विराटनगर । प्रदेश विपद् व्यवस्थापन समितिले विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरस रोकथाम, प्रतिरक्षा र उपचार सम्बन्धी कार्ययोजनालाई कार्यान्वयन गर्न निर्देशन दिएको छ ।
प्रदेश सरकार मन्त्रिपरिषद्बाट पारित कार्ययोजना जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीय विपद् व्यवस्थापन लगायत संघसंस्थाहरुलाई कार्यान्वयनका लागि बैठकले निर्देशन दिने निर्णय गरेको हो ।
मुख्यमन्त्री शेरधन राईको अध्यक्षतमा बुधबार बसेको बैठकले आगामी दिनमा आउनसक्ने विपद्लाई मध्यनजर गरेर गर्नुपर्ने अल्पकालिन, मध्यकालिन र दीर्घकालिन कार्ययोजना तयार पार्न सुझाव कार्यदल गठन गर्ने निर्णय गरेको छ । बैठकले नेपाली सेनाका पूर्वजर्नेल हरिबहादुर बस्नेतको संयोजकत्वमा ११ सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको हो ।
समितिमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रतिनिधि, आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रतिनिधि, चिकित्सक प्रतिनिधि, सामाजिक विकास मन्त्रालयका प्राविधिक प्रतिनिधि, भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रतिनिधि, नेपाली सेना पूर्वी पृतना हेड क्वाटर, इटहरीका प्रतिनिधि, प्रदेश प्रहरी कार्यालयका प्रतिनिधि, सशस्त्र प्रहरी बल बराहबाहिनीकाा प्रतिनिधि सदस्य रहने छन् । यसैगरी राष्ट्रिय अनुसन्धान प्रदेश कार्यालय धरानका प्रतिनिधि, प्रदेश विपद् व्यवस्थापन परिषद्का रामेश्वर मेहता र प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिका राम कुमार दाहाल कार्यदलको सदस्य रहने व्यवस्था गरेको छ ।
बैठकले आगामी दिनमा आउन सक्ने बाढी पहिरोजन्य विपद्लाई मध्यनजर गरी तारजाली, बोरा लगायतका सामग्री व्यवस्थापन गर्न आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई जिम्मेवारी दिने निर्णय पनि गरेको छ ।