सप्तरी । सप्तरीको सुरुङगा नगरपालिका कुशहास्थित विभिन्न पसलमा बढी मूल्य लिई पेट्रोलमा कालोबजारी गर्ने तीन जना पक्राउ परेका छन् ।
सुरुङ्गा नगरपालिका–५ कुशाहास्थित पसलमा अवैधरूपमा पेट्रोल प्रतिलिटर रु १२० का दरले बिक्री वितरण गर्ने तीन जनालाई पक्राउ गरिएको प्रहरी निरीक्षक बाबुराम कार्कीले बताउनुभयो ।
पक्राउ पर्नेमा सुरुङ्गा–७ का ३७ वर्षीय अरुण चौधरी, ४० वर्षीय अली हसन र वडा नं ५ का ३० वर्षीय तेजनारायण भगत छन् । पक्राउ परेका चौधरीको साथबाट १७ लिटर, हसनको साथबाट ५ लिटर र भगतको साथबाट २ लिटर पेट्रोल कालोबजारी गरी बेचबिखन गरिरहेको अवस्थामा बरामद गरिएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिनुभयो ।
पक्राउ परेका तीनै जनालाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय कडरबोनामा राखिएको छ ।