विराटनगर । नेपाल औषधि व्यवसायी संघ मोरङले बुधवार कोरोना भाइरस(कोभिड १९) को संक्रमण सम्बन्धी सचेतनामुलक कार्यक्रम तथा त्यसबाट बच्ने सामाग्री वितरण गरेको छ ।
संघले विराटनगरको ट्राफिक चौकमा सर्वसाधारणलाई भाइरसबाट जोगिन मास्क लगाउने गर्नुपर्छ भन्ने सचेतना जगाउँदै एक हजार थान मास्क वितरण गरेको हो ।
संघले भाइरसको संक्रमण सबैभन्दा बढी हातमा हुने भन्दै सर्वसाधारणलाई हातलाई भाइरसबाट मुक्त राख्न सेनिटाइजर लगाउनुपर्ने सूचनासहति सेनिटाइजर लगाइदिएको थियो । सो अवसरमा कोरोना भाइरसबाट जोगिन अपनाउनुपर्ने तरिका र संक्रमण भएमा जोगिने उपायबारे पर्चासमेत वितरण गरिएको थियो ।
सो अवसरमा संघका अध्यक्ष लक्ष्मी तिम्सिना, उपाध्यक्ष देशबन्धु ढकाल, महासचिव दीनेश ठाकुर, सचिव हरि रेग्मी, कोषाध्यक्ष विजयकुमार राजवंशी , जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी निरिक्षक राकेश पोद्धारलगायतले सर्वसाधारणलाई मास्क वितरण गर्नुभएको थियो । कोरोना भाइरस सम्बन्धी सचेतना तथा सामाग्री वितरण कार्यक्रममा सहभागी कोशी अस्पताल विराटनगरका फिजिसियन डा.लक्ष्मीनारायण यादवले कोरोना भाइरसको संक्रमणबाट कसरी आफु , परिवार र समाजलाई जोगाउने भन्ने विषयमा जानकारी गराउनुभयो ।
संघले पुनः यस किसिमको चेतनामुलक तथा माक्स वितरण तथा सेनिटाइजर लगाउने कार्यक्रम गर्ने उपाध्यक्ष देशबन्धु ढकालले जानकारी दिनुभएको छ ।