विर्तामोड । कोरोना भाइरस कोभिड १९ को संक्रमणको रोकथामका लागि झापाको मेचीनगर नगरपालिकाले ७० शैय्याको क्वारेन्टाईन निर्माण गरेको छ ।
कोरोना भाइरस रोकथामका लागि नगरले गरेका कामका बारेमा जानकारी दिने उद्देश्यले बिहीबार आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख बिमल आचार्यले २ वटा स्थानमा क्वारेन्टाइन स्थापना गरिएको र शुक्रबारदेखि सञ्चालन हुनसक्ने जानकारी दिनुभयो ।
मेचीनगर ७ सतिघट्टा स्थित माइती नेपालको भवनमा २० जना र मेचीनगर ११ को धाइजन स्वास्थ्य केन्द्रका लागि निर्माण गरिएको नयाँ भवनमा ५० जनासम्मलाई राख्नसकिने क्वारेन्टाइन स्थापना गरिएको हो । कोरोनाका संक्रमितहरुको अलग्गै राखेर उपचार गर्नेगरी मेचीनगर १० स्थित धुलाबारी स्वास्थ्य केन्द्रमा आइसोलेशन वार्ड राख्ने तयारी भएको पनि आचार्यले जानकारी दिनुभयो ।
कोरोना भाइरसको महामारीसँग जुध्नका लागि मेचीनगर नगरपालिकाले ५० लाख रुपैयाँको कोरोना बिपद् व्यवस्थापन कोष स्थापना गरेको छ । मेचीनगर, स्थानीय प्रहरी प्रसाशन र जिल्ला प्रशासन कार्यालयको समन्वयमा विभिन्न संघ संस्थाहरुको सहयोगमा पूर्वी नाकामा आवातजावतलाई व्यवस्थित बनाइएको नगरप्रमुख आचार्यले बताउनुभयो ।
राजनितिक दलका मेचीनगरका अध्यक्षहरुले संयुक्त रुपमा नगरप्रमुख आचार्य र उपप्रमुख उप्रेतीलाई भेट गरी कोरोना भाइरसको विपद्सँग लड्नका लागि एउटा अलग्गै कोष निर्माण गरी पूर्व तयारीमा लाग्न दबाब दिएका थिए ।