विराटनगर । एमबीबीएस पहिलो वर्षको कक्षा सुरु भएको दोस्रो साता सुरु हुँदा पनि विराटनगरस्थित नोबेल मेडिकल कलेजका ८० भन्दा बढी विद्यार्थी कक्षा प्रवेश गर्न पाएका छैनन् ।
चिकित्सा शिक्षा आयोगले निर्धारण गरेभन्दा चार लाखभन्दा बढी रकम विद्यार्थीबाट असुल्ने ध्येयमा रहेको नोवेलले आइतबार पनि ११ जना विद्यार्थीलाई मात्रै कक्षामा सहभागी गराएको छ । ‘आज पनि सधैं कक्षा हुने ठाउँभन्दा अलग्गै लगेर ११ जनालाई पढाइएको छ,’ अतिरिक्त शुल्क बुझाउन अस्वीकार गरेका विद्यार्थीहरुले भने ‘बुधबारदेखि कक्षा सुरु भएको हो । यो विवाद साम्य नभएसम्म कक्षा नचलाउन गरेको आग्रह कलेजले मानेन । हाम्रो पढाई छुटिरहेको छ ।’
बुधबार गेटमै सुरक्षा गार्ड र अन्य व्यक्ति खटाएर विद्यार्थी रोकेको नोवेल प्रशासनले बिहीबार पनि रोकेको थियो । कलेजले रोकेपछि शुक्रबार विद्यार्थी गएनन् । आइतबार फेरि पढ्न गएका विद्यार्थीलाई प्रवेश नै नदिइएपछि विद्यार्थीहरुले कलेज परिसरमै प्रदर्शन गरेका थिए ।
‘अरु ११ जना भित्र पढिरहँदा हामी ८० जना हाराहारी विद्यार्थीले आज प्रर्दशन गर्यौं,’ ती विद्यार्थीले भने ‘कलेजले हामीलाई अन्याय गरिरहेको छ ।’ नोवेल डा सुनिल शर्माको स्वामित्वमा रहेको स्वास्थ्य प्रतिष्ठान हो । नेपाली काँग्रेसका नेतासमेत रहेका नोवेलका सञ्चालक डा शर्माले आफूहरुबाट अनावश्यक शुल्क असुल्न खोजेको विद्यार्थी र अभिभावकको भनाइ छ ।
यसअघि प्रशासनकै रोहबरमा भएको छलफलमा कलेज व्यवस्थापनले शुल्क नलिने भनेपछि विद्यार्थी र अभिभावक ढुक्क बनेका थिए । तर, बुधबारदेखि सुरु भएको कक्षा प्रवेश गर्नु अघि शुल्क अनिवार्य बुझाउन कलेजले विद्यार्थीलाई ताकेता गरिरहेको छ ।
विद्यार्थीका अनुसार यसपटक नोवेलमा एमबीबीएस पहिलो वर्षमा १ सय विद्यार्थी भर्ना भएका छन् । तीमध्ये १० जना छात्रवृत्ति अन्तर्गतका, नौ जना भारतीय छन् । केही विद्यार्थीले अतिरिक्त शुल्क बुझाएका छन् ।
विद्यार्थी र अभिभावकहरु भने चिकित्सा शिक्षा आयोगले तोकेकोबाहेकका कुनै पनि शुल्क नबुझाउने अडानमा छन् । नोबेलले एमबीबीएस भर्ना हुने विद्यार्थीबाट इन्टर्नसीप वापत २ लाख ४० हजार, विश्वविद्यालय सम्बन्धन शुल्क वापत ९८ हजार र होस्टल शुल्क १ लाख ४४ हजार लगायतका अन्य धेरै शुल्क बुझाउन विद्यार्थीलाई दवाव दिँदै आएको विद्यार्थीले बताएका छन् । चिकित्सा शिक्षा आयोगले तोकेभन्दा नोवेलले हरेक विद्यार्थीसँग ४ लाख ८२ हजार रुपैयाँ अतिरिक्त शुल्क असुल्न खोजिरहेको छ ।
चिकित्सा शिक्षा आयोगले एमबीबीएसका लागि तोकेको जम्मा शुल्क ४४ लाख ३६ हजार २५ रुपैयाँ हो । पाँच वर्षे कोर्सको प्रथम वर्षवापतको १४ लाख ८५ हजार रुपैयाँ विद्यार्थीले काठमाडौं विश्वविद्यालयलाई बुझाइसकेका छन् । नोवेलले विश्वविद्यालयबाट लिइसकेको छ ।