डा. सुभाषश्री पोखरेल
नेपालमा विज्ञानमा स्नातक सकेर भारत सिक्किमको मनिपाल विश्वविद्यालयबाट सूचना प्रविधिमा स्नातोकोत्तरपछि दक्षिण कोरियाको ‘चोङबुक नेशनल युनिभर्सिटी’बाट विद्यावारिधि गरेका छन् डा. सुभाषश्री पोखरेलले । उनै पोखरेल देशकै पहिलो मनमोहन प्राविधिक विश्वविद्यालय (मनमोहन टेक्निकल यूनिभर्सिटी–एमटीयु)का उपकुलपति छन् । मोरङको बुढीगंगा गाउँपालिका ४ हात्तीमुढामा रहेको मनमोहन पोलिटेक्निकलाई प्राविधिक विश्वविद्यालयमा रुपान्तरण गराउन सुनसरीको दुहबी निवासी पोखरेलको प्रमुख भूमिका छ । पहिले उनी मनमोहन स्मृति प्रतिष्ठानले सञ्चालन गर्दै आएको मनमोहन प्रोलिटेक्निकका कार्यकारी निर्देशक थिए । उनकै अवधारणामा तत्कालिन नेकपा प्रदेश १ सरकारले संसदबाट ऐन निर्माण गरेर २०७६ मा मनमोहन पोलिटेक्निकलाई प्राविधिक विश्वविद्यालयमा रुपान्तरण गरेको थियो । प्रस्तुत छ देशकै पहिलो प्राविधिक विश्वविद्यालयको अवस्थाबारे भिसी पोखरेलसँग गरेको कुराकानी :
तपाइँलाई देशकै पहिलो प्राविधिक विश्वविद्यालयको उपकुलपति हुने अवसर प्राप्त भयो । कस्तो महसुस भइरहेको छ ?
दुरदर्शी लक्ष्यसहितको अवधारणाले कानुनी रूपमै वैधता पाएको छ र गर्विलो महशुस भएको छ । देशकै गौरवलाई फलाउने फुलाउने अवसर पाएको छु । यसैले जोस जाँगर साथ दक्षिण एसियाकै देखिने र चिनने प्राविधिक विश्वविद्यालय बनाउन सकिन्छ भन्ने सोचका साथ काम तीब्र रुपले भइरहेको छ । हाम्रो ड्रिम एमटीयूलाई पनि भारतको प्रसिद्ध आइआइटी जस्तै बनाउने रहेको छ । यसैले समस्या झेलेर अनि चुनौती मोलेरै भएपनि त्यसलाई सफल बनाउन लागिपरिरहेका छौं । किनभने अबको २० वर्षमा पनि देशमा सम्वृद्धि आएन भने हामी आन्दोलन गर्दागर्दै सिद्धिने छौं ।
प्राविधिक शिक्षालय र विश्वविद्यालयको जिम्मेवारीमा कति धेरै फरक हुँदोरहेछ ?
सानो स्कुलको होस वा ठूलो स्कुलको आखिर हेडसर त हेडसर नै हो । पहिले पनि म पोलिटेक्निकमा हेडसर नै थिएँ । अहिले विश्वविद्यालयमा पनि हेडसर नै छु । फरक कामको क्षेत्र विस्तार भएको मात्र हो । अनि शिक्षालय र विश्वविद्यालयको कामको प्रकृतिमा फरक त हुने नै भयो । किनभने शिक्षालयमा सेमी दक्षता उत्पादन गरे पुग्दथ्यो । तर विश्वविद्यालयमा त स्केलको दक्षता पनि बढाउनुपर्छ । अविष्कार पनि थप्नुपर्छ । पहिले ‘बटम टु टप’ सिद्धान्तले हुन्थ्यो तर अब त ‘टप टु बटम’ थ्यौरी अगाल्नुपर्छ । यसैले जिम्मेवारी अलि फरक र चुनौतीपूर्ण नै छ ।
मनमोहन प्राविधिक विश्वविद्यालयले यही शैक्षिक सत्रदेखि रेल र पानीजहाजको पठनपाठन सुरु गर्ने कुरा थियो तर अहिलेसम्म किन सुरु नभएको ?
हामीले पाठयक्रमदेखि अन्य सबै तयारी पुरा गरिसकेका छौं । यही मंसिरदेखि ईन्जिनियरिङतर्फको पढाई थाल्नुपर्ने थियो । इन्जिनियरिङ काउन्सिलबाट पाठयक्रम स्विकृत पनि भइसकेको छ । तर संघीय सरकारको भौतिक मन्त्रालयले काउन्सिलले पठाएको फाइल क्याविनेटमा लान ढिलो गर्दा कक्षा सञ्चालन गर्ने अनुमति पाइसकेका छैनौ । यसैले पहिलो शैक्षिक सत्र सुरु गर्न ढिलो भइरहेको छ । अब चाँडै फाइल स्विकृत भए प्रक्रिया पुर्याएर फागुनदेखि सिभिल इन्जिनियरिङ र इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ स्नातकतहको पढाई सुरु गर्नेछौं । रेल र पानी जहाजको पढाई पनि त्यहीँभित्र पर्छ ।
कुन–कुन तहमा के–के विषयमा पठनपाठन हुन्छ एमटीयूमा ?
देशमा दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्न इन्जिनियरिङ र पारामेडिकल अनि प्लान्ट साईन्स अन्तर्गत विभिन्न विषयमा क्रमशः स्नातकदेखि स्नातोकोत्तर तहको पठनपाठन गर्ने योजना बनाएको छ । एमटुयुले परामेडिकतर्फ मेडिकल ल्याब्रोटोरी टेक्नोलोजी, पब्लिक हेल्थ, अप्टोमेट्री, प्याथोलोजी, फार्मेसी अनि प्लान्ट साइन्स अन्तरगत एग्रिकल्चर, फोरेष्ट्री र भेटनरी साइन्सलगायतका विषयमा स्नातकतहको शैक्षिक सत्रका लागि आवश्यक भौतिक संरचना र पाठयक्रम पनि निर्माण गराइसकेका छौं । इन्जिनियरिङतर्फको ब्याचलर लेबलको दुई वटा कार्यक्रममको पढाई यसै वर्षभित्र सुरु गराइसक्छौ ।
परामेडिकलतर्फको शैक्षिक सत्र चाँही कहिलेदेखि सुरु हुन्छ ?
हाम्रो योजना पारामेडिकलतर्फको स्नातक तहको चार वर्षे कार्यक्रम पनि यही वर्षदेखि सुरु गराउने थियो । पाठयक्रम बनाएर मेडिकल काउन्सिलबाट स्विकृत पनि गराइसकेका छौं । तर स्वास्थ्य शिक्षा ऐन अनुसार ७५ प्रतिशत विद्यार्थीलाई छात्रवृत्ती दिनुपर्ने बाध्यात्मक व्यवस्थाले हामीले अनुमति पाउन सकेका छैनौ । हामीले छात्रवृत्ती दिन प्रदेश सरकारलाई अनुरोध गर्यौं । तर बजेट अभावले प्रदेश सरकारले छात्रवृत्ती दिन सकेन । मात्र संघीय सरकारलाई आग्रह मात्र गरिदियो । अनि संघीय सरकारले आफूमातहतको नभएको भन्दै छात्रवृत्ती दिन चाहेन । यसैले चालु वर्ष कक्षा सुरु हुन सकेन । तर आगामि वर्ष सरकारले छात्रवृत्ती दिनेमा हामी ढुक्क छौं ।
हाल एमटीयूले अन्य के कस्ता कामहरू गरिरहेको छ ?
हामी धमाधम भौतिक संरचना निर्माण गराइरहेका छौं । छ वटा विषयमा पाठयक्रम निर्माण गराइसकेका छौं । थप पाठयक्रम निर्माण हुँदैछन् । यसै सत्रदेखि इन्जिनियरिङतर्फ चार वर्षे व्याचलरको दुई विषयमा पठनपाठन सुरु हुँदैछ । एमटियुको साधारण सभापछि रजिष्ट्रार र डिन नियुक्त गराएका छौं । कर्मचारी र विज्ञहरु भर्ना गराउन लोकसेवासँग अनुमति मागिरहेका छौं । यसबाहेक आन्तरिक कानुन निर्माण गर्नेदेखि देश र विदेशका विश्वविद्यालयहरुसँग सम्बन्ध विस्तार गर्ने कार्य पनि अगाडि बढीरहेको छ ।
आर्थिक स्रोत जनशक्ति व्यवस्थापन के कसरी भइरहेको छ ?
हामीलाई बजेटको चरम अभाव छ । प्रदेश सरकारले आपेक्षाकृत बजेट दिनसकेको छैन । चालू वर्षमा जम्मा हामीलाई ५ करोड मात्र बजेट प्राप्त भएको छ । त्यसमा पनि पुँजीगत त १ करोड १० लाख मात्र छ । संघीय सरकारले ५ करोड निर्माण कार्यका लागि दिएको छ । तर बजेट अभाव भएपनि हामी दृढ इच्छा शक्तिले काम धमाधम गरिरहेका छौं । हामीले टियुसँग अनुभवी रजिष्ट्रार अनि केयुसँग डिन मागेर नियुक्त गराएका छौं । अन्य अनुभवी जनशक्ति हामी आवश्यकता अनुसार नियुक्त गर्दै जाने छौं ।
सरकार परिवर्तनले नयाँ विश्वविद्यालयलाई असर परेको छ कि छैन ?
पक्कै पनि असर त परिहाल्छ नि । किनभने देशको मुल कुरो नै राजनीति हो । अनि राजनीतिमा हलचल हुने वित्तिकै त्यसको असर सबैतिर पर्ने नै भयो । सरकार परिवर्तन हुँदा नयाँ मन्त्री र मुख्यमन्त्रीहरूलाई एमटीयूको अवस्था सुरुदेखि बुझाउनु पर्ने हुन्छ । बुझाउन सकिएन भने बजेट प्राप्त गर्न मात्र नभएर धेरै काममा बाधा पर्छ ।
एमटीयू एउटा पार्टीको मात्र भयो । यसैले विधान शंसोधन गरेर साझा बनाएर क्षेत्र बिस्तार गर्नुपर्छ भन्ने वर्तमान सरकारको भनाइ छ । के विधान शंसोधन गर्नुपर्छ ?
हामीले एमटियूलाई कुनै एउटा पार्टीका लागि हैन सबैको साझा सम्पत्तिका रुपमा स्थापना गराएका हौं । यसको ऐन पनि स्वायत्त रुपले बनेको छ । यसको मुख्य लक्ष्य भनेको नै देशलाई आवश्यक दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्नु हो । यसैले अहिले नै ऐन नै शंसोधन गरिहाल्नुपर्ने आवश्यकता चाँही म देख्दिन । किनभने हामी जसरी नै तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीले स्थापना गर्न अनुमति दिएको केयू (काठमाडौं यूनिभर्सिटी) अहिले सबैको साझा छ । कुनै पार्टीको भएको छैन ।
अनि एमटियूले आफ्नो सम्बन्ध कसरी विस्तार गरिरहेको छ ?
हामीले काठमाडौं युनिभर्सिटीसँग सम्बन्ध बिस्तार गरेका छौं । केही कुरामा सम्झौता पनि भएको छ । अनुभव आदानप्रदान पनि हुन थालेको छ । अर्को हामीले भारतको आइआईटी– ईण्डियन ईन्स्टिच्युट अझ टेक्नोलोजी) सँग पनि सम्बन्ध बनाउन परिपत्र गरिसकेका छौं । हाम्रो लक्ष्य सन् २०३० सम्म एमटीयुलाई दक्षिण एसियामा देखिने, चिनिने गरि आइआइटी जस्तै बनाउने हो ।
एमटीयुको हालको मुख्य प्राथमिकता के हो ?
भौतिक संरचना र पाठयक्रम निर्माण । जनशक्ति व्यवस्थापन । विज्ञ र दक्ष कर्मचारीहरुको नियुक्ति । चाडै शैक्षिक सत्र सञ्चालन अनि दक्ष प्राविधिक जनशक्ति उत्पादनका लागि गुणस्तरिय पठनपाठन नै हो । सुरुमा हामी पठनपाठन गर्ने विषय अनि हामीसँग भएको भौतिक पूर्वाधारबारेको प्रचारप्रसारमा पनि जोड दिन्छौ ।
एमटीयूले हालसम्म के कस्ता भौतिक संरचना निर्माण गरिसक्यो ?
हामीले इन्जिनिरिङका लागि विभिन्न ६ प्रकारका ल्याव स्थापना गराइसकेका छौं । अनुसन्धान केन्द्र स्थापना भएर अनुसन्धान पनि सुरु गरिसकेको छ । पारामेडिकलतर्फको भवन निर्माण लगभग अन्तिम चरणमा पुगिसकेको छ । प्लान्ट साइन्सका लागि बोटानिकल गार्डेन पनि स्थापना गराइसकेका छौं । थप आवश्यक संरचनाहरु धमाधम निर्माण गदैजाने छौं ।
एमटीयूले गरिब, सिमान्तकृत र दलित समुदायका विद्यार्थीबारे कस्तो नीति लिन्छ ?
हामीले प्रत्येक विषयको प्रत्येक कार्यक्रममा हरेक वर्ष दुई जना स्थानीयलाई कोटा दिएका छौं । यसबाहेक प्रत्येक कार्यक्रममा २ जना दलित र बाँकी सिमान्तकृत र अल्पसंख्यक समुदायका तीन जना गरेर ५ जनालाई थप कोटा उपलब्ध गराउने निर्णय गरेका छौं । यसबाहेक दाता र सरकारहरूले दिएका छात्रवृत्तीमा पनि हामी गरिब र सिमान्तकृत दलितहरुलाई भर्ना लिन्छौं । सकेसम्म सबै विद्यार्थीले निःशुल्क पढ्न पाउन भन्ने हाम्रो चाहना रहन्छ । ‘अर्न टु लर्न’ कार्यक्रमलाई पनि हामी प्राथमिकता दिन्छौं ।
एमटीयूले अन्य विद्यालयलाई सम्बन्धन दिन्छ कि दिँदैन ?
सबैभन्दा पहिले हामी हाम्रो आंङ्गिक क्याम्पसलाई बलियो बनाउन प्राथमिकता दिन्छौं । त्यसपछि सामुदायिक विद्यालय र क्याम्पसलाई सम्बन्धन दिन्छौं । नीजि क्षेत्रलाई सम्बन्ध दिने एमटीयूको नीति नै छैन ।
एमटीयूलाई राम्रो बनाउन प्रदेश सरकारको भूमिका कस्तो हुनुपर्छ ?
सबैभन्दा पहिले त यसको महत्वलाई बुझेर संरक्षण र सम्वद्र्धनमा विशेष चासो दिनुपर्छ । किनभने प्रदेश सरकारको विश्वविद्यालय भएकोले यो पहिले प्रदेश १ को गौरबशाली सम्पत्ती हो । एमटीयूको मूल संरक्षक प्रदेश सरकार नै भएकोले कुलपति मुख्यमन्त्री र सहकुलपति समाजिक विकास मन्त्री रहनुभएको हो । यसैले प्रदेश सरकारले एमटियूलाई पर्याप्त बजेट उपलब्ध गराइदिनुपर्छ । ऐन अनुसार छात्रवृत्ती उपलब्ध गराइदिनुपर्छ । भौतिक पूर्वाधार निर्माणदेखि अन्य सबैखाले कार्यको संरक्षण सम्वद्र्धनमा प्राथमिकता दिनुपर्छ ।
अनि संघीय सरकार र पालिकाहरूले के कस्तो सहयोग गर्नुपर्छ ?
अनि एमटियू प्रदेश सकारको मात्र नभएर सिंगो देशको सम्पत्ती हो । यहाँबाट उत्पादन भएका दक्ष प्राविधिक जनशक्ति देशभरि मात्र नभएर विदेशमा पनि खपत हुन्छन् । यसैले एमटियु प्रदेश १ सरकारको मात्र हो भनेर संघीय सरकारले पन्छिदिनु हँुदैन । बजेट उपलब्ध गराएर सहयोग गर्नुपर्छ । अनि पालिकाहरुले पनि जमिन उपलब्ध गराउनेदेखि सकेसम्मको बजेट दिएर सहयोग गर्नुपर्छ । किनभने हामीले स्थानीयलाई कोटा नै निर्धारण गरेका छौं । अर्को बुढीगंगा गाउँपालिकामा केन्द्रिय कार्यालय भएको एमटियु पालिकाको पनि सम्पत्ती हो ।
एमटीयू भौतिक पूर्वाधार सम्पन्न भएर गुणस्तरिय शैक्षिक वतावरण निर्माण भइसकेपछि के कस्तो उपलब्धि हासिल हुन्छ ?
सबैभन्दा पहिला त विद्यार्थीहरूले राम्रोसँग पढ्न पाउँछन् । यसैले पहिलो फाइदा त उनीहरुलाई नै हुने हो । अनि उनीहरुको दक्षता गुणस्तरिय भयो भने अभिभावक र उनीहरुका परिवार पनि लावान्भित हुने नै भए । सँगसँगै रोजगारदाता उद्योग अनि लगानी गर्ने उद्यमीलाई पनि फाइदा पुग्छ । यहाँबाट उत्पादन भएका दक्ष जनशक्ति सबै तहका सरकारले प्राप्त गर्दछन् । जसको फाइदा सिंगो राष्ट्रको विकासमा पर्छ । गरिबी निवारणमा पर्छ । साथै विदेशमा समेत दक्ष नेपाली प्राविधिक जनशक्तिले अवसर पाउनेछन् ।
एमटियूको ‘साईन्स गार्डेन ’बनाउने योजना कहाँ पुग्यो ?
हामीले विश्विद्यालय भित्रमात्र सीमित नराखी खुला रूपमा सञ्चालन हुनेगरि देशकै पहिलो र ठूलो ‘साईन्स पार्क’ बनाउने योजना तयार गरेका छौं । जमिन पनि हामीसँग तयार छ । तर बजेट अभावमा काम अगाडि बढ्न सकेको छैन । कम्तीमा पनि एक सय सिट क्षमताको तारामण्डल सहितको ‘साईन्स पार्क’ बनाउन ८५ करोड चाहिन्छ । तारामण्डल र रेष्टुरेन्ट सहितको ‘साईन्स पार्क’ बन्यो भने विश्वविद्यालयको अतिरिक्त आम्दानी त हुन्छ नै सँगसँगै ज्ञानमा आधारित मनोरञ्जनले पनि बढावा पाउँछ । हाम्रो देशमा अहिलेसम्म एउटा पनि तारा मण्डल छैन । तारामण्डल हेर्न हामीले कलकत्ता, दिल्ली वा पटना नै पुग्नुपर्छ । यो पार्क निर्माण भएमा आम मानिसमा विज्ञानप्रतिको बुझाई बढेर जाने थियो । यसमा प्रदेश र संघीय सरकारले विशेष प्राथमिकता दिन जरुरी छ ।
‘बोटानिकल गार्डेन’ को निर्माण सुरु भयो कि भएन ?
हामीले तीन सय प्रजातीका बिरुवा रोपेर ‘बोटानिकल गार्डेन’ सुरु गरिसकेका छौं । तर त्यो प्रर्याप्त होइन । हामीले कम्तीमा दश हजार प्रजातीका विरुवा संरक्षण गर्ने योजना बनाएका छौं । प्रदेशमा पाइने सबै वनस्पतीहरू क्लेक्सन गराउने छौं । बाहिरबाट पनि वनस्पतीहरु ल्याएर संरक्षण गर्नेछौ । यसो भयो भने एकै ठाउँमा सबैलाई आफ्ना वनस्पतीहरू चिन्ने अवसर पनि हुन्छ भने अर्कोतिर जैविक विविधताको संरक्षणमा पनि सहयोग पुग्छ । तर बिडम्बना यसबारे प्रदेश सरकारले चासो नै दिएको छैन ।