विराटनगर । विराटनगरमा एक अर्ब रुपैयाँ लगानीमा औषधिको नयाँ उद्योग सञ्चालनमा आएको छ । औषधिजन्य व्यापारमा संलग्न मन्टु घिमिरे, कमलेश घिमिरेसहित १३ जनाको साझेदारीमा निप्पोन फर्मास्युटिकल्स उद्योग सञ्चालनमा आएको हो ।
विराटनगरमा मनीष अग्रवालको एमटेक फर्मा र सुवर्णभक्त जोशीको एलाइभ फर्मा गरी दुई औषधि उद्योग यसअघि सञ्चालनमा छन् । निप्पोन थपिएपछि अब सञ्चालनमा रहेका औषधि उद्योगको संख्या तीन पुगेको छ ।
विराटनगरमा रहेका तीन वटा औषधि उद्योग भने यसअघि बन्द भइसकेका छन् । बन्द हुनेमा किशोर प्रधानको विराट फर्मास्युटिकल्स, ओमकार चापागाईंको दिङ्ला फर्मा र अरुण गुप्ताको मिलन फर्मास्युटिकल्स छन् । निप्पोनले १० कट्ठा जमिनमा तीन वर्ष लगाएर पूर्वाधार तयार पारेपछि यसै सातादेखि व्यवसायिक उत्पादन सुरु गरेको हो ।
सञ्चालक मन्टु घिमिरेका अनुसार उद्योगले अहिले पारासिटामोल ग्रुपको ५ सय एमजीको गोली, सिरप र सस्पेन्सन गरी ३ वटा प्रकारको, एजिथ्रोमाइसिन ग्रुपको एन्टिबायोटिक्सको २५० र ५०० एमजी गरी २ वटा प्रकारको र घाउखटिरामा प्रयोग गरिने म्युपिरोसिन मलहमको एक प्रकारको गरी ३ ग्रुपका ६ प्रकारका औषधि उत्पादन गरिरहेको छ । उद्योगको पहिलो भवनमा एन्टिबायोटिक्स र पेन्सिलिन औषधिको उत्पादन गर्ने, दोस्रोमा ट्याब्लेट, क्याप्सुल, झोल ओखती, मलहम आदिको उत्पादन गर्ने तथा तेस्रो भवनमा रिसर्चको काम गर्ने उद्योगले जनाएको छ ।
औषधि व्यवस्था विभागले उद्योगलाई ९६ प्रकारका औषधि उत्पादन गर्ने अनुज्ञापत्र दिएको छ । एक वर्षभित्र विभिन्न ग्रुपका एक सय प्रकारका ओखती बजारमा ल्याउने घिमिरेले बताए । जीवनजलजस्तै ओरल डिहाइड्रेसन (ओआरएस) पनि उत्पादन गर्ने उनको भनाइ छ ।
उद्योगले औषधि उत्पादनका लागि उद्योगले भारत, चीन, जापान र स्वीटजरल्यान्डबाट अत्याधुनिक मेसिन ल्याएको जनाएको छ । उद्योगको आफ्नै अत्याधुनिक रिसर्च युनिट छ । उद्योगमा तत्काल ५२ जनाले रोजगारी पाएका छन् भने साउनदेखि एक सयले रोजगारी पाउनेछन् ।
Grt work Hope for the chances of working in it as a growing developed industry young pharmacist Amit kumar