विराटनगर । मोरङको धनपालथान गाउँपालिका–६ कदमाहमा पब्लिक हस्पिटलले २५ शैयाको अस्पताल सञ्चालनमा ल्याएको छ । रंगेलीका मनिस कुमार यादव र धनपालथानका पंकज कुमार यादवले २० लाखको लगानीमा बिहीबारदेखि सो अस्पतला संचालनमा ल्याएका हुन् ।
स्थानीय स्तरमा सहज रूपमा स्वास्थ्य उपचार सेवा प्रदान गर्ने उद्देश्यले हस्पिटल संचालनमा ल्याएको बताइएको छ । स्थानीयमा उपचारको सहज पहुँच होस भन्ने उद्देश्यका साथ अस्पताल सञ्चालनमा ल्याईएको सञ्चालक पंकज यादवले बताए । ‘यहाँका स्थानीयले सामान्य स्वास्थ्य उपचारका लागि पनि पुर्वमा रङ्गेली र पश्चिममा कटहरी वा विराटनगर पुग्नुपर्ने बाध्यता छ । हामीले टाढा जानुपर्ने समस्याको अन्त्य गरेका हौं,’ उनले भने ।
अस्पतालमा ल्याब, एक्स–रे, इसिजी, युएसजी, फार्मेसी र २४ घण्टे आकस्मिकका साथै ओपिडिका सम्पूर्ण सेवाहरु उपलब्ध छन् । अस्पतालमा हाडजोर्नी तथा नशारोग, स्त्री तथा प्रसुती रोग, जेनेरल सर्जरी, मुटुरोग, बालरोग तथा नवजात शिशु, रेडियोलोजी र डेन्टल सम्बन्धी सेवाहरु समेत उपलब्ध रहेको सञ्चालक मनिस कुमार यादवले बताए । गुणस्तरीय तथा भरपर्दो सेवा प्रवाहको बिषयलाई दृष्टिगत गर्दै अस्पतालमा दक्ष तथा अनुभवी चिकित्सकद्धारा सेवा प्रवाह हुने उनको भनाई छ । अस्पतालमा एमबीबीएस डाक्टर १, हेल्थ असिस्टेन्ट १, ल्याब टेक्निसियन १ र फार्मेसीमा १ जना सहित ४ जनाको टीमले सेवा दिईरहेका छन् ।