नयाँ पार्टीले हामीलाई अवसर दिएको छ

 वसिम आलम

नेकपा एमाले विभाजनलाई कसरी लिनु भएको छ ?

– नेकपा (एमाले) नामको पार्टी हामी जस्ता लाखौं कार्यकर्ताहरुको क्रान्तिकारिता, अनुशासन र वर्गीय पक्षधरतासहितको वर्षौंदेखिको लगनशिलताबाट खडा भएको थियो । जसमा पुष्पलाल हुँदै मदन भण्डारी, जीवराज आश्रित, मनमोहन अधिकारी, माधव नेपाल, झलनाथ खनालहरुको राजनीतिक नेतृत्वले धेरै मेहनत गरेको थियो । तर बिडम्बना जब पार्टीको ९ औं महाधिवेशनबाट केपी ओली नेतृत्वमा आए तब पार्टीको लोकतान्त्रिक चरित्र, क्रान्तिकारिपन, अनुशासन, क्रियाशिलता र विचार सबै मासिन थाल्यो । ओलीले पार्टीमा व्यक्तिवाद हाबी गराए । बाहुबलले प्रश्रय पायो । एशियाकै अनुशासित र व्यवस्थित हाम्रो पार्टी अब देशकै अस्तव्यस्त र लथालिंग पार्टी बन्ने बाटोमा अघि बढ्यो । जब ओली पहिलो प्रधानमन्त्रीबाट बाहिरिए उनले आफ्ना लागि प्रधानमन्त्रीको कुर्सी सुरक्षित गर्न हतारमा माओवादीसँग एकता गर्ने घोषणा गरिदिए । पार्टीमा कुनै छलफल नगरि ओलीको इच्छामा निर्वाचनमा बाम सहकार्य र अन्ततः पार्टी एकता भयो र हामी नेकपा बन्यौ । जसरी ओलीले सत्ता आरोहणका लागि पार्टी एकता गरे, त्यसरी नै आफ्नो सत्ता जोगाउनका लागि अदालत प्रयोग गरेर नेकपा विभाजन गराए । ओलीलाई नेकपा मात्रै विभाजन गरेर पुगेन । उनले आफ्नै पार्टी एमाले विभाजनका लागि पनि बाटो खोजिरहे । उनले पटक–पटक जननिर्वाचित प्रतिनिधिसभा विघटन गरे । पार्टी कमिटीलाई ध्वस्त बनाए । जसको परिणाम आज नेकपा(एमाले) विभाजित बन्न पुगेको छ । हामीले पार्टी विभाजनलाई कम्युनिष्ट आन्दोलनमा शुद्धीकरण अभियानका रुपमा लिएका छौं । पार्टी भनेको स्थिर कुरा होइन । जसरी काँचो माटो कुमालेको हातमा पुग्दा भाडाँकुडा बन्छ, बाटोमा छोडिए मान्छेलाई नै चिप्लाएर लडाउँछ, त्यसरी नै पार्टी सही व्यक्तिका हातमा पर्दा देश निर्माणमा भूमिका खेल्छ । ओली जस्तो गलत व्यक्तिका हातमा पुग्दा संविधान र व्यवस्था नै धरापमा पार्ने अस्त्रका रुपमा प्रयोग हुन्छ । त्यसकारण यो पार्टी विभाजन ओलीका दुश्कर्महरुको परिणाम हो । हामी क्रान्तिकारी, जनपक्षिय, अनुशासित र देशकै मुहार फेर्न सक्ने सशक्त पार्टी बनाउनेछौं ।

धेरैले एमाले विभाजनलाई माथिल्ला तहका नेताहरुको झगडाको कारण भनेका छन् । सो पार्टीमा संलग्न तपाईजस्ता युवा पंक्तिमा विभाजनले चाहिं कस्तो असर पर्छ ?

– यसलाई माथिल्लो तहका नेताहरुबीचको झगडाका रुपमा मात्रै लिईयो भने हामी गलत ठाउँमा पुग्नेछौं । यो व्यवस्था मास्ने र जोगाउनेहरुबीचको संघर्ष हो । जहाँसम्म युवा पंक्तिको राजनीतिक भविष्यको कुरा छ । म चाँही स्पष्ट छु की हाम्रो राजनीतिक भविष्य पहिलेको भन्दा अझै सुनौलो हुनेछ । पार्टीभित्र अनेक खाले खराब प्रवृत्तिहरु थिए जसका विरुद्ध हामी लड्दै आएका थियौं । असल र खराबहरू छुट्टिएका छौं । हामी असलहरू नेकपा (एकीकृत समाजवादी) पार्टीमा गोलवद्ध भएका छौं । खराबहरु सबै केपी ओलीसँग छन् । हामी नागरिकलाई उच्च मनोबलका साथ भन्न सक्छैं की यो नैतिकवान, विचारवान र देश बदल्न सक्ने सामथ्र्य भएकाहरूको क्रान्तिकारी पार्टी हो । सबै पार्टी उस्तै हुन् भन्ने नागरिक मनोविज्ञानका बीच हामी फरक छौं र देशको मुहार फेर्ने योजनासहित आएका छौं भन्ने अवसर हामीले पाएका छौं । त्यस अर्थमा यो हाम्रा लागि ठूलो अवसर हो ।

अहिलेका पार्टीहरूमा देश निर्माण गर्ने र समृद्ध बनाउने ठोस योजना छ र ?

साँचो अर्थमा भन्दा सबै पार्टीहरु आम रुपमा उस्तै र नेताहरु पनि एकै खाले हुन् भन्ने आम मनोविज्ञान स्थापित हुँदै गएको थियो । राजनीतिक दलहरुसँग समाज विकासको अध्ययन गर्ने चलन कम भइसकेको थियो । दल र दलका नेताहरु कामकाजी र प्राविधिक भइसकेका थिए । उनीहरुसँग कर्मचारीतन्त्र बदल्ने, हाम्रा पुराना बानी व्यहोरा सुधार्ने, विज्ञान र प्रविधिले ल्याएको अवसरलाई उपयोग गर्ने कुनै योजना नै थिएन । अझ भनौं की दलहरु चुनावदेखि चुनावसम्मको भासमा पुगिसकेका थिए । आजको समाज कस्तो छ ? अबको पाँच वर्षपछि समाज कस्तो हुनेछ ? १० वर्षपछि देश र समाजलाई कस्तो बनाउने ? त्यसक उत्पादन प्रणाली के हुने ? न्यायोचित वितरणको उपाय के हुने भन्नेबारे दलहरुले सोच्नै छाडिसकेका थिए । दल र नेताहरु सम्झँदा नागरिकले नाक खुम्च्याउने अवस्था बनिसकेको थियो । त्यसकारण नै हामीले समाज विकासको नयाँ आयाम र सम्भावित भविष्यलाई समेत जोडेर नयाँ कम्युनिष्ट पार्टी बनाउने भनेका हौं । यो पार्टी न पुरानो कम्युनिष्ट पार्टीको फोटोकपी होइन, युग बदल्न सक्ने योजनासहितको हुनेछ । अहिलेको समाजमा कसैले सोच्नै नसकेको परिवर्तनका योजनासहित हामी समृद्ध देश बनाउने लक्ष्य बोकेर अघि बढ्दैछौं ।

के तपाईले समर्थन गरेको पार्टीका नेताहरुको कार्यशैली देश निर्माण गर्ने, समाज बदल्ने योजना अनुसारको छ ?

– मैले अघि पनि भने की अहिलेका हाम्रा पार्टीहरु पुरै प्राविधिक भए । उनीहरु सत्ताको प्राप्ति र त्यसको निरन्तरता मात्रै चाहान्छन् । अहिलेको आवश्यकता भनेको मौजुद सत्ताको निरन्तरता मात्रै होइन, त्यसको चरित्र रुपान्तरण पनि हो । नोकरशाहीतन्त्रको निरन्तरता र त्यसकै उपयोगद्वारा चुनाव जित्ने अनि पुनः सत्तामा पुग्ने अहिलेको अभ्यासले हामीलाई कहिँ पु¥याउने छैन । हामीले त विल्कुल नयाँ ढंगले सोच्नुपर्नेछ । आगामी १० वर्षपछि देशका लागि कस्तो जनशक्ति आवश्यक पर्छ ? रोजगारीका कस्ता अवसर आउँछन् ? विकासमा के नयाँ फड्को मारिनेछ र त्यसलाई कसरी उपयोग गर्न सकिन्छ भन्ने योजना बनाउनेहरु मात्रै अब सफल हुनेछन् । नेकपा (एकीकृत समाजवादी) पार्टी त्यहि बाटोमा अघि बढिरहेको छ ।

पार्टीहरुले अबलम्बन गरेको नीतिगत व्यवस्था र कार्यशैलीले नयाँ पुस्तालाई नेतृत्व विकासमा के कस्तो अवरोध सिर्जना गरेको छ ?

– हालसम्म सबै पार्टीहरुले नेतृत्व विकासको जुन अभ्यास गरिरहेका छन्, त्यसले युवा पुस्तालाई नेतृत्वमा कहिल्यै स्थापित हुन दिँदैन । पार्टीका केन्द्रीय सदस्य बन्नका लागि नै ५० वर्ष हाराहारीको उमेरसम्म कुर्नुपर्ने अभ्यास पार्टीहरुमा छ । सांसद वा मन्त्री बन्नका लागि झनै ठूलो सकस छ । पार्टीहरु ब्यूरोक्र्याटिक फरम्र्याटमा अघि बढिरहेका छन् । अब भने योग्यता र मूल्यांकनका आधारमा जिम्मेवारी दिइनुपर्छ ।

बुधबार, ०९ भदौ, २०७८

प्रतिक्रिया:

सम्बन्धित खवर