भरत गुरागाईं बर्बरीक
मलाई देख्नेबित्तिकै स्कूस नाप्दै गरेको तराजु भुइँमा राखेर बोल्न थाल्यो सिराने माइलो –‘माड्साप ! सरकार फेरिएछ नि !’
सिराने माइलोको छेउ न पुछारको प्रश्नले मलाई खासै छोएन । ऊ र मेरो भेट भएपछि एउटा न एउटा यस्तै फुँदो जोड्ने गर्छ, सिराने माइलो । अब सरकार फेरियो भने म के गर्नु । म कसलाई काँध थाप्न जानु ? लड्नेहरु लड्दै गर्छन्, बढ्नेहरु बढ्दै गर्छन् । तर, कुनै उत्तर दिइनँ, उसलाई । खासमा सरकार बन्ने र ढल्ने सन्दर्भमा सिराने माइलो बधाई तथा सान्त्वनाको पात्र होइन । उसको कुनै पार्टी छैन, उसको कुनै सरकार हुँदैन ।
सिराने माइलोका हजुरबुबाको बारेमा मलाई थाहा छैन । मैले जान्दा उसका बाबु यसरी नै सानो व्यापार गर्थे । पहाडमा उत्पादन भएका सामानहरु यदि फेदीमा बसेर बेच्ने गर्थे । मधेशबाट त्यहाँसम्म पुगेकाहरु रमाउँदै किन्थे । अहिले यसो विचार गर्छु उनले मधेश र पहाडलाई जोडेका पो थिए कि ! उनी असमय मै मरे । पेट सुन्निने रोग लागेको थियो । अलिअलि धामी झाँक्री लगाए, अस्पतालको मुख देखेनन् ।
बाबू मरेपछि सिराने माइलोले सर्लक्कै त्यही पेशा समाते । साउँ अक्षरसम्म कनिकुथी सिकेका माइलाको सम्पूर्ण विश्वविद्यालय भन्नु नै यही पहाडको फेदी भयो । यो फेदीमा बसेर उनले मान्छे पढे, मान्छेको मनोविज्ञान पढे, मान्छेको प्रबृत्ति पढे अनि मान्छेको गोजीभित्रको तौललाई आफ्नो तराजुको तौलसँग मितेरी लगाए ।
सिराने माइलोलाई लाग्छ–सरकार भनेको राजा हो, अरु कुरा र व्यक्ति सरकार होइन । उनलाई खासमा सरोकार पनि छैन । भोट माग्न आउने सबैलाई ल ल भनिदिन्छन्, सबै मख्ख । उनले रुङ्ने गरेको त्यो फेदी नजिकैको स्कूलमा एकदिन सरकार आउने कुरा उनले पनि सुने । काम छोडेर मान्छेहरु ओइरिएको उनले पनि देखे । कसैले जौँ–जौँ भनेर माइलालाई भन्यो । के रहेछ हेरौँ न त भनेर माइला पनि पुगे ।
‘एकजना सुकिलो लुगा लगाएको मान्छे जनता, जनता भन्थ्यो । अरु सबै ताली बजाउँथे । आ.. म त दिक्क भएर फर्किएँ ।’ माइलाले मलाई पछि सुनाएको । म त हाँस्दा हाँस्दा झण्डै भस्म भएँ ।
चप्पल फेरिनु, लुगा फेरिनु र सरकार फेरिनु उस्तै लाग्न थालेको छ, मलाई । को आएर वा गएर हुने चाहिँ के हो बुझ्न छोडेको छु । कुन तन्त्रको कुन मन्त्र जप्दा वैतर्णी दान गर्नु नपर्ने हो बुझ्न कठिन भएको छ । जनता जनता त सबैको मुखमा कण्ठस्थ छ । म यतिबेला मेरा बाले भन्ने गर्नुभएको उखान सम्झिन्छु– जुन जोगी आए पनि कानै चिरेका । कान नचिरेका जोगी चाहिँ नआउने नै हुन् त !
सिराने माइलोले भने जस्तै सरकार फेरिएको हो भने अब नयाँ सरकारहरु भाइरल हुन्छन् केही दिन । जस्तो कि अगाडिका सरकारवालाहरु पनि भाइरल नै भएका थिए । चप्पल फेरेका थिए, टोपी फेरेका थिए । साइकल फेरेका थिए र दसैंमा मासु खाएका थिए । अब नयाँ सरकारले तिहार मनाउँछन् । अलि दिनमा अर्का सरकारले जन्मदिन मनाउँछन् ।
यो सरकार भन्ने कुरा अचम्मको हुँदोरहेछ, जो सिराने माइलो र मलाई थाहा छैन । हामी कुना कन्दरामा बस्नेले जान्नु पनि कसरी ! अब अलि दिनमा सरकार किसानको आलीमा टेक्छ रे, अस्तिको बाढीले सोत्तर बनाएको धानबालीमा फोटो खिच्छ रे । अनि सबैले सुन्ने गरी भन्नेछ रे– ‘किसानलाई हामी हेर्छौ’ । हेर्लान् कि त !
म सरकारहरुदेखि अलि डराउँछु । सरकारसँग अजस्र शक्ति हुन्छ, उसले चाहेको कुरा जे पनि गर्नसक्छ । सबै शासकहरु बरा अफगानिस्तानको भगुवा राष्ट्रप्रमुख जस्तो कहाँ हुन्छन् र ! हामी जनता बरासँग बजाए नि त्यही ताली छ, नबजाए नि त्यही ताली छ । सरकार फेरिएको सन्दर्भ सिराने माइलोको लागि कागलाई बेल पाक्यो हर्ष न बिस्मात छ । मलाई पनि त्यस्तै छ र मलाई लाग्छ धेरैलाई त्यस्तै छ । मुटु भक्कानिंदै बिदा भएकाहरु र खित्का छोड्दै गृह प्रवेश गरेकाहरुको आँसु र हाँसो भन्दा जनता धेरै पर छ ।