उर्लाबारी । मोरङको बेलबारी–३ का ४० वर्षीय मनोज सुवेदी १५ वर्षसम्म लागुऔषधको दुब्र्यसनमा फस्नुभयो । विभिन्न लागुऔषध प्रयोगको क्रममा उहाँका शरीरमा नसा हराउँदै गएका थिए । त्यसपछि शरीरमा नसा निकाल्न उहाँ बेलबारीकै जिमखाना धाउन थाल्नुभयो ।
स्वास्थ्य समस्या भएपछि सुवेदीले लागुऔषधको प्रयोग छाडेर नसा निकाल्न वाइट डाइमन र बेलबारी यूरो फिन्टनेस जान थाल्नुभएको हो । २०६९ सालमा फिन्टनेसको लागि जीम धाउन थाल्नुभएका उहाँ यतिबेला कुशल खेलाडीको रुपमा परिचित हुनुहन्छ ।
अहिले फिनेक्स फिटशाला उर्लाबारीमा प्रशिक्षक प्रकाश राईबाट प्रशिक्षण लिँदै आउनुभएका उहाँ भर्खरै धरानमा सम्पन्न तेस्रो नेपाल राष्ट्रब्यापी शारीरिक सुगठन प्रतियोगितामा पहिलो पटक सहभागी हुँदै ६५ केजीमा प्रथम हुनुभयो । ओभरलतर्फ चौथो हुँदै उहाँले नगद ४० हजारसहित ट्रफी हात पार्नुभयो । आफूले कल्पना नै नगरेको सफलता हात पारेपछि उहाँ उत्साहित बन्नुभएको छ ।
आगामी दिनमा बडिबिल्डङ क्षेत्रमा थप मेहेनत गर्न हौसल्ला मिलेको सुवेदीले बताउनुभयो । उहाँले प्रशिक्षक प्रकाश राईकै कारण आफू उक्त स्थानमा पुगेको बताउनुभयो । लागुऔषधकै कारण पत्नीले समेत छाडेपछि उहाँले लागुऔषध पूर्ण रुपमा १३ वर्ष अगाडि छाड्नुभएको हो ।
अहिले बेलबारी क्षेत्रमा सामाजिक व्यक्तिको रुपमा सुवेदीले आफ्नो छबी बनाउनुभएको छ । यतिमात्र होइन लागुऔषधमा फसेकाहरुलाई सुधार गर्न उपचार केन्द्र नै सञ्चालन गर्नुभएको छ । लागुऔषधमा फसेर आफूले ठूलो गल्ती गरेको उहाँलाई यतिबेला महशुस भने भएको छ ।
लागुऔषधमा फसेर जीवन वर्वाद गर्न सुधार गृहहरुमा पनि फिटनेसका लागि जीम आवश्यक रहेको सुवेदीको भनाइ छ । जिम गर्दा लागुऔषधमा कम ध्यान जाने अनुभव हुने गरेको उहाँले बताउनुभयो ।
आफूले शरीरमा नसाका लागि जिम गरेपनि राष्ट्रिय स्तरका प्रतियोगितामा उपाधि हात पारेपछि यसै क्षेत्रमा केही गर्नुपर्छ भन्ने भावना पैदा भएको सुवेदीले बताउनुभयो । उहाँले शरीरका लागि फिटनेस अतिआवश्यक रहेको बताउँदै राम्रो प्रशिक्षकबाट जीम सिकेको खण्डमा केही गर्न सकिने बताउहुन्छ ।