्रमण भइरहेका छौं र अरुलाई पनि बनाइरहेका छौं । लकडाउनका बेला घरघरमा सुरक्षित तरिकाले खाद्यान्न, लत्तापकडा तरकारी आदि सबै उपभोग्य वस्तु पुग्न थालेको थियो । सुरक्षित अनलाइन सपिङ सेवा पनि फस्टाएको थियो । तर, हामीलाई घुँईचोमा शहरबजार पुगेर किनमेल नगरि भएन । मास्क लगाउनु र सामाजिक दुरी कायम गर्नुलाई हामीले आफूमाथि लादिएको सजाय हो भन्ने ठान्यौं । कोरोना संक्रमण कम मात्र के भएको थियो धमाधम तडकभडक चाड मान्ने, बिहे र उत्वसहरु गर्ने, भेला सम्मेलन र अधिवेशन अनि महाधिवेशनहरु पनि निरन्तर आयोजना गरिरहयौं ।
कोरोना संक्रमणबाट जोगिन सामाजिक दुरी र मास्क लगाउनु पहिलो सुरक्षा हो भन्ने जान्दाजान्दै पनि सार्वजनिक सवारी साधानमा पुरानै शैलीले कोचमकोच यात्रुहरु कोचेर यात्रा गराउन छाडिएन । विपन्नहरुलाई सुरक्षा सामग्रीहरु वितरण गर्ने काम पनि छाडियो । अर्कोतिर गाउँघरमा आउने नयाँ मानिस र पाहुना पाखाहरुबारे चासो पनि राख्न छाडियो । सबै जना खोप लगाइसकेका छौं, अब कोरोना चपाइसकियो भनेर अति आत्मविश्वासी बनेर हेलचेक्र्याई गर्न छाडेनौं । तीनै तहका सरकार र उसका प्रहरी प्रशासनले पनि देश कोरोनामुक्त भएको झंै ठानेर रोकथाम र नियन्त्रणका लागि नियमन गर्न छाडिदिए ।
तर, होसियार ! कोरोनाको तेस्रो भेरियन्ट ‘ओमिक्रोन’ बाजा बजाउँदै नेपालमा पनि आइसकेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार यो भेरियन्ट पहिलेको ‘डेल्टा’ भेरियन्ट भन्दा खतरनाक छ । हाल वितरण भइरहेका खोपहरुले ‘ओमिक्रोन’ भेरिन्टलाई परास्त गर्न सक्छन कि सक्दैनन भन्ने निष्कर्ष अझै अध्ययनमै सीमित छ । र डबल डोज मात्र नभएर ‘बुस्टर’ खोप लगाईसकेकाहरुलाई समेत ‘ओमिक्रोन’ भेरिन्ट संक्रमण भइरहेको छ । यसैले पनि यो भेरियन्टलाई खतरनाक मानिएको छ ।
यसैले ‘प्रिभेन्सन ईज वेटर देन केयर’ भन्ने बुझेर सुरक्षा सर्तकता अपनाऔं । आफ्नो दैनिकी परिवर्तन गरेर सकेसम्म सुरक्षित बनांै । भीडभाड कम गरौं । सार्वजनिक स्थानहरुमा हुने भीडभाडलाई प्रशासनबाट रोक लगाआंै । चाहे त्यसका लागि ‘स्मार्ट लकडाउन’ वा निषेधाज्ञा नै गर्न किन नपरोस् । सामाजिक दुरीको पालना र मास्क परिहरनलाई अनिवार्य बनाआंै । अटेर गर्ने उपभोक्ता, व्यवसायी, कर्मचारी, नेता, अधिकारकर्मी जो भएपनि दण्डित गरौं । रोकथाम र नियन्त्रणका लागि सबै संरचनाहरु स्तरोन्नति गरेर तयारी अवस्थामा राखांै । उपचारमा संलग्न दक्ष जनशक्ति बढाऔं ।
‘ओमिक्रोन’ महामारी साँच्चै फैलियो भने रोकथाम र नियन्त्रण हाम्रो क्षमताभन्दा बाहिर हुनेछ । अनि हानी हामीले नै भोग्नुपर्ने छ । हामी बाच्यौं भने मात्र देश बाँच्नेछ । कल्पना गरांै त, ‘कोरोनाले सदस्य गुमाएका परिवारमा के बितिरहेको होला ?’