मतिप्रसाद ढकाल
पौराणिक दृष्टिले कार्तिक महिना निकै महत्वपूर्ण मानिन्छ । कार्तिक कृष्णपक्ष प्रारम्भ भएदेखि नै प्रत्येक दिन बिहान मौन रुपमा स्नान गर्नाले विष्णु भगवान् प्रसन्न हुने विश्वास रहिआएको छ । बेलुका धनधान्यले परिपूर्ण हुने अपेक्षाले आकासे बत्ती बाल्ने चलन विगतमा थियो । आकासे बत्ती बाल्न नसक्नेले कार्तिकमा बेलुकापख तुलसीका मठमा बत्ती बाल्ने प्रचलन भने अभैm हराएको छैन । यही कार्तिक महिनाको कृष्णपक्षको त्रयोदशी तिथिदेखि प्रारम्भ भई शुक्लपक्षको द्वितीयासम्म नेपालीहरुले दसैँपछिको दोस्रो ठूलो चाडका रुपमा तिहारलाई भव्यताका साथ मनाउने गर्दछन् ।
संस्कृतका तिथि र बार दुई शब्दको मेल हुँदा अपभ्रंशका रुपमा हिन्दी भाषामा ‘त्योहार’ शब्दको निर्माण हुँदोरहेछ । हिन्दीको त्यही ‘त्योहार’ शब्दबाट नेपालीमा तिहार शब्दको संरचना भएको अनुमान गर्न सकिन्छ । तिहारलाई ‘दीपावली’ भनेर पनि चिनिन्छ । दीपको आवली भन्ने विग्रहमा षष्ठी तत्पुरूष समासद्वारा ‘दीपावली’ शब्द बन्दछ । बत्तीहरुको आवली अर्थात् पङ्क्ति वा लहरलाई ‘दीपावली’ भनिएको हो । कागतिहारदेखि भाइटीकासम्मका ५ दिनमा प्रत्येक नेपालीका घरआँगनहरुमा बत्तीहरु बालेर यस चाडलाई भव्यताका साथ मनाइने भएकाले तिहारलाई ‘दीपावली’ पनि भन्ने गरिएको हो । तिहारका ५ दिनसम्म नरकबाट मुक्तिको कामनाका साथ कागदेखि भाइसम्मको पूजाअर्चना गरिने भएकाले यस चाडलाई ‘यमपञ्चक’ पनि भन्ने गरिन्छ ।
काग तिहार
यमपञ्चकको पहिलो दिन बिहान विशेष श्रद्धाका साथ ‘काकोऽसि यमदूतोऽसि वायसोऽसि महामते, इमं बलिं गृहाण त्वं त्रायस्व यमसंकटात्’ भनेर नरकको संकटबाट मुक्ति दिने कामनाका साथ यमराजको दूतका रुपमा कागलाई पूजा गर्ने गरिन्छ । यसको बेलुकापख अपमृत्युनिवारणको कामनाले यमराजलाई खुसी तुल्याउन घरआँगनहरुमा तेलका बत्तीहरु बालिन्छ ।
हाम्रो वर्तमान सञ्चार युगको प्रारम्भ हुनुपूर्व हाम्रा पुर्खाहरुले काग कराएका आधारमा निकै विचार गर्थे र कुन बेला काग कराउँदा कस्तो लक्षण हुन्छ ? भनेर चिन्तन पनि गर्थे भने कागलाई सन्देशवाहक पक्षीका रुपमा ग्रहण गरिन्थ्यो । सञ्चार युगको विस्तारले गर्दा वर्तमान समयमा हामीले कागको ऐतिहासिक योगदानलाई दिन प्रतिदिन भुल्दै गएपनि वर्षमा एक दिन त्यही योगदानको स्मरण गर्दै हामीले हालसम्म तिहारमा कागलाई पुज्दै आएका छौँ ।
कुकुर तिहार
यमपञ्चकको दोस्रो दिनलाई कुकुर तिहार भनेर चिनिन्छ । यद्यपी यस पटक तिथिको कारण कागतिहार र कुकुर तिहार एकैदिन परेको छ । यसदिन बिहान नजिकको नदी, तलाउ, कुवा वा धारामा गएर स्नान गरी दतिवनका पातलाई शिरमा घुमाउँदै यमराजको नाम लिएर तर्पण गर्ने र यमलोकको भयबाट मुक्ति पाउनका लागि तेलको बत्ती बालेर जलमा प्रवाहित गरिन्छ ।
चतुर्दशीका दिन यमराजलाई सन्तुष्टि दिलाउन स्नान गरी बालिएको बत्ती जलमा बगाउने गरिएकाले यसदिनलाई ‘नरक चतुर्दशी’ भनिएको हो । नेपालीहरुले गाउँले भाषामा यस दिनलाई ‘नर्के फाल्ने’ दिन पनि भन्ने गर्दछन् । नर्के फाल्ने काम बिहान सूर्योदय हुनुपूर्व नै सम्पन्न गर्ने प्रचलन छ । यसैदिन बिहान यमराजको द्वारपालका रुपमा कुकुरलाई पूजा गरेर माला लगाई विशेष श्रद्धाका साथ मीठो–मीठो खान दिइन्छ । वर्षदिनभरि हामीले आफूले खाएको जूठो खाना कुकुरलाई दिने गरिए पनि यसदिन भने कुकुरलाई खुवाएपछि मात्र आफूले खाने गरिन्छ । कुकुरलाई स्वामीभक्त प्राणी मानिन्छ र हामीले कुकुरलाई पूजा गर्नु भनेको आ–आफ्ना मान्यजन वा अभिभावकहरुप्रति श्रद्धाभाव राख्न सिक्नु हो । यसैदिन बेलुका घरआँगनहरुमा यमराजलाई खुसी तुल्याउन तेलका साथै बिजुलीका झिलिमिली बत्तीहरु पनि बालिन्छ ।
गाई तिहार (लक्ष्मीपूजा)
यमपञ्चकको तेस्रो दिनलाई गाईतिहार भन्ने गरिन्छ । तिथिहरुको घटबढका कारण कुनै–कुनै वर्ष गाईतिहार र गोरूतिहार एकैदिन पर्ने गर्छ । गाईतिहार मात्र परेका दिन बिहान लक्ष्मीको प्रतिकका रुपमा गाईलाई सिँगारेर गाईलाई पूजा गरी गाईका खुुट्टाको जल खाने गरिन्छ । यसैदिन बेलुका धनधान्यकी माता लक्ष्मीको पूजा गर्ने प्रचलन रहेकाले यस दिनलाई गाईतिहारभन्दा पनि सबैले ‘लक्ष्मीपूजा’ भनेर चिन्दै आएका छन् ।
लक्ष्मीपूजा गरिने रातलाई ‘सुखरात्रि’ भन्ने गरिन्छ । धनधान्यले परिपूर्ण हुनका लागि महालक्ष्मीको प्रसाद प्राप्त गर्ने उद्देश्यले महालक्ष्मीका साथमा इन्द्र र कुबेरको पनि पूजा गरिन्छ । लक्ष्मीपूजा गर्ने क्रममा नै मसीदानीमा महाकालीको पूजा गरिन्छ भने विशेषतः व्यापारी वर्गले आयव्यय राख्ने नयाँ बही खातामा महालक्ष्मीका साथ सरस्वतीको पनि पूजा गर्दछन् । महालक्ष्मीको पूजा गरिसकेपछि रातभर तेलमा बालिएको बत्ती ननिभोस् भनेर विशेष सावधानी अपनाउने प्रचलन पनि रहिआएको छ ।
गोरू तिहार (गोवद्र्धन पूजा)
यमपञ्चकको चौँथो दिनलाई गोरूतिहार भन्ने गरिन्छ । गाईतिहार र गोरूतिहार एकैदिन परेका खण्डमा गाई पुज्दा गोरूलाई पनि पुज्ने गरिन्छ । गोरू हाम्रो अन्न उब्जाउने खेतबारीलाई परिश्रमका साथ जोतिदिएर हामीलाई अन्न उत्पादन गर्न सघाउने विशेष सहयोगी प्राणी हो । हामीले वर्षदिनभरि उसलाई दुःख दिएपनि त्यसको योगदानलाई स्मरण गर्दै हामीले तिहारका बेला एक दिन भएपनि पूजा गर्ने गर्दछौँ । गोरूतिहारका दिन गोबरले पर्वतको आकृति बनाएर त्यसमा सयपत्रीका फूल टाँसेर अनि विभिन्न फलफूल र ध्वजापताकाले सजाएर त्यसैलाई गोवद्र्धन पर्वत मानी पूजा गर्ने प्रचलन छ ।
गोवद्र्धन पूजा गर्दा गोपाल (श्रीकृष्ण), बलराम, नन्द, यशोदा, गोठालाहरु, गोपिनीहरु र गोकुलको समेत पूजा गरिन्छ । गोरूतिहार भनिएपनि गोवद्र्धन पूजामा विशेषतः गाईमातालाई मुख्य ठानेर गोरूको समेत पूजा गर्ने गरिएको पाइन्छ । गाईका प्रत्येक अङ्गहरुको पूजा गरिसकेपछि गोग्रास दिने, आरती र प्रदक्षिण गर्ने अनि गोमतीश्रावण (गाईको महिमाको स्तुतिगान) गर्ने गरिन्छ । गोवद्र्धन पूजा गरेका दिन गोठमा विशेष किसिमले बत्तीहरु बालेर गोठलाई झलमल्ल पारिन्छ भने गाईलाई बन्धनमुक्त गरेर छाड्ने विधान रहेपनि त्यसलाई हामीले अँगाल्न भने सकेका छैनौँ । यसदिन चन्द्रमा देख्नुलाई अशुभ मानिन्छ ।
भाइ तिहार
यमपञ्चकको पाँचौँ तथा अन्तिम दिनलाई भाइतिहार अर्थात् भाइटीका भन्ने गरिन्छ । सबै दाजुभाईले दिदीबहिनीहरुलाई टीका लगाइदिने प्रचलन भएकाले दाइटीका, दिदीटीका र बहिनीटीका नभनेर भाइटीका नै किन भनिए होला ? भन्ने जिज्ञासा उठ्नु पनि अस्वाभाविक होइन । ‘दाजुभाई टीका’ भन्दाभन्दै अघिल्लो ‘दाजु’ शब्दको लोप भएर ‘भाइटीका’ भन्ने शब्द प्रचलनमा आएको होला । केही वर्षअघिसम्म दिदीबहिनीले दाजुभाइलाई मात्र टीका लगाइदिने तर दाजुभाईले दिदीबहिनीलाई भने टीका लगाउन त्यति वास्ता नगर्ने चलन थियो । अहिले भने दुबैमा टिका आदानप्रदान हुन्छ ।
यस दिन सपरिवार बलिराजालाई र यमराजलाई पूजा गरी शुभसाइतमा टीका लगाइन्छ । विष्णुको सान्निध्य प्राप्तिको कामनाका साथ बलिराजाको पूजा गर्दा उनका पारिवारिक सदस्य मानिने विन्ध्यावली, कुम्भाण्ड, बाण, जम्भ, उरू र मयको पनि पूजा गरिन्छ । यमराजको पूजा गर्ने द्वितीया तिथिको दिन भएकाले यस दिनलाई ‘यमद्वितीया’ पनि भनिन्छ । दाजु यमराजको पूजा गर्दा बहिनी यमुना र यमराजका दूतहरुको पनि पूजा गरिन्छ । टीका लगाउने ठाउँमा दियो, कलश र गणेशको पूजा गरी कलशमाथि तामाको थाली राखेर त्यसमा चन्दनले अष्टदल बनाई त्यसमा यमराजलाई षोडशोपचारले पूजा गर्ने अनि त्यसमा यमदूतहरुलाई र नाम मन्त्रले यमुना एवं उनका परिचारिकाहरुको पनि पूजा गरिन्छ ।
त्यसै सन्दर्भमा सोही तामाको थालीमा सूर्यादिनवग्रहको, गणेश, विष्णु, शिव आदि देवताहरुको र मार्कण्डेय आदि अष्ट चिरञ्जीवीहरुको पनि पूजा गर्ने शास्त्रीय विधान रहेको छ । त्यसपछि दिदीबहिनीले जल लिएर दाजुभाइको प्रदक्षिणा गर्ने र टीका तथा माला लगाइदिई अन्तमा दाजुभाइले दिदीबहिनीको हातबाट प्राप्त भएका मीठा–मीठा खानेकुरा खाने गरिन्छ । दिदीबहिनीले दाजुभाइलाई खानेकुरा दिँदा हाम्रो सम्बन्ध पनि यमुना एवं यमराजको जस्तो सुदृढ हुन सकोस् र मार्कण्डेयजस्तै हाम्रा दाजुभाइहरु पनि चिरञ्जीवी हुन सकून् भन्ने कामना गर्नुपर्दछ । त्यसैगरी, दाजुभाइले पनि जलको धारा बगाउँदै दिदीबहिनीको प्रदक्षिणा गरी टीका र माला लगाइदिने अनि भोजन गराउने प्रचलन छ ।
दाजुभाइले विवाहित दिदीबहिनीलाई भोजन गराउँदा यमराज र यमुनालाई खुसी तुल्याउन यो भोजन ग्रहण गर, यमुनाले यमराजको पूजा गर्दा यमराजले जे–जति ऐश्वर्य प्राप्त गर्न सके हामीले पनि त्यस्तै ऐश्वर्य प्राप्त गर्न सकौँ अनि आयु, लक्ष्मी, कीर्ति, धैर्य, निडरता, सुस्वास्थ्य, वाक्पटुता र विद्वत्ता पनि तिमीहरुले प्राप्त गर भन्ने कामना गर्नुपर्दछ । अविवाहित बहिनीलाई भोजन गराउँदा भने दाजुभाइले उत्तम पति प्राप्त गर भन्ने कामना गर्दछन् । टीका र भोजन ग्रहण गरेपछि रमाइलो गर्ने चलन छ भने साँझपख जति जना दाजुभाइलाई टीका लगाइयो, त्यतिवटै तेलका बत्ती बालेर दाजुभाइको सुस्वास्थ्य र दीर्घायुको कामना गर्ने प्रचलन नेपाली परम्परामा रहिआएको छ ।
तिहारका शास्त्रीय र परम्परागत मान्यताहरु ओझेलमा पर्दै गएकाले केही वर्षदेखि तिहारमा विकृतिहरु पनि भित्रिँदै गएका छन् । तिहारमा देउसी र भैलो खेल्ने चलन शास्त्रीय नभई नेपाली लोकजीवनको पुरानो मौलिक संस्कृति हो । देउसीभैलो खेलेर रमाइलो गर्ने र सामूहिक सेवामा लगानी बढाउन केही आर्थिक संकलन गर्ने कामलाई स्वाभाविक मान्न सकिएपनि देउसीभैलोका नाममा बढीभन्दा बढी चन्दा असूल गरी दुरूपयोग गर्ने प्रचलनलाई हामीले निरूत्साहित गर्दै जानु आवश्यक छ । त्यसैगरी, तिहारको आफ्नो शास्त्रीय र परम्परागत मान्यताबाट विमुख हुँदै बढ्दो तडकभडकका साथ अघि बढ्दै गरेको नवपुस्तालाई पनि सचेत गराउँदै जानु हाम्रो परम कर्तव्य हो ।