गणेश लम्साल
मोरङ ‘ए’ सञ्चारकर्मी महिला हुन् । केही महिना पहिले उनलाई अति नै माया गर्ने उनका बुबाको असामयिक निधन भयो । बुबाको मृत्युपछि उनी विक्षिप्त भइन् । आफूलाई सम्हाल्न गाह्रो भयो । श्रीमानको शोकमा परेकी आमालाई आफनो पीडा सुनाएर झन् पीडा दिन उनले चाहिनन् । दिनभरि समाजसेवामा खटिरहने श्रीमानलाई पनि आफनो समस्या सुनाएर छटपटी बनाउन उनलाई ठिक लागेन । तर, कसैलाई सुनाउन नपाउँदा बुबाको मृत्युको पीडा उनको छातीभित्र डढेलो झैं सल्किरहेको थियो । जसले उनको दिमागमा असर पुर्याएर विक्षिप्त (डिप्रेसन) अवस्थामा पुर्याइरहको थियो । धन्न उनले आफ्नो समस्या आफ्नै एक सहकर्मीलाई सुनाउन भ्याइन् । सहकर्मीले मनोविमर्शकर्ताको तालिम पनि लिएकोले घरमै बोलाएर केही दिन काउन्सिलिङ गरेपछि उनको मन हलुङ्गो भयो । पहिले बुबाको अनुहार सम्झन पनि आँट नगर्ने उनी आजकल घरमा बुबाको फोटो राखेर श्रद्धा गर्ने गर्छिन् ।
यस्तै संखुवासभाकी ‘बी’ नामकी एक महिला बैबाहिक पारिवारिक समस्यामा परिन् । सन्तानको आमा भैसकेपछि पनि पारिवारिक कलह बढ्दा उनलाई बाँच्न रहर भएन । उनले पटक–पटक आत्महत्याको असफल प्रयास गरिन् । मर्न पनि नपाएपछि उनी बिक्षिप्त भइन् ।
मनोविमर्शकर्तासँग कुराकानी गरेपछि उनी आजकल आफनो कार्यालयमा जागिर खाएर गुजारा चलाइरहेकी छन् । आफ्नो समस्या सुनाउने मात्र हैन, समस्यामा परेका अरुलाई पनि सम्झाउने गर्छिन् ।
सुनसरीका एक पुरुष श्रीमतीको हिंसामा परे । आफूलाई सम्हालेर जेनेतन समय कटाएपनि अन्तत उनलाई श्रीमतीसँग सम्झौता गर्न गाह्रो भयो । उनले सम्बन्ध बिच्छेद चाहे । तर, श्रीमतीले नदिएकोले उनी स्वतन्त्र हुन सकेनन् । यसैले उनले आत्महत्याको असफल प्रयास गरे । हाल उनी मनोबिमर्शकर्ताको संगतपछि निको भएका छन् । आफ्नो समस्या खुलेर भन्न मात्र हैन, अरुका समस्या सुनेर जीवनका अर्थ बुझाउँदै सान्त्वना दिन पनि सक्छन् ।
माथिका यी केही प्रतिनिधिमुलक घटनाहरुले प्रष्ट बनाएको छ, ‘समाजमा हामीलाई दक्ष मनोविमर्शकर्ताको खाँचो छ ।’ किनभने ‘दिन दुना रात चौगुनाले’ बढ्दो तनाव, चिन्ता, गरिबीको दबाब, घरेलु हिँसा, बैदेशिक रोजगार आदि अनेक समस्या समयमै समाधान हुन नसक्दा कडा र जटिल खाले मानसिक रोगमा बदलिरहेको छ । मानिसहरुले बुझेर बुझ पचाए पनि वा नबुझेर पनि समाजमा तनाव बढिरहेको छ । मानिसहरु मात्र नभएर सिँगो परिवार चिन्तित भैरहेको छ । अनि समाज विस्तारै मनोरोगी बन्दै गइरहेको छ । आत्महत्या गर्नेहरु वर्षेनी बढ्दै गइरहेका छन् ।
बिज्ञहरुका अनुसार कारणहरु धेरै होलान् । अन्धविश्वास, अभावको दबाब अनि असहयोग र आसक्तिले मान्छेलाई बिक्षिप्त बनाउँदो होला ? तर, समयमै बिक्षिप्त व्यक्तिले मनोविमर्श पायो भने उ डिप्रेसनबाट मेनियामा जानबाट जोगिन सक्दोरहेछ । अनि उसलाई आत्महत्या गरेर आफ्नो जीवन सिध्याएर परिवार र समाजलाई आजीवन तनाव दिनबाट पनि जोगाउन सकिदोरहेछ ।
के रे ! कही कुरा गरेर पनि मान्छेको रोग निको हुन्छ र ? मान्छेले आत्महत्या गर्ने सोच त्याग्छ र ? भो, नगर यस्तो हावा कुरा ! भन्ने पनि हामीलाई लाग्नसक्छ । मलाई पनि पहिले यस्तै लाग्दथ्यो । तर, कुरा गरेर नै मान्छेलाई मनोरोगी बन्नबाट जोगाउन सकिनेरहेछ । बिक्षिप्तताबाट मनोरोगी (पागल) बन्नबाट बचाउन सकिनेरहेछ ।
मैले मनोविमर्शको आजसम्म कुनै तालिम लिएको छैन । र आफू समस्या भोगेको भुक्तभोगी पनि परिनँ । तर, समाजमा दिनपरदिन भैरहेका समस्याहरुलाई चाँही नजिकबाट नियाल्ने अवसर पाएको छु । मनोरोग, घरेलु हिंसा, गरिबी, थिचोमिचो, विभेद, छुवाछुत, बेचबिखन, बलात्कार, गरिबी आदिबाट पीडित बनेका सयौंको समाचार लेखिसकेको छु । र, उनीहरुको अवस्था नजिकबाट नियाल्ने मौका पनि पाएको छु । अझ कोभिड महामारीमा उपचारको अभाव र गरिबीको दबाबले बिक्षिप्त बनेका व्यक्ति र परिवारको पीडा पनि मैले नजिकबाट नियाल्ने मौका पाएको छु । देखेका समस्यालाई थप बुझ्न मनोरोगबारे केही पुस्तकहरु अध्ययन गर्दा मेरो बुझाई अझै फराकिलो भएको छ ।
मलाई लाग्छ– कोभिड क्रमशः नियन्त्रण हुँदै गएपनि हाम्रो देशमा बिक्षिप्तताको समस्या चाँही झन् बढेर जानेछ । एउटा परिवारमा एकजना मात्रै बिक्षिप्त भयो वा मनोरोगी बन्यो भने त्यो सिंगो परिवार पीडित मात्र हुदैन, सुशासन नै डगमगाउँछ । जसले परिवारलाई मात्र पीडित बनाउँदैन, समाज र देशलाई नै पीडित र गरिब बनाउदै लैजान्छ । यसैले हामीले अब सोच फराकिलो बनाउनैपर्छ । अन्धविश्वास र आडम्बरलाई त्यागेर मनोसमाजिक समस्यासँग साक्षात्कार गर्नैपर्छ ।
मेरो बुझाइको निष्कर्ष छ– अब संघ, प्रदेश र पालिकाहरुले मानसिक विक्षिप्तता र मनोरोगलाई खेलाँची ठानेर बेवास्ता गर्नुहुदैन । आत्महत्या गरेर अपराध पो गरेछ त त्यसले उ र उसको परिवारलाई बहिष्कार गर्नुपर्छ वा समाजबाट धपाउनुपर्छ भन्दै समस्यालाई टुलुटुलु हेरिहनु हुदैन । किनकि ‘दिन दुगुना, रात चौगुना’ बढ्दो यो समस्या गरिबहरु मात्र नभएर सबै तहका धनी, नामी मात्र नभएर ज्ञानीहरुको घरमा पनि पसिसकेको र पसिसक्ने छ । यसैले समयमै समस्यालाई नियन्त्रण गर्न धेरैभन्दा धेरै मनोविमर्शकर्ताहरु परिचालन गर्न आवश्यक छ । किनकि अबको लोभी, व्ययभिचारी, अत्याचारी , भ्रष्टाचारी, नैतिकताबिहिन भैसकेको अवस्था छ । आफ्नै स्वार्थमा मात्रै दौडने अनि समाजका असल अभ्यासहरुलाई बेवास्ता गर्नेहरुको भीडमा आदर्शवादी र श्रममा विश्वास गर्ने परिश्रमीहरुलाई टिकिरहन समस्या भैरहेको छ । बाहुबली भएकाहरु अरुलाई पछार्दै हिडिरहेका छन् । र, अन्तमा उनीहरु नै मनोरोगी बनिरहेका छन् । चरम उपभोक्तावादी चरित्रले गर्दा उनीहरुले सोझा मानिसमा पनि हिन भावना उत्पन्न गराइरहेका छन् । यसैले फेरि पनि जोड छ– हामीलाई व्यावसायिक मनोविमर्शकर्ताहरुको धेरै खाँचो परिरहेको छ । सबै तहका सरकारले समयमै चासो दिऔं ।