उर्लाबारी । मोरङको उर्लाबारीमा विरामीका लागि औषधि उपलब्ध गराउने औषधि पसलबाट नै लागुऔषध बिक्री वितरण हुने गरेको पाइएको छ ।
केही मेडिकल हलहरुले मेडिकलहरुमा चिकित्सकको प्रेस्किप्सनको आधारमा मात्र बिक्री गर्नमिल्ने लागुऔषध मानिएका औषधि दुव्र्यसनमा लाग्नेहरुलाई खुलेआम बिक्री गर्ने गरेका छन् ।
लागूऔषधका दुव्र्यसनीहरुलाई मेडिकलहरुले महंगो रकम लिएर यस्ता औषधि बिक्री गर्ने गरेका छन् । विभिन्न रोगको उपचारमा प्रयोग हुने क्ल्योरफेनिरामिन डाइजापाम, लोहोराजेपाम, नाइट्रोसन, टिडिजेसिक, ओपिडोल, स्पास्पेन, एप्काडोलजस्ता औषधि र सिरिन्ज लागूऔषधको रूपमा प्रयोग गर्नेहरु धेरै छन् । केही मेडिकलले बढी रकम दिए मोटरसाकइलमार्फत ल्याइदिने गरेको एक युवाले नाम नबताउने सर्तमा बताउनुभयो ।
लागुऔषधको रुपमा प्रयोग हुने औषधि पु¥याउन जाने क्रममा मेडिकल सञ्चालक लुटिएका घटना पनि छन् । तर, त्यो घटना बाहिर आएको छैन । लामो समयसम्म निद्रा लगाउने, लट्ठ बनाउने औषधिलाई दुव्र्यसनीहरुले लागुऔषधका रूपमा प्रयोग गर्ने गरेका छन् । चिकित्सकको प्रेस्किप्सनबिना लागु औषध प्रयोगकर्ताहरुलाई औषधि बेच्न उर्लाबारीका मेडिकलका सञ्चालकलाई सचेत गराइएको राष्ट्रिय युवा संघ उर्लाबारीका सह–संयोजक योगेश बस्नेतले जानकारी दिनुभयो ।
हिरोइन, कोकिन जस्ता महंगा लागूऔषध पहुँच बाहिर भएपछि मेडिकलहरुमा सहजै उपलब्ध हुने औषधिहरुको कम्पोजिन मिलाएर युवाहरुले लागुऔषधको रुपमा प्रयोग गर्ने गरेको बताइएको छ । त्यसैले यसको नियन्त्रणका लागि मेडिकलहरुले बिक्री वितरण गर्ने औषधिमा कडा निगरानी र अनुगमन गर्न आवश्यक उर्लाबारी ७ का सदस्य निरोज तिम्सिनाको भनाइ छ ।
प्रहरीले चिकित्सकको प्रेस्किप्सनबिना लागु औषध प्रयोगकर्ताहरुलाई औषधि बेच्नेलाई कानून बमोजिम कार्वाही गर्ने जनाएको छ ।