गत भदौमै निर्माण सक्ने भनेको विराटनगर र मेचिनगरको ‘होल्डिङ सेन्टर’ अझै सकिएन

विराटनगर । प्रदेश १ मा कोरोना संक्रमण रोकथामका लागि शंकास्पदहरू राख्नका लागि विराटनगरमा निर्माण भइरहेको होल्डिङ सेन्टरको अझै निर्माण पुरा हुन सकेको छैन ।

संघीय सरकारले उपलब्ध गराएको कुल २८ करोड ९१ लाख रुपैयाँ बजेटमा विराटनगर महानगरपालिका १६ स्थित बन्द रहेको विराटनगर जुटमिल परिसरको खाली जमिनमा निर्माण भैरहेको ‘होल्डिङ सेन्टर’ ७५ प्रतिशत मात्र काम पुरा भएको छ ।

होल्डिङ सेन्टर नेपाली सेना मार्फत हनुमान कन्ट्रक्सन कम्पनीले धमाधम निर्माण गरिरहेको र एक महिनाभित्र निर्माण सम्पन्न गरिसक्ने अर्जुनवाण गण थलाहा मोरङका गणपति अमृत थापाले जानकारी दिए । उनका अनुसार स्थान छनौटलगायत कार्य ढिलाई हुँदा भदौमा सम्पन्न भइसक्नुपर्ने होल्डिङ सेन्टर समयमा निर्माण सम्पन्न हुन नसकेको हो ।

नेपाली सेनाले नै प्रदेश १ को झापा मेचीनगर नगरपालिका १४ धाइजनमा पनि धमाधम होल्डिङ सेन्टर निर्माण गरिरहेको छ । धाइजनमा नदी उकास जमिनमा संरचना निर्माण गरेर होल्डिङ सेन्टर निर्माण भैरहेको प्रदेश १ सरकारको आन्तरिक मामलिा तथा कानुन मन्त्रालयको विपद व्यवस्थापन शाखाले जनाएको छ ।

प्रदेश १ मा नेपाली सेनाले निर्माण गराइरहेको दुवै ‘होल्डिङ सेन्टर’ को काम ७५ प्रतिशत सकिएको पाइएको प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रदेश सचिव कालिप्रसाद पराजुलीले जानकारी दिए । दुवै होल्डिङ सेन्टरको प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नेतृत्वको टोलीले अनुगमन गरिसकेको छ । सबै संरचना निर्माण भइनसके पनि आवश्यक परे दुवै होल्डिङ सेन्टरमा तीन सय जनासम्म मानिस राख्न सकिने छ ।

दुवै होल्डिङ सेन्टरमा आरामसँग सुत्ने, बस्ने, शौच गर्ने खाने मात्र नभएर खाना पकाउने किचनदेखि आन्तरिक अस्पतालको सुविधा समेत हुनेछ । प्रदेश १ मा लकडाउनको सयमा कोरोना संक्रमण रोकथामनका लागि निर्माण गरिएका अस्थायी होल्डिङ सेन्टरहरु सबै बन्द भइसकेका छन् । पालिकाहरुमा निर्माण भएका आइसोलेसन सेन्टहरुलाई यथावत राखेर साना होल्डिङ सेन्टरको रुपमा विकास गर्न सबैललाई प्रदेश सरकारले निर्देशन गरिसकेको प्रदेश सचिव पराजुलीले बताए ।

बिहिबार, २२ पुष, २०७८, साँझको ०६:४६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर