भरत गुरागाईं बर्बरीक
म आएको छु । शब्दमार्फत तपाईंसँग सम्वाद गर्न आएको छु । हाम्रोमत पत्रिका सर्ट कमेन्ट स्तम्भबाट साताको एक पटक आफ्ना भोगाइ, अनुभव, विचार र दृष्टिकोणहरु प्रवाह गर्नेछु । खासमा यो स्तम्भको बाटो हुँदै तपाईं र हाम्रो समाजका महत्वपूर्ण पक्षहरुलाई जिम्मेवारीका साथ सम्बोधन गर्नेछु । तपाईँको प्रेरणाले मेरो लेखनयात्रालाई ऊर्जा दिनसक्ने कुरा सम्झिरहेको छु । सँगसँगै सिंगो हाम्रोमत पत्रिका परिवारप्रति आभार व्यक्त गर्दछु ।
म नाटक क्षेत्रको मान्छे । आजभन्दा ८–९ वर्ष अगाडि एउटा नाटकको १५ दिने अभ्यासमा थियौँ । नाटक तयार गर्नु भनेको सामूहिक कार्य हो, जो निकै गाह्रो हुन्छ । आर्थिक व्यवस्थापनका हिसाबले त झनै कठिन हुन्छ । बनिबनाउ मञ्चमा माइक अघिल्तिर उभिएर भाषण गरेजस्तो सजिलो कहाँ हुन्छ र नाटक गर्न ? हवाइजहाज उडान गर्ने चालक र चालक दल जत्तिकै सतप्रतिशत विश्वस्त भएर मात्र नाटकको मञ्चमा उभिनुपर्ने हुन्छ ।
अँ, म भन्दैथिएँ, हामी नाटकको अभ्यासमा थियौँ । नाटकको पूर्णता र सफलताका लागि आर्थिक व्यवस्थापन त गर्नुपर्छ । मैले मसँग राम्रो सम्बन्ध भएको एकजना धनवान् मित्रलाई हाम्रो नाटक अभ्यास हेरिदिन आउनु न हौ भनें । नभन्दै उहाँ आउँछु भनेको समयभन्दा तीन घण्टा ढिलो भएपनि आउनुभयो । उहाँ ढिलो नै आएपनि म दुःखी भइँन, आउन त आउनुभयो । निकै खुशी लाग्यो । सँगै बसियो । अभ्यास निरन्तर छ । डेढ घण्टासम्म बस्नुभयो, मेरा मित्र । हामीले दुईपटक चिया खायौं । डेढ घन्टापछि उहाँ बिदा हुन चाहनुभयो । मैले आफ्ना आशावादी आँखा उहाँको आँखामा बिछ्याएँ । हिँड्दा हिँड्दै उहाँले मलाई सोध्नुभयो– ‘नाटक गर्दा के हुन्छ ?’
अभ्यासस्थलमा नै मेरा सपनाहरु पोखिए । म आफूलाई सम्हाल्नै नसक्ने गरी छताछुल्ल भएँ ।
महत्वपूर्ण सहयोग गर्लान् भनेर बोलाइएका मेरा मित्र रजनीगन्धा मुक्याउँदै प्राडो चढेर बेपत्ता भैसकेका थिए । म त्यो दिन साह्रै छट्पटाएँ । राति पनि उनका शब्दहरु गुन्जिरहे, ‘नाटक गर्दा के हुन्छ ?’ हामीले त्यो नाटकका सन्दर्भमा कसैका सामु सहयोग माग्ने इच्छा त्यागिदियौं ।
अभ्यासकार्य पूरा भएपछि ४० वटा स्कूलका विद्यार्थीहरुलाई स्कूल–स्कूलमा गएर नाटक देखायौं । विद्यार्थीहरुले टिफिन खान ल्याएको एक–दुई रुपैयाँ हामीलाई दिएको कुरा अहिले सम्झिरहेछु । आज मेरो मनमा त्यही प्रश्न जागृत भएर आएको छ कि, ‘नाटक गर्दा के हुन्छ ?’
यो सांस्कृतिक कुरालाई राजनीतिसँग जोडौँ है त ! धेरै त भएको छैन, ४० वर्ष चाहिँ भएछ, म नाटक–नाटक भन्दै कुदेको । पञ्चायत फाल्न गाउँ–गाउँमा खुब नाटक गरियो । रुपान्तरण र अग्रगमनको नाममा कति गरियो, गरियो । ज्ञानेन्द्र फाल्न भनेर पनि नाटक नै गरियो ।
पञ्चायतदेखि बहुदल, बहुदलदेखि लोकतन्त, लोकतन्त्रदेखि गणतन्त्रसम्म नाटकै नाटक । आज विष्मित छु, म । यो लामो अन्तरालमा राज्यले संस्कृतिलाई माया गरेको कहिल्यै पाइनँ । बरु सांस्कृतिक योद्धाहरुलाई छानीछानी पाखा लगाउन र अभियान कमजोर बनाउन नेता र मन्त्रीहरु ढुक्कै लागेको पाइयो । भोलि बिहान उठ्दा नेपाली नै रहिन्छ कि अरु देशको भइन्छ केही भन्न नसक्ने अवस्थामा पुग्यौं, हामी । यसमा सत्तासीनहरुको केही दोष छैन, उनीहरुलाई शक्तिमा पुर्याउने हामी सबैभन्दा नालायक हौँ ।
सांस्कृतिक रुपान्तरणको अभियान छोडिएको छैन र कसैको अभिष्ट पूरा गरिदिन यो क्षेत्र छोडिने पनि छैन । यात्रा निरन्तर रहनेछ । तर, ती धनवानको एक दशक अघिको प्रश्न हिजोआज बारम्बार सल्बलाइरहन्छ । म त्यही प्रश्न तपाईंलाई सोध्ने हिम्मत गर्छु, ‘नाटक गर्दा के हुन्छ ?’