हाम्रो अर्जुनदृष्टि

 भरत गुरागाईँ बर्बरीक

जीवन कताबाट कता मोडिन्छ, कताबाट कता बग्छ, केही थाहा नहुँदो रहेछ । सोचे जस्तो हुन्न जीवन भन्ने गीतको गहिराइ नाप्नै नसकिने रहेछ । म आज आफ्नै जीवनका मोडहरु सम्झिरहेछु ।

हाम्रो गाउँमा दशैँको अष्टमीको साँझ नाटक हुने निकै पुरानो चलन थियो । म अग्रजहरुले अभिनय गरेको नाटक हेर्थेँ । हामी बच्चाहरु मञ्चको नजिक सबभन्दा अगाडि बसेर हेर्न पाउँथ्यौँ । पराल ओछ्याएर बस्नुपथ्र्याे । कति पटक त म बसेकै ठाउँमा निदाएको र नाटक सकिएपछि दिदी अथवा आमाले उठाएर घर लगेको कथा पनि छन् । सम्झिन्छु अहिले (निकै अचम्म लाग्छ ।

वि.सं. २०३८ साल हो जस्तो लाग्छ, मेरो जुँगा आउन थालेको थियो होला । आवाज धोद्रो हुन थालेको थियो होला । हामीले सरस्वती पूजाको दिन (साँझ) मैले पढ्ने गरेको स्कूलमा नाटक गर्ने भयौँ । नाटकको नाम थियो ‘सिनेको शंका’ । कोर्षको नाटक थियो । लेखक को हो बिर्सिएँ । ८ र १० दिन अभ्यास गरेपछि नाटक गर्ने भइयो । म मसिने नामको मुख्य भुमिकामा थिएँ । त्यो साँझको कुरा हो । हामीले घरको तन्ना (तन्दा) ल्याएर पर्दा बनायौँ । पेट्रोमेक्स बाल्यौँ । एउटा माउथ पिस भएको ट्याँकट्याँक टुँकटुँक टुइँय….गर्ने माइकको व्यवस्था गर्याै । गाउँले दर्शकहरु नाटक हेर्न भनेर क्रमशः आउन थाले ।

म निक्कै डराएको थिएँ । नाटक गर्न सकिन्छ जस्तो फिटिक्कै लागेन । गाला राता भए जस्तो, कान ताता भए जस्तो, तिघ्रा कामे जस्तो, मुटुको ढुकढुक बढे जस्तो भयो । मेरा सहकर्मी तथा नाटकका अर्का कलाकार बासु भट्टराईलाई मैले मेरो मनोदशा एकै सासमा सुनाएँ । अचम्म ! उनलाई पनि त्यस्तै भएको रहेछ । अब के गर्ने ? हामीले छोटो सल्लाह गर्याैँ । नाटक सफल पार्न सकिँदैन बरु हामी लुकौँ र दर्शक फर्केपछि बाहिर निक्लौँला भन्ने सल्लाह भो । हामी साना मान्छे धेरै टाढा कहाँ भाग्न सक्थ्यौँ र ? लुक्ने ठाउँ खोज्दाखोज्दै स्कूलकै फोहोर शौचालयमा छिर्यौ । उफ ! दुर्गन्ध ! तर, लुक्न पाएकोमा हामी खुशी नै थियौँ । अब माइकमा बारम्बार आवाज आउनथाल्यो (फलाना फलाना कलाकार जहाँ भएपनि तुरुन्त सम्पर्क गर्नुहोला ।) माइकबाट यस्तो आवाज आउँदा हामी आत्तिएर एक अर्कालाई पक्डिन्थ्यौँ । तर, नाटक गर्ने मनोबल जिरो भैसकेको थियो ।

शौचालयभित्र एक व्यक्तिको अनायास प्रवेश भयो । उहाँ हुनुहुन्थ्यो, अग्रज नाट्यकर्मी दाजु रामप्रसाद न्यौपाने । उहाँ हामीलाई खोज्दै आउनु भएको रहेछ । हामी मरेतुल्य भयौँ । उहाँले हामीलाई शौचालयबाट लैजानुभयो र तिमीहरुले मज्जाले नाटक गर्न सक्छौ, नडराओ, म छु भनेर खुब हौसला दिनुभयो । हामी नाटकमा उत्रियौँ र सफल पनि भयौँ । दर्शकले रमाइलो माने । त्यो साँझ मञ्चन भएको नाटक ‘मसिनेको शंका’ मेरो नाट्य जीवनमा मैले अभिनय गरेको पहिलो नाटक थियो ।

म त्यसैबेलादेखि निरन्तर नाट्य जीवन बाँचिरहेछु । अहिलेसम्म कति नाटक लेखिए, कति नाटक खेलिए, कति नाटक मद्वारा निर्देशन गरिए, कति शिष्य बनाइए केही हिसाबकिताब र लेखाजोखा छैन । अब कतिन्जेल बाँचिन्छ कसरी पो भन्नू र ? तर, अहिले लाग्छ, अभिनय गर्दा गर्दै मञ्चमा नै मर्न पाइयोस् ।

मैले मेरा साथी बासु भट्टराईको प्रसंग उठाएको थिएँ । उनी अहिले कलाक्षेत्रमा छैनन् । बेलाबेला टिकटकमा हात हल्लाउँदै नाचे जस्तो गरेको देख्छु । अब उनी यो क्षेत्रमा पक्कै नआउलान् । नेपाल वायु सेवा निगमका खै कुन तहका निकै ठूला हाकिम छन्, बासु । काठमाडौँबासी भएका छन् । आफ्नो प्रिय साथी राजधानी शहरमा हवाइजहाजको हाकिम भएकोमा गौरव लागिरहन्छ ।

बासु र मेरो जीवनका अनेक पक्षहरु धेरै फरक हुनु स्वभाविक हो । तर, एउटा पक्ष निरन्तर समान छ, अहिले पनि । त्यो समानता जोखिमको समानता हो । आकाशमा उडिरहेको जहाज कुनै हालतमा दुर्घटना हुनुहुँदैन । बासुको अर्जुनदृष्टि यहि हो । ठिक त्यसैगरि मञ्चन भैरहेको नाटक कुनै हालतमा दुर्घटना हुनुहुँदैन । मेरो अर्जुनदृष्टि यहि हो । बाँकी कुरा सम्झिँदै गरौँला, लेख्दै गरौँला ।

बुधबार, १६ भदौ, २०७८

प्रतिक्रिया:

सम्बन्धित खवर