सकियो कामरेडहरुको ल्याङ्ल्याङ

 गोकुल पराजुली

राजनीतिक वृत्तमा एक वर्षभन्दा लामो समयदेखि देखिएको ल्याङ्ल्याङ आजबाट करिव टुंगिने छ । त्यो ल्याङ्ल्याङको झ्याउलो पहिले नेकपामा र पछि एमालेमा थियो । नेकपाको झ्याउलो तात्कालीन प्रधानमन्त्री केपी ओलीको सेटिङमा एकता गर्ने निर्णयनै खारेज भएर टुंगियो ।
त्यसपछि झ्याउलो एमालेमा स¥यो । अदालतले एमाले बिउँताइदिएपछि वरिष्ठ नेताहरु, उपाध्यक्षहरु जसले अध्यक्ष केपी ओलीको गलत कामको विरोध गरेका थिए, उनीहरुका लागि ओलीले पार्टीको ढोका बन्द गरिदिए । फागुन २८ गते उनीहरुलाई जानकारीनै नदिई बैठक राखेर माओवादी छोडेर एमाले भएकाहरुलाई विभिन्न पदमा पदस्थापन गर्दै माधव नेपालहरुलाई बाइपास गरेपछि त्यहाँ नयाँ झ्याउलो सुरु भएको थियो । त्यो झ्याउलो पनि भदौ ९ गतेबाट सकिदैछ ।

भदौ ४ गते वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनालहरुले नयाँ पार्टी दर्ता गरे । झ्याउलो खडा गरिरहेका नेताले अर्कै पार्टी दर्ता गरेपछि एमालेलाई राहत पुग्यो । तर, त्यतिले मात्र एमालेको ल्याङ्ल्याङ सकिएन । माधव नेपाललाई उचालेर ओलीका विरुद्धमा लडाईको शंखघोष गर्न लगाउने जर्नेलहरुले ओलीलाई खबरदारी गर्न छाडेनन् । ओलीले कमाण्डरको पार्टी सदस्यता र सांसद पदमै बाँण प्रहार गरेपछि जर्नेलहरु रन्थनीए । अनि उनीहरु कमाण्डरको बचाउमा बोल्न नसक्ने निरिह कामरेड बने । त्यसपछि उनीहरु अब एकथान पार्टी सदस्यता भएपनि जोगाउने उपाय खोज्न थाले र भने ‘अध्यक्ष ज्यू हामी कामरेडहरुको पार्टी सदस्यता जोगाइदिनु प¥यो, शरण चाहियो, नत्र अहिलेसम्म नभएको भयंकर विद्रोह गरिदिन्छौं ।’ भुक्ने केजातिले टोक्दैन भन्ने कुरा उखानका महारथीले नबुझ्ने कुरै थिएन । यो बाँकी रहेको झ्याउलो लामो समय रहन सक्दैन भन्ने थाहा पाउदापाउँदै पनि शरण दिन ओली तयार भए । मंगलबार पहिलेको पद फिर्ता गर्ने तर विगतका सबै असहमतिहरु अब भजनमा रुपान्तरण गर्ने मन्जुरीनामामा ल्याप्चे ठोक्दै त्वं शरणं गरेपछि एमालेभित्रका कमरेडहरुको ल्याङ्ल्याङ र झ्याउलो सकिएको छ ।

हुन त एमालेको झ्याउलो सकिनु र नसकिनुले आज मुलुकलाई खास फरक पर्दैन । हिजो मुलुकको नेतृत्व गर्दा सत्ता र शक्तिको चरम दुरुपयोग गरेका कारण एमाले र त्यसको नेतृत्वप्रति जनमानसमा सकारात्मक दृष्टिकोण छैन र उसले आफ्नै पार्टीका नेताहरुमाथि जसरी अपमान र मानमर्दन ग¥यो त्यसले पछिल्लो पुस्ता एमालेप्रति आकर्षित पनि छैन । शक्तिको दुरुपयोग गर्ने, अराजनीतिक र स्वार्थीहरुको भीड एमालेमा बचेको छ ।

एमालेमा पछिल्लो समय विकसित भई तेश्रोधार ओलीपथमा बिलिन भएपछि भने माधवकुमार नेपालको नयाँ पार्टी एउटा ठूलो झ्याउलो व्यहोर्नुपर्ने बाध्यताबाट जोगिएको छ । नेकपा (एकीकृत समाजवादी) पार्टीका लागि यो सुखद् विषय हो । किनभने धुरन्धर दार्शनिक घनश्याम भुषाल, अद्वितीय राष्ट्रवादी भीम रावल, युवाहरुको आकर्षणका केन्द्र योगेश भट्टराई जस्ता मध्यपन्थीहरुले फेरिपनि माधव नेपालहरुबाट लामो समय लाभ लिइरहने अवस्था थियो र त्यहाँ नयाँ नेताहरुको प्रवेश र विकास अवरुद्ध हुन्थ्यो । उसै त नयाँ पार्टी त्यसमा पनि पुराना बुढो पुस्ताकै हालिमुहाली हुने भएपछि युवा पुस्ता टाढिन्थ्यो । मध्यपन्थी समूहका ५७ भैया टोली ओलीसँग गएपछि अबसरको झिनाझप्टी ओलीले ब्यहोर्नुपर्छ । नेपालहरुका लागि त्यो झ्याउलो टरेको छ । अझ भनौं एमालेको ल्याङ्ल्याङ जसरी व्यवस्थापन भयो त्यसबाट युवा पुस्ता भने उत्साहित हुनुपर्छ । स्वार्थ, अबसरवाद र अराजकहरु एक ठाउँमा हुँदा त्यो समूहले गरिखाने सम्भावना न्यून हुन्छ । त्यसको फाइदा तुलनात्मकरुपमा इमान्दार नेपाल समूहले लिन सक्छ । त्यस समूहमा युवाहरुका लागि अबसर छ । नेतृत्वदेखि राज्यका निकायहरुमा समेत जिम्मेवारी लिएर क्षमता देखाउने अवसरको सहि सदुपयोग गरेभने सबै पार्टीका आम युवाहरुका लागि यो एउटा सकारात्मक सन्देश पनि हुनेछ ।

बुधबार, ०९ भदौ, २०७८

प्रतिक्रिया:

सम्बन्धित खवर