मेडिकल शिक्षामा मनपरी : नोवेलको अड्डी र सरकारी लाचारीको मारमा विद्यार्थी

विराटनगर । एमबीबीएस प्रथम वर्षमा भर्ना भएका विद्यार्थीबाट जसरी पनि अतिरिक्त शुल्क लिएरै छाड्ने नोवेल कलेजको अड्डीका अघि सरकार लाचार बन्दा अस्पताल परिसरमा तनाव उत्पन्न भएको छ ।

बुधबार दिनभरजसो विराटनगरस्थित नोवेल अस्पताल परिसर तनावग्रस्त रह्यो । चिकित्सा शिक्षा आयोगले निर्धारण गरेभन्दा चार लाखभन्दा बढी रकम विद्यार्थीबाट असुल्ने अड्डीमा रहेको कलेजमा विद्यार्थीहरूले तालाबन्दी गरेका छन् । त्यहीक्रममा विद्यार्थी संगठनले तोडफोडसमेत गरेका छन् । नोवेलले कानुन विपरित शुल्क लिने अडान राखेर विद्यार्थी रोक्दा पनि सरकार भने रमिते मात्रै बनेको आरोप पीडित विद्यार्थीले लगाएका छन् ।

त्यसक्रममा पाँच जना विद्यार्थी घाइते भएका छन् । अनेरास्ववियू क्रान्तिकारी मोरङ सहसचिव उमेश सेन्चुरीको हात भाँचिएको तथा नेविसंघका स्वस्तिक बराल घाइते भएको क्रान्तिकारीका केन्द्रीय सदस्य अभिमन्यु यादवले जानकारी दिए ।

अखिल क्रान्तिकारी, नेविसंघ, एकीकृत समाजवादी निकट अखिल, एमाले अखिल, जसपाको समाजवादी विद्यार्थी युनियनले विद्यार्थी आन्दोलनमा ऐक्यबद्धता जनाउँदै आन्दोलनमा सहभागी भएका छन् । उनीहरुको उपस्थितिका कारण नोवेल परिसरमा ठूलो संख्यामा प्रहरी परिचालित गरिएको थियो ।

एमबीबीएस प्रथम वर्षमा अध्ययनरत विद्यार्थीहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै विभिन्न पाँच विद्यार्थी संगठनहरुले नोबेल मेडिकल कलेजको प्रशासन फाँटको मुल गेटमा अनिश्चितकालीन तालाबन्दी गरेका हुन् । अतिरिक्त शुल्क नबुझाएको निहुुँमा नोवेल मेडिकल कलेजले ८० हाराहारी विद्यार्थीलाई दुई सातादेखि कक्षा प्रवेशमा रोक लगाएको छ ।

ती विद्यार्थी कक्षा प्रवेशका लागि आन्दोलनरत छन् । तिनै विद्यार्थीको समर्थनका लागि पुगेका विद्यार्थी संगठनहरुले नोवेलको मुल गेट तोडफोड गरेपछि चौथो तलामा रहेको प्रशासन फाँटमा तालाबन्दी गरेका हुन् । विद्यार्थीहरुको माग पुरा गर्न नोबेल मेडिकल कलेजलाई पत्रकार सम्मेलन गरेर विद्यार्थी संगठनहरुले २४ घण्टे अल्टिमेटम दिएका थिए ।

विद्यार्थीले दिएको समयसीमा सकिँदा पनि मागको सुनवाइ नभएपछि आन्दोलित विद्यार्थीसहित विभिन्न पाँच विद्यार्थी संगठनहरुले तालाबन्दी गरेको चिकित्सक शिक्षा संघर्ष समितिका संयोजक मनिष भट्टराईले जानकारी दिए । ‘कलेज प्रशासनले विद्यार्थीको माग सुनवाइ गर्ने कुनै पनि सकात्मक भूमिका नदेखाएपछि बाध्य भएर कलेज प्रशासनमा तालाबन्दी गर्नुपरेको छ,’ उनले भने, ‘वार्ताको माध्यमबाट माग सुनवाइ गर्ने वातावरण नभएसम्म यो तालाबन्दी रहिरहनेछ ।’ प्रशासनले अतिरिक्त शुल्क नलिने सहमति गरेपछि मात्र विद्यार्थीहरुको आन्दोलन रोकिने उनले बताए ।

१४ लाख ८५ हजार रुपैयाँ बुझाएर एमबीबीएस प्रथम वर्षमा भर्ना भएका विद्यार्थीसँग नोवेलले विभिन्न शीर्षकमा ४ लाखभन्दा बढी रकम असुल्न खोजिरहेको छ । यसपटक नोवेलमा एक सय जना विद्यार्थी एमबीबीएसमा भर्ना भएका छन् ।

नोवेल डा. सुनिल शर्माको स्वामित्वमा रहेको स्वास्थ्य प्रतिष्ठान हो । नेपाली काँग्रेसका नेतासमेत रहेका नोवेलका सञ्चालक डा शर्माले आफूहरुबाट अनावश्यक शुल्क असुल्न खोजेको विद्यार्थी र अभिभावकको भनाइ छ । यसअघि प्रशासनकै रोहबरमा भएको छलफलमा कलेज व्यवस्थापनले शुल्क नलिने भनेपछि विद्यार्थी र अभिभावक ढुक्क बनेका थिए । तर, गत बुधबारदेखि सुरु भएको कक्षा प्रवेश गर्नु अघि शुल्क अनिवार्य बुझाउन कलेजले विद्यार्थीलाई ताकेता गरिरहेको छ ।

विद्यार्थी र अभिभावकहरु भने चिकित्सा शिक्षा आयोगले तोकेकोबाहेकका कुनै पनि शुल्क नबुझाउने अडानमा छन् । नोबेलले एमबीबीएस भर्ना हुने विद्यार्थीबाट इन्टर्नसीप वापत २ लाख ४० हजार, विश्वविद्यालय सम्बन्धन शुल्क वापत ९८ हजार र होस्टल शुल्क १ लाख ४४ हजार लगायतका अन्य धेरै शुल्क बुझाउन विद्यार्थीलाई दवाव दिँदै आएको विद्यार्थीले बताएका छन् । चिकित्सा शिक्षा आयोगले तोकेभन्दा नोवेलले हरेक विद्यार्थीसँग ४ लाख ८२ हजार रुपैयाँ अतिरक्त शुल्क असुल्न खोजिरहेको छ । चिकित्सा शिक्षा आयोगले एमबीबीएसका लागि तोकेको जम्मा शुल्क ४४ लाख ३६ हजार २५ रुपैयाँ हो । पाँच वर्षे कोर्सको प्रथम वर्षवापतको १४ लाख ८५ हजार रुपैयाँ विद्यार्थीले काठमाडौं विश्वविद्यालयलाई बुझाइसकेका छन् । नोवेलले विश्व विद्यालयबाट लिइसकेको छ ।

बुधबार, २१ पुष, २०७८, साँझको ०६:५२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर