असुरक्षाको भयले सताएको वैदेशिक रोजगारी

 सम्पादकीय

विदेशबाट त्रिभुवन विमानस्थलमा नेपाली युवाको शवले भरिएको बाकस आउने क्रम जारी छ । सबैभन्दा धेरै पीडित वैदेशिक रोजगारीका क्रममा विभिन्न मुलुक पुगेका नेपाली महिला अनेक खाले हिंसाको शिकार बन्दै आएका छन । बलात्कारदेखि अन्य शारीरिक तथा मानसिक हिंसा सहेर धेरै महिला कामदारको जीवन बिथोलिएको छ । केही दिनअघि मात्रै सार्वजनिक एक घटना त्यसकै उदाहरण हो । झापाकी एक महिला कुवेतमा बलात्कारको शिकार मात्रै बनेकी छैनन, विदेशी बाबुको सन्तानको आमा पनि बनेकी छन । तर, बच्चाको भरणपोषणदेखि भविष्यसम्मको चिन्ताले उनलाई सताएको छ । बच्चाको कसरी जन्मदर्ता गर्ने, उनलाई कसरी शिक्षादिक्षा दिलाउने भन्ने चिन्ताले सधैं सताइएकी छन् उनी ।

विदेशमा मालिकको छोराबाट पटक पटक बलात्कारको शिकार बनेकी महिला यसै पनि विराट पीडाको दहमा हुन्छिन् । त्यसमाथी बलात्कार पीडितप्रति नेपाली समाजमा हुने व्यवहारले झनै नुनचुक थप्छ । डेढ वर्षे छोरी हुर्काइरहेकी ती बलात्कार पीडित महिलाको अवस्था कस्तो होला ? अनुमान मात्रैले पनि जो कसैको मथिङगल हल्लाइदिन्छ । उनको पीडामा कसरी मलम लगाउने, उनले सहेको सास्ती घटाउन समाजले कसरी सघाउने ? यस्ता विषयमा समाजको अगुवा पंक्ति , स्थानीय तह र जनप्रतिनिधि, राजनीतिक दलको नेतृत्व सबैले गम्भीर बन्नुपर्छ ।

स्वदेशमा रोजगारीको राम्रो प्रबन्ध हुन नसक्दा धेरै नेपाली युवाले विदेशमा भविष्य निर्माणको बाटो खोज्ने गरेका छन । अझ धेरै महिला त घरेलु हिंसाबाट जोगिनकै लागि विदेशिन बाध्य हुँदै आएका छन । कुवेतमा बलात्कारको सिकार बनेकी यी महिला पनि घरको अवस्थाबाट दिक्क भएर विदेश गएकी थिइन् । दुई सन्तानकी आमा उनी त्यहाँ झनै ठुलो हिंसाको भुङ्रोमा परिन । अहिले स्वदेश आएर जसोतसो जीवन चलाइरहेकी उनलाई कसरी पुनःस्थापित गर्ने ? उनी पीडित हुन अपराधी होइनन् भन्ने गरि समाजमा कसरी भन्ने ? उनले समाजबाट यहि सहयोग खोजेकी छन । समाजले यसबारे गम्भीर बन्न जरुरी छ । सबैभन्दा धेरै चासो महिला अधिकारका क्षेत्रमा कार्यरत समूहहरुले लिनुपर्छ । जसका लागि काम गर्ने प्रतिबद्धता जाहेर गरेर उनीहरु स्थापित भएका छन, उनीहरुले यस्ता पीडितको पक्षबाट पैरवी गरिदिनु पर्छ । विदेशमा गम्भीर अपराधको फन्दामा परेका नागरिकलाई न्याय दिलाउन र गरिखाने बाटो देखाइदिन राज्यले पनि उदार र सम्वेदनशिल हुनुपर्छ ।

मङ्गलबार, ०८ भदौ, २०७८

प्रतिक्रिया:

सम्बन्धित खवर