गणेश लम्साल
मोटर गाडी ब्रग्रल्ती छन्, राजमार्ग र शहरका सडकभरि
दुर्घटनाको जोखिम धेरै उफ् जोगिएर हिँड्ने कसोगरी ?
सडकपेटीबाट जोगिएर हिँड्न खोज्यो तर, बाधा जताततै र जहिले
सडकपेटीमा सुरक्षित हिँड्ने हाम्रो अधिकार सुनिश्चित हुने कहिले ?
फुटपाथमा सुरक्षित रुपले हिँड्न पाउने आम बटुवा (नागरिक) हरुको हक हो । सडक किनारमा हिँडदा दुर्घटनाको जोखिम धेरै हुने भएकोले नै सुरक्षित हिँडाईका लागि सडकसँगै किनारमा सडकपेटी (फुटपाथ) पनि निर्माण गरिएका हुन् । तर, हाम्रो देशमा अझै न त हामीले सुरक्षित रुपले सडकपेटीमा हिँडन पाएका छौं, न त हामीले फुटपाथमा हिँड्ने असल अभ्यासको विकास नै गर्न सकेका छौं । बरु फुटपाथमा सुरक्षित हिँड्न चाहनेहरुले सास्ती मात्र पाउने गरेका छन् । अर्कोतिर नियमनकारी निकाय ‘दृष्टिविहिन’ भइदिँदा जताततै फुटपाथ अतिक्रमित मात्र भैरहेका छैनन्, फोहोर फाल्न र गाइवस्तु बाँध्ने थलो पनि बनेका छन् ।
विराटनगर महानगर घना आवादी भएको ठूलो शहर मात्र नभएर प्रदेश नं. १ को राजधानी पनि हो । औद्योगिक मात्र नभएर व्यापारिक, प्रशासनिक केन्द्र बनेको ऐतिहासिक शहर विराटनगर सुन्दर, सभ्य र भव्य हुन आवश्यक छ । पहिलेभन्दा विराटनगरमा पक्कै केही परिवर्तन भएको छ । कोशी राजमार्ग फराकिलो भएको छ । शहरका भित्री सडकहरु पनि चौडा र चिल्ला पारिएका छन् । यद्यपी कतै बनाउनासाथ भत्कन थालेको छ । कतै अझै बनाउने कार्य जारी नै छ । बनिसकेका धेरै सडकहरुमा फुटपाथ त छैन । तर, ढलानलाई ढाकेर फुटपथमा प्रयोग गर्न पाउने अवस्था छ ।
विराटनगरमा मुख्य कोशी राजमार्गमा होस् वा शहरको बजारका भित्रि सडकहरुका नाला ढाकेर बनाइएका पेटीहरुमा सहज रुपले हिँड्न पाइदैन । कतै मोटर ग्यारेज छन् भने कतै पसलहरु छन् । कतै गाईगोरु बाँध्ने गरिएको छ । कतै शोरुमका सामान राखिएको छ । कतै मोटरसाइकल र कार पार्किङ गरिएको छ । कतै हाटबजार लाग्ने गरेका छन् भने कतै फोहोर फाल्ने डम्पिङ साइट बनाइएको छ ।
सडकपेटी अबरोधका किसिम र प्रकार पनि कत्ति हो कत्ति ! यसैले हिँडिसक्नु छैन, विराटनगरका सडकपेटीहरुमा । यसरी बाधा किन गरेको भनेर कसैलाई प्रश्न गर्यो भने उल्टै खप्की खानुपनुपर्छ । काठमाडांैमा फुटपाथमा नहिँडेर सडकमा जथाभावी हिँडेमा जरीवाना ाहुन्छ । विश्वका धेरै सभ्य र भव्य शहरहरुमा यात्रुहरुको सुरक्षित हिँड्न पाउने अधिकार सुनिश्चित हुन्छ । विराटनगरमा फुटपाथमा हिँड्नेले अपमान र जोखिम सहनुपर्छ ।
सटकपेटी अतिक्रमित हुन नदिन महानगरपालिका नगररक्षक र ट्राफिक प्रहरीले काम गर्नुपर्ने हो । तर, विडम्बना ट्राफिक प्रहरीलाई सवारी साधनबाट जरीवाना उठाउन माखेसाङ्लो लगाएर च्याखे थाप्दैनमा फुर्सद छैन । अनि महानगर प्रहरीलाई जनप्रतिनिधिहरुले कुनै निर्देशन नगरेको र ठोस कानुन पनि नबनाइएकोले वास्ता नै छैन ।
अर्कोतिर शहरिया बन्नका लागि सडकभरि गफिदै पंक्तिमा हिँड्ने हाम्रो खराब अभ्यास अझै जस्ताको तस्तै छ । अझै हामीले सडकमा हिँड्दा पंक्तिमा हैन ताँतीमा हिँड्नुपर्छ भन्ने बानी विकास गर्न सकेका छैनौं । सडकभरि ढाकेर सानसाथ गफिँदै हिँड्दा साइकलयात्रु मात्र नभएर सवारी चालकहरुलाई दुर्घटनाबाट जोगिन कति धेरै जोखिम हुन्छ भन्ने हामीले कहिल्यै ख्याल गर्ने गरेका छैनौं ।
सुरक्षित हिँड्न पाउने हाम्रो अधिकार मात्र नभएर असल संस्कार पनि हो । फुटपाथबाट हिँड्दा गाउँबाट आएको ‘पाखे’ बनिएला कि भन्ने हामीलाई ढाँेगी ईज्जतको चिन्ता छ । तर, असल अभ्यासबारे कुनै ख्याल छैन । अर्कोतिर सडकपेटीमा बन्द व्यापार गरेर बाधा पुर्याउनु हुदैन भन्ने पनि हामीले बुझेका छैनौं या बुझ पचाएका छौं । फुटपाथमा सुरक्षित रुपले हिँड्न पाउनुपर्छ भन्नेहरु थोरै छन् । यसैले उनीहरुको आवाज बुलन्द हुन सकेको छैन । यसैले नियमनकारी निकायलाई दबाब पुग्न सकेको छैन । र, यात्रुको सडकपेटीमा सुरक्षित हिँड्न पाउने अधिकार कुण्ठित भइरहेको छ ।
हामी देखासेखिकै लागि भएपनि दैनिक मर्निङ र इभिनिङ वाकमा निस्कने गरेका छौं । यसरी निस्कँदा हामी फुटपाथ भन्दा पनि सडकमै हिँड्न रमाउँछौ । बिहान सवारीको चाप नभएका बेला त ठिकै होला । तर, साँझको समयमा दुर्घटनाको जोखिम उच्च नै हुन्छ । यसैले हामीले सुरक्षित हिँड्न पाउने अधिकार सुनिश्चित गराउन आवाज किन नउठाउने ? बिभिन्न ‘वाक’ गर्ने ग्रुपहरुले यसमा चासो किन नदिने ? किनकी सडकपेटीमा हामी मात्र हिँड्दैनांै, हाम्रा छोराछोरीहरु पनि हिँड्छन् । हाम्रा हजुरबा, हजुरआमा र आमाबुबाहरु पनि हिँड्नुहुन्छ । अपाङ्गता भएका असक्त र दृष्टिविहिनहरु पनि हिँड्नुहुन्छ । त्यसैले सबैले सुरक्षित हिँड्न पाउने नागरिकहरुको अधिकारलाई बेवास्ता नगरौं । फुटपाथका बाधाहरु हटाऔं । फोहोरहरु सफा गरांै । झाडीहरु फाँडौ र सफासुग्घर राख्ने गरांै । अनि सबैले फुटपाथमा हिँड्ने बानी बसालेर सभ्य शहरका सभ्य नागरिकहरुको परिचय दिऔं ।
यसबारे सम्बन्धित वडाका जनप्रतिनिधिहरु मात्र नभएर टोल विकास संस्था, युवा क्लव, बाल क्लव र सचेत नागरिकहरुदेखि विद्यालयहरुले पनि एकीकृत बनेर सडकपेटीमा सुरक्षित हिँड्ने र हिँड्न पाउने सचेतना अभियान चलाऔं । अनि सुरक्षित हिँड्न पाउने आफ्नो अधिकार सुनिश्चित गराउन नियमनकारी निकायको ध्यान आकर्षण गराआंै । नगर र नेपाल प्रहरीले निरन्तर अनुगमन गरेर फुटपाथमा बाधा पुर्याउनेहरुलाई कानुनी दायरामा ल्याउने हो भने सुरक्षित हिँड्न पाउने हाम्रो अधिकार पक्कै सुनिश्चित हुन्छ ।
के हाम्रो लागि यति सानो काम हामीले गर्न सक्दैनौ र ? के हाम्रो असल अभ्यासको विकासका लागि सरकारले नै निर्मम भएर लाठो नै हान्नुपर्ने हो र हामीलाई ? सजग हौआंै । सचेत बनौं । सडकपेटीमा सुरक्षित हिँड्न पाउने अधिकार सुनिश्चित गराउन सबैले असल अभ्यासको थालनी गरांै र गर्न लगाऔं ।